
पृष्ठभूमि:
माण्डवी गाउँपालिका नेपालको पुरानो प्रशासनिक विभाजन अनुसार प्यूठान जिल्लामा र हाल लुम्बिनि प्रदेशमा पर्दछ । माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । ११३.०८ वर्ग.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका पश्चिमतर्फ दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् ।
नेपाल सरकारको निर्णय अनुसार मिति २०७३/११/२२ गते साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँगाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटेर माण्डवी गाउँपालिका घोषणा गरीएको थियो । शैक्षिक हिसावमा यस गाउँपालिकामा सामुदायिक र संस्थागत गरी ३ वटा मा.वि, ५ वटा नि.मा.वि र १७ वटा प्रा.वि गरी जम्मा २७ वटा शिक्षण संस्थाहरु संचालित छन् ।
जसमा २ प्रा.वि मात्र संस्थागत रहेका छन् । प्यूठान जिल्लामा नयाँ गठन भएका गाउँपालिकाहरु मध्ये विकासका सम्भावना बोकेको गाउँपालिका रहेको छ । साथै सचेत राजनैतिक दल र उत्प्रेरीत गाउँपालिकावासी समेत यो गाउँपालिकाका दीगो विकासको विकासका श्रोतका रुपमा रहेका छन् । यस गाउँपालिकामा विभिन्न जातजाती तथा धर्म मान्ने व्यक्तिहरुको बसोबास रहेको छ ।
राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्क अनुसार सबैभन्दा बढी मगर जाति ६,०७२ जना (४०.३२ प्रतिशत), दोस्रोमा क्षेत्री ४,४८५ जना (२९.७८ प्रतिशत) र तेस्रोमा कामी १,७३२ (११.५० प्रतिशत) हरुको बसोबास रहेको छ । यस गाउँपालिकामा ५ वडाहरु रहेका छन् । गाउँपालिकाको सहरी क्षेत्रको रुपमा विकसित भएका क्षेत्रहरुमा ब्यापार, उद्योग, कलकारखाना, प्राकृतिक श्रोत तथा सामाजिक महत्वका क्षेत्रहरु रहेका छन् ।
औषत पारिवारिक आम्दानीमा कृषि व्यवसायको सबैभन्दा ठूलो हिस्सा रहेको छ र स्थानीय बासिन्दाको आम्दानीको अर्को मुख्य श्रोतको रुपमा वैदेशिक रोजगारी पनि एक हो । परम्परागत प्रणालीको कृषि ब्यवसायको विकल्प खोजिरहेका यहाँका बासिन्दा आधुनिक जीवनशैलीमा रमाउन थालेका छन् । स्थानीय जनशक्ति मजदुरी तथा अध्ययनका लागि विदेशिने बढिरहेको छ । यस गाउँपालिकामा आधारभूतदेखि उच्च शिक्षासम्म प्रदान गर्ने शैक्षिक संस्था रहेका छन् ।
प्राविधिक शिक्षा र माथिल्लो तह अध्ययनका लागि यस गाउँपालिकाका स्थानीय विद्यार्थीहरु अन्य छिमेकी नगरपालिका/उपमहानगरपालिका तथा जिल्लामा जाने गरेका छन् । अधिकांश घरमा विद्युतीकरण भएको भएतापनि केही सिमान्तकृत वर्गमा रहेका नागारिक भने विद्युतीय उपभोगको पहुँचमा पुग्न सकिरहेका छैनन् । योजनाबद्ध विकास कार्यक्रम कार्यान्वयन तथा आवश्यक आर्थिक व्यवस्थापनमा कठिनाई हुनुले यस गाउँपालिका क्षेत्रको अपेक्षित विकास हुन सकिरहेको देखिँदैन । विभिन्न समुदाय, जातजातीका मानिसको बसोबास रहेको यस क्षेत्रमा विभिन्न चाडपर्व मनाउने गरिन्छ । दशैँ, तिहार, माघी, होली, कृष्णजन्माष्टमी, बकरइद, आईतबारी, बुद्धजयन्ती, क्रिष्मस आदि यहाँका प्रमुख चाडपर्वको रुपमा रहेको पाईन्छ ।
भौगोलिक स्थिति:
माण्डवी गाउँपालिका भौगोलिक हिसाबले ८२0४१’३०” देखि ८२0५०’३०” र पूर्व देशान्तरसम्म २७0५९’३०” देखि २८0६’३०” उत्तरी अक्षांश सम्म अवस्थित छ । यो गाउँपालिका समुद्री सतहबाट ४९२ मिटर उँचार्ईदेखि १८८२ मिटर सम्मको उँचाईमा अवस्थित छ ।
प्यूठान जिल्लामा अवस्थित ११३.०८ व.कि.मी. क्षेत्रफल रहेको यस माण्डवी गाउँपालिकाको उत्तरमा स्वर्गद्धारी र प्यूठान नगरपालिका, पश्चिमतिर दाङ जिल्ला, दक्षिणमा सरुमारानी गाउँपालिका र पूर्वमा ऐरावती र मल्लरानी गाउँपालिका रहेका छन् ।
पहाडी क्षेत्रमा पर्ने गाउँपालिकाको खेतियोग्य उर्वर जमिनले ओगटेको भए पनि पछिल्ला वर्षहरुमा बस्ती विकासको प्रभावले जग्गा टुक्रिने क्रम बढेको छ । जंगल र जलाधार क्षेत्रको कमि नभएको यस गाउँपालिकाको परिसरमा सानाठूला गरी धेरै खोला तथा नदीहरु रहेका छन् ।
राजनैतिक तथा प्रशासनिक केन्द्र
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले तयार गरेको नमुना वमोजिम गठित गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगले मिति २०७३ पुस २२ मा पेश गरेको प्रतिवेदन अनुसार माननीय संघीय मामिला तथा स्थानीय विकास मन्त्री संयोजकत्वमा गठित समितिले मिति २०७३÷११÷२० मा पेश गरेको प्रतिवेदनको आधारमा नेपाल सरकारले मिति २०७३/११/२२ मा देहाय बमोजिम साविकका गाविसहरु तिराम (१–४), मर्कावाङ, नयाँ गाउँ, रम्दी र उदयपुरकोट गाविसहरु समेटर ५ वटा वडाहरु कायम गरिएको हो । हाल माण्डवी गाउँपलिकाको संरचना यस प्रकार रहेको छ ।
माण्डवी गाउँपालिकाको वडा विभाजन
वडा नं. समावेश भएका सविक गा.वि.स.. सविकको वडा नं.
१ तिराम १—४
२ मर्कावाङ १—९
३ नयाँगाउँ १ — ९
४ उदयपुरकोट १ — ९
५ रम्दी १ — ९