ट्रेन्डीङ्ग

प्यूठानको गौमुखी गाउँपालिकामा १५ शैयाको गौमुखी आधारभूत अस्पताल सञ्चालनमा आएको छ । १९ करोड ३ लाख ४५ हजार ५ सय ५२ रुपैयाँको लागतमा निर्माण भएको अस्पतालको शुक्रबार लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गर्नुभएको हो ।
अस्पताल उद्घाटनसँगै स्वास्थ्य सेवा समेत सुरु भएको छ । अस्पताल सञ्चालनमा आएपछि गौमुखी तथा आसपासका नागरिकले सामान्य स्वास्थ्य उपचार, स्वास्थ्य परीक्षण र आधारभूत उपचारका लागि टाढा जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

उद्घाटन कार्यक्रममा मुख्यमन्त्री आचार्यले दुर्गम तथा ग्रामीण क्षेत्रका नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउन प्रदेश सरकारले स्वास्थ्य पूर्वाधार र सेवा विस्तारलाई प्राथमिकता दिएको बताउनुभयो । उहाँले अस्पतालका लागि आवश्यक जनशक्ति, स्वास्थ्य उपकरण र औषधिको व्यवस्थापनमा प्रदेश सरकारले सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
“डाक्टरहरूलाई सहरमुखी होइन, गाउँमुखी बनाउन हामीले ध्यान दिएका छौँ । दुर्गम ठाउँलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौँ,” उहाँले भन्नुभयो ।

कार्यक्रमको अवसरमा मुख्यमन्त्री आचार्यसमक्ष गाउँपालिकाका तर्फबाट अस्पतालका लागि आवश्यक जनशक्ति र उपकरणको प्रबन्ध गर्नेलगायत चारवटा विभिन्न आयोजनालाई प्राथमिकतामा राखी बजेट व्यवस्था गर्न माग गरिएको थियो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री दीपेन्द्र पुन, प्रदेश सभा सदस्य तुलसिराम शर्मा, धनलक्ष्मी श्रेष्ठ, प्यूठानका प्रमुख जिल्ला अधिकारी शान्तराज प्रसाई, स्थानीय तहका प्रमुख, उपप्रमुख अन्य जनप्रतिनिधि, स्थानीयबासी लगायतको सहभागिता थियो । गाउँपालिकाले अस्पतालका लागि आवश्यक जनशक्ति तथा उपकरण व्यवस्थापनसहित विभिन्न आयोजनामा बजेट प्राथमिकता दिन मुख्यमन्त्रीसमक्ष मागसमेत गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय