प्युठान जिल्लाको गौमुखी गाउँपालिका–५ खुङमा अवस्थित ठुलाबेँसी आज केवल एउटा सामान्य गाउँबस्ती वा स्थानीय बजारको रूपमा मात्र सीमित छैन।दैनिक उपभोगका वस्तु, व्यापार, शिक्षा, स्वास्थ्य, औषधि, यातायात, वित्तीय कारोबार तथा सामाजिक सम्बन्धका दृष्टिले यो क्षेत्र गौमुखी गाउँपालिकाको महत्वपूर्ण केन्द्रका रूपमा विकसित हुँदै आएको छ। गाउँपालिकाका विभिन्न बस्तीबाट मानिसहरू आफ्नो दैनिक आवश्यकता पूरा गर्न, शिक्षा तथा स्वास्थ्य सेवा लिन, व्यापार गर्न र अन्य आवश्यक कामका लागि ठुलाबेँसी आउने गर्छन्।
तर आज देखिने ठुलाबेँसी एकैपटक बनेको बजार होइन। यसको पछाडि भूगोलसँग संघर्ष गर्दै बस्ती बसाउने मानिसहरूको श्रम, पुराना पैदल बाटा, नदीघाट, काठे पुल, गाउँ–गाउँबीचको व्यापारिक सम्बन्ध, बसाइँसराइ, विद्यालयको स्थापना, स्वास्थ्य सेवाको विस्तार, सडक, बिजुली, खानेपानी तथा बदलिँदो सामाजिक जीवनको लामो क्रम जोडिएको छ। त्यसैले ठुलाबेँसीको इतिहासलाई केवल बजार कहिले स्थापना भयो वा कहिले विस्तार भयो भन्ने प्रश्नमा सीमित गरेर बुझ्न सकिँदैन। यसको इतिहास अझ पछाडि पुग्छ, जहाँ भूगोल, पुराना बस्ती, सतिघाटसँग जोडिएको स्थानीय ऐतिहासिक स्मृति, मानिसहरूको आवतजावत, व्यापारिक बाटा, नदी तथा खोलाका घाट, काठे पुल र प्रारम्भिक परिवारहरूको बसोबाससम्म पुग्नुपर्छ।

यस लेखमा सरकारी अभिलेख, पुराना नापी तथा जग्गासम्बन्धी कागजात, तिरो रसिद, विद्यालयका अभिलेख, सडक तथा पुलसम्बन्धी विवरण, स्वास्थ्यसम्बन्धी तथ्य, पुराना तस्बिर तथा स्थानीय प्रकाशनसँगै ज्येष्ठ नागरिकहरूको मौखिक स्मृतिलाई पनि आधार बनाइएको छ। लिखित प्रमाणबाट पुष्टि भएका विषयलाई प्रमाणित तथ्यका रूपमा, स्थानीय स्मृति तथा भनाइलाई मौखिक इतिहासका रूपमा र अझै मूल प्रमाण आवश्यक रहेका विषयलाई खोजको विषयका रूपमा प्रस्तुत गरिएको छ।
इतिहासलाई सुन्दर बनाउनका लागि तथ्य थप्नु इतिहासप्रतिको न्याय होइन। त्यसैले जहाँ प्रमाण स्पष्ट छैन, त्यहाँ अनिश्चिततालाई पनि स्वीकार गरिएको छ। भविष्यमा प्राप्त हुने नयाँ कागजात, तस्बिर, नक्सा, अभिलेख वा मौखिक प्रमाणले यस इतिहासलाई थप समृद्ध वा आवश्यक परे संशोधित गर्न सक्नेछन्।
१. हालको ठुलाबेँसीको परिचय
ठुलाबेँसी आज गौमुखी गाउँपालिकाको महत्वपूर्ण व्यापारिक, शैक्षिक, स्वास्थ्य तथा सामाजिक केन्द्रका रूपमा स्थापित भएको छ। गाउँपालिकाका विभिन्न बस्तीबाट दैनिक उपभोगका वस्तु, शिक्षा, स्वास्थ्य, औषधि, बैंक तथा सहकारी सेवा र अन्य आवश्यक सेवाका लागि मानिसहरू यहाँ आउने गर्छन्। सडक र पुलको विस्तारसँगै यसको पहुँच पनि पहिलेभन्दा फराकिलो भएको छ।

गौमुखी गाउँपालिका स्थानीय तह पुनर्संरचनापछि २०७३ फागुन २७ गते स्थापना भएको हो। अर्खा, रजवारा, पूजा, खुङ, लिवाङ र नरिकोटक क्षेत्र समेटिएको यस गाउँपालिकामा सातवटा वडा छन्। ठुलाबेँसी गौमुखी गाउँपालिका–५ खुङमा पर्दछ।
ठुलाबेँसीको विकासलाई लिवासेसँग अलग गरेर हेर्न पनि मिल्दैन। प्रशासन, स्वास्थ्य, शिक्षा, व्यापार तथा यातायातका कारण यी क्षेत्रबीच लामो समयदेखि सम्बन्ध रहँदै आएको छ। आजको सहज आवतजावतको अवस्था हेर्दा विगतको कठिन यात्रा सम्झन गाह्रो पर्न सक्छ। तर सडक र मोटर आउनुअघि यही क्षेत्रमा मानिसहरू पैदल बाटो, खोलाका घाट र काठे पुल हुँदै लामो दूरी पार गरेर बजारसम्म पुग्थे। त्यसैले आजको ठुलाबेँसी बुझ्न हिजोको यात्रालाई पनि बुझ्न आवश्यक छ।
२. सतिघाटदेखि ठुलाबेँसी नामसम्म
