ट्रेन्डीङ्ग

नेपाली कांग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा प्यूठानमा पार्टीभित्रका दुई धारको संगठनात्मक सक्रियता बढाएका छन । महाधिवेशन प्रतिनिधि चयनका लागि भएको निर्वाचनबाट संस्थापन पक्षले विभिन्न समावेशी समूहअन्तर्गत ६ जना प्रतिनिधि निर्वाचित भएका छन् भने वडा, पालिका तथा क्षेत्रीय अधिवेशन सम्पन्न गर्ने क्रममा पार्टीका फरक धारले आ–आफ्ना प्रतिनिधि तथा संयोजक परिचालन गरेका छन् ।

संस्थापन पक्षले प्यूठानमा असोज १२ गते महाधिवेशन प्रतिनिधिका लागि उम्मेदवारी दर्ता भएको थियो । असोज १३ गते निर्वाचन सम्पन्न भई असोज १४ गते मतपरिणाम सार्वजनिक गरिएको हो । समावेशीतर्फ खस–आर्य, आदिवासी जनजाति र युवा कोटाबाट ६ जना निर्वाचित भएको नेपाली काङ्ग्रेस निकट स्रोतले जनाएको छ । खस–आर्यतर्फ धनेश्वर भण्डारी ५२० मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने सुवास केसीले ३६८ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि निर्वाचित हुनुभएको छ ।

त्यस्तै आदिवासी जनजातितर्फ सनत श्रेष्ठ ५१३ मतसहित निर्वाचित हुनुभएको छ भने चन्द्रबहादुर घर्ती मगरले ४९४ मत प्राप्त गरी उहाँसँगै महाधिवेशन प्रतिनिधि बन्नुभएको हो । युवा कोटातर्फ कल्याण विक्रम केसी ५९९ मतसहित निर्वाचित हुनुभएको छ भने कुमार आचार्यले ५४२ मत प्राप्त गर्दै महाधिवेशन प्रतिनिधि बन्नुभएको हो । यसरी प्यूठानबाट समावेशी कोटातर्फ खस–आर्यबाट धनेश्वर भण्डारी र सुवास केसी, आदिवासी जनजातिबाट चन्द्रबहादुर घर्ती मगर र सनत श्रेष्ठ तथा युवातर्फ कल्याण विक्रम केसी र कुमार आचार्य गरी ६ जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् । जिल्लाबाट खुलातर्फ समेत १० जना महाधिवेशन प्रतिनिधि निर्वाचित भएका छन् ।

 

महाधिवेशन प्रतिनिधि चयनसँगै प्यूठान कांग्रेसभित्र संगठन विस्तार र अधिवेशन व्यवस्थापनमा पनि दुई धारबीचको सक्रियता देखिएको छ । गगन थापा नेतृत्वको संस्थापन पक्षले वडा, पालिका तथा क्षेत्रीय अधिवेशनलाई अघि बढाइरहेका बेला संस्थापन इतर पक्षले पनि पालिका अधिवेशन सम्पन्न गर्न विभिन्न पालिकामा संयोजक तोकेको छ । दुबै पक्षले आफु निकट र मौन बसेका समर्थकहरुलाइ आ आफ्नो पक्षमा ल्याने अभ्यास गरिरहेका छन ।

संस्थापन इतरकाे छुट्टै भेला र कार्यालय स्थापना

यसैबिच संस्थापन इतर पक्षले बिहिवार बिजुवारमा आफ्नो कार्यालय स्थापना गरी अधिवेशनका लागि अगाडी बढेको छ । यो पक्षले प्यूठानका नौवटै स्थानीय तहका अधिवेशन सम्पन्न गर्न संयोजक तोकेको छ । झिमरुक गाउँपालिकामा प्रमोद पोख्रेल, प्यूठान नगरपालिकामा नेत्र केसी, स्वर्गद्वारी नगरपालिकामा कृष्णप्रसाद बस्याल, मल्लरानी गाउँपालिकामा कुमार श्रेष्ठ, ऐरावती गाउँपालिकामा एशन शाही, सरुमारानी गाउँपालिकामा पुष्प न्यौपाने, माण्डवी गाउँपालिकामा दिपक केसी, नौबहिनी गाउँपालिकामा देबिराम पुन र गौमुखी गाउँपालिकामा अर्जुन गिरीलाई संयोजकको जिम्मेवारी दिइएको बताइएको छ ।

यसअघि कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औँ महाधिवेशनअन्तर्गत वडा, गाउँ–नगरपालिका, प्रदेश सभा क्षेत्रीय, प्रतिनिधिसभा क्षेत्रीय तथा अन्य तहका अधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो । पछिल्लो कार्यतालिका अनुसार विभिन्न तहका अधिवेशन प्रक्रिया अघि बढिरहेको कांग्रेसले जनाएको छ ।

प्यूठानमा प्रदेश सभा क्षेत्रीय अधिवेशनसमेत सम्पन्न भइसकेको छ । क्षेत्र नं. १ को सभापतिमा नविल विक्रम शाह निर्वाचित हुनुभएको छ भने क्षेत्र नं. २ को सभापतिमा चन्द्रलाल न्यौपाने निर्विरोध चयन हुनुभएको छ ।

यससँगै प्यूठान कांग्रेसको १५औँ महाधिवेशन केन्द्रित गतिविधि वडा तहदेखि प्रतिनिधिसभा क्षेत्रीय तहसम्म पुगेको छ । जिल्लाबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरूले काठमाडौंमा हुने केन्द्रीय महाधिवेशनमा प्यूठानको प्रतिनिधित्व गर्नेछन् । कांग्रेसले असोज १८ गते दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा १५औँ महाधिवेशन उद्घाटन गर्ने मिति सार्वजनिक गरेको छ । जिल्ला अधिवेशनको मिति भने अझै तय गरेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय