बहुक्षेत्रीय पोषण योजना अन्तर्गत नौबहिनी गाउँपालिकाले वडा नं. ४ को नववन-रुझिम स्थित दलित बस्तीलाई पोषणमैत्री नमुना गाउँ बनाउने उद्देश्यका साथ पोषण सुधारका लागि छलफल तथा सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिकाले अत्यन्तै विकट मानिने उक्त बस्तीलाई पोषणमैत्री नमुना गाउँका रूपमा विकास गर्ने योजना अनुसार कार्यक्रम सञ्चालन गरेको हो । कार्यक्रममा स्थानीयको आयआर्जन, खाद्य तथा पोषण सुरक्षामा टेवा पुग्ने उद्देश्यले विभिन्न कृषि तथा पशुपालन सामग्री हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा २ वटा उन्नत जातका शतप्रतिशत बोयर बोका, २०० लिटर क्षमताको सिँचाइ ट्याङ्की, १६ लिटर क्षमताका २२ वटा स्प्रेयर फिल्टर, ५ लिटर क्षमताका २२ वटा हाते सिँचाइ हजारी, १ हजार ५ सय मिटर पाइप, १ हजार किम्बुको बिरुवा, ८ सय नेपियर घाँसका बिरुवा, ५० वटा राईखन्युका बिरुवा, ३० वटा कागतीका बिरुवा तथा २२ वटा तरकारी मिनीकिट हस्तान्तरण गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रम अन्तर्गत नववन-रुझिम पोषणमैत्री नमुना गाउँ समिति गठन गरिएको छ । साथै शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, भेटेरिनरी, महिला तथा बालबालिका र सुशासन गरी सातवटै क्षेत्रको समन्वयात्मक व्यवस्थापन मार्फत पोषणमैत्री गाउँ निर्माण गर्ने लक्ष्य लिइएको छ ।

यस अभियानलाई प्रभावकारी बनाउन वडा नं. ४ का अध्यक्ष भिमबहादुर घर्ती मगरको नेतृत्वमा सम्बन्धित सबै क्षेत्रका प्रतिनिधि समावेश गरी अनुगमन समिति समेत गठन गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष दिलबहादुर थापाले पोषणमैत्री नमुना गाउँ अभियानको उद्देश्यबारे स्पष्ट पार्दै स्थानीयको सक्रिय सहभागिता आवश्यक रहेको बताउनुभयो । उहाँले कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि गाउँपालिकाबाट आवश्यक थप सहयोग र व्यवस्थापन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अनुसार बहुक्षेत्रीय पोषण कार्यक्रममार्फत पोषण, स्वास्थ्य, सरसफाइ, कृषि उत्पादन तथा जीविकोपार्जनमा सुधार ल्याई नववन-रुझिम बस्तीलाई अन्य स्थानीय तहका लागि समेत उदाहरणीय पोषणमैत्री नमुना गाउँका रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।







