नौबहिनी गाउँपालिका वडा नं. ५ डाम्रीलाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ । सुरक्षित मातृत्व प्रवर्द्धन तथा घरमा हुने सुत्केरीलाई न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित विशेष कार्यक्रमबीच वडालाई औपचारिक रूपमा घोषणा गरिएको हो ।

घोषणा कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख धरम बहादुर जि. सी. गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापा, उपाध्यक्ष विस्ना थापा, प्रमुख प्रशासकीय अधिकृत खड्ग वि. क, वडा अध्यक्ष तथा अन्य जनप्रतिनिधि, स्वास्थ्य कार्यालय प्युठानका प्रजनन स्वास्थ्य फोकल पर्सन एवं कोल्डचेन अधिकृत कोशलराज बैद्य अन्य स्वास्थ्यकर्मी, कर्मचारी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो ।

वक्ताहरूले कार्यक्रममा स्वास्थ्य क्षेत्रको उपलब्धिबारे जानकारी गराउँदै संस्थागत प्रसूतिलाई अझ प्रभावकारी बनाउन सबैको साझा जिम्मेवारी रहेकोमा जोड दिनुभएको थियो । साथै वडामा गर्भवती महिलाले स्वास्थ्य संस्थामै सुरक्षित प्रसूति गराउने संस्कार स्थापित हुनु स्थानीय सरकार, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्यको सकारात्मक परिणाम भएको वक्ताहरूको भनाइ थियो ।

कार्यक्रमका क्रममा उपस्थित प्रमुख अतिथिले प्रतिबद्धता पाटीमा हस्ताक्षर गर्दै सुरक्षित मातृत्व अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । कार्यक्रममा पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गर्न महत्त्वपूर्ण भुमिका खेलेको भन्दै नर्सिङ कर्मचारी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, आमा समुह, जनप्रतिनिधि लगायतलाई सम्मान गरिएको थियो ।

वडा घोषणासँगै आगामी दिनमा पनि गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, समयमै स्वास्थ्य संस्थामा प्रसूति तथा नवजात शिशु र आमाको स्वास्थ्य सुरक्षालाई प्राथमिकताका साथ अघि बढाइने जनाइएको छ । कार्यक्रममा सहभागीहरूले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा सुरक्षित मातृत्व अभियानलाई थप सुदृढ बनाउने महत्वपूर्ण कदम भएको उल्लेख गर्दै यस अभियानलाई अन्य वडामा समेत विस्तार गर्नुपर्ने आवश्यकता औँल्याएका छन् ।