(क).ठुलाबेँसीको इतिहाससँग जोडिएको महत्वपूर्ण स्थानीय ऐतिहासिक स्मृति सतिघाट हो। स्थानीय इतिहाससम्बन्धी खोज तथा प्रकाशनमा योगदान पुर्याउँदै आएनु भएका ज्ञामुराम न्यौपाने ज्यु को ‘पूजा गाउँको एक चिनारी’मा उल्लेखित स्थानीय विवरणअनुसार करिब ३५०–४०० वर्षअघि पाँच जना न्यौपाने दाजुभाइ पूजा क्षेत्रमा आएका थिए।
स्थानीय भनाइअनुसार वेदु पाध्याको आफ्नै कमारोबाट हत्या भएको र त्यसपछि उनकी श्रीमती सती गएको घटना यस क्षेत्रसँग जोडिएको छ। त्यस समयमा उनका छोरा हेमन्त करिब पाँच वर्षका रहेको र अन्तिम संस्कार हालको ठुलाबेँसी क्षेत्र आसपासको मसानघाटमा गरिएको स्थानीय स्मृति पाइन्छ। यही घटनासँग जोडिएर उक्त स्थानलाई पछि सतिघाट भनेर चिनिन थालेको भनाइ छ। सोही स्थानसँग देउती बोई वा सतीबाईको थान तथा पूजा गर्ने परम्परासमेत जोडिएको स्थानीय विश्वास पाइन्छ।
यस्तो प्रसंगलाई प्रस्तुत गर्दा सतीप्रथालाई गौरव वा आदर्शका रूपमा बुझ्नु हुँदैन। यसको ऐतिहासिक महत्व घटनालाई महिमामण्डन गर्नुमा होइन, एउटा पुरानो सामाजिक घटनाले कसरी कुनै स्थानको स्मृति, नाम र स्थानीय पहिचान निर्माण गर्न भूमिका खेल्यो भन्ने बुझ्नुमा छ। त्यसैले सतिघाटको प्रसंगलाई सामाजिक तथा ऐतिहासिक स्मृतिका रूपमा बुझ्नुपर्छ।
(ख).ठुलाबेँसीको नामकरणसम्बन्धी अर्को महत्वपूर्ण स्थानीय प्रमाण ‘ठुलीबेँसी’ नामसँग जोडिन्छ।
ठूलाबेसीको खास नाम ठुलीबेसी हो। पुराना जग्गाको तिरोतिरो रसिदमा यही शब्द लेखेको पाइन्छ। समयक्रममा उच्चारण र प्रयोगमा अपभ्रंश परिवर्तन हुँदै ‘ठुलीबेँसी’ बाट ‘ठुलाबेँसी’ नाम प्रचलनमा आएको देखिन्छ। ठाउँ आकारमा सानो भए पनि यसको पुरानो नाम नै पछि ठुलाबेँसीका रूपमा स्थापित भएको हो।
यद्यपि नामको विकासक्रमसम्बन्धी अझ पुराना लिखित अभिलेख भेटिएमा यस विषयमा थप स्पष्टता आउन सक्छ। त्यसैले नामकरणको इतिहासलाई पनि निरन्तर खोजको विषयका रूपमा राख्न आवश्यक छ। नामको इतिहास आफैंमा बस्तीको इतिहाससँग जोडिएको हुन्छ।
३. पुरानो भूगोल, प्रशासनिक सीमा र २०४४ सालको नापी
ठुलाबेँसी २०३२ सालपूर्व बागलुङ जिल्लाअन्तर्गत पर्ने स्थानीय स्मृति पाइन्छ। अर्खा, रजवारा र पूजा क्षेत्रसमेत त्यस समय बागलुङमै पर्ने उल्लेख स्थानीय इतिहासमा पाइन्छ। ठुलाबेँसी तत्कालीन पूजा पञ्चायतअन्तर्गत रहेको बुझिन्छ।
२०४४ सालको जग्गा नापी तथा नक्साङ्कन यस क्षेत्रको पुरानो भूगोल र प्रशासनिक सीमाको अध्ययनका लागि महत्वपूर्ण समय हो। स्थानीय भनाइअनुसार त्यसबेला पूजा पञ्चायतका तत्कालीन प्रधानपञ्चले पञ्चायतको जग्गा संरक्षण गर्न नसकी खुङ क्षेत्रमा नापी हुन दिएका थिए। स्थानीय बुझाइमा यस्तो कार्यलाई अत्यन्तै गैरजिम्मेवार निर्णयका रूपमा लिइन्छ।
तर यस्तो विषयलाई अन्तिम ऐतिहासिक निष्कर्षका रूपमा प्रस्तुत गर्नुअघि तत्कालीन नापी नक्सा, फिल्डबुक, मोठ, मालपोत तथा नापी कार्यालयका अभिलेख र पुराना पञ्चायतका निर्णयहरू अध्ययन गर्न आवश्यक हुन्छ। २०४४ सालको नापीले जग्गा, बस्ती र क्षेत्रको अभिलेखीकरणमा महत्वपूर्ण भूमिका खेलेको हुन सक्छ। त्यस समयको प्रशासनिक संरचना आजको स्थानीय तहको संरचनाभन्दा फरक थियो।
यसकारण पुरानो भूगोल बुझ्दा प्राकृतिक सीमा मात्र होइन, प्रशासनिक सीमा कसरी परिवर्तन भए, बस्तीको फैलावट कसरी भयो र बजारको प्रभाव क्षेत्र कसरी विस्तार भयो भन्ने विषयलाई समेत सँगै हेर्नुपर्छ।
४. आधुनिक बस्ती विकास र प्रारम्भिक परिवार
ठुलाबेँसीको आधुनिक बस्ती विकाससम्बन्धी स्थानीय स्मृतिमा दुर्गाबहादुर केसी, कमलाचन्द र रेशम थापालगायतका परिवारको नाम प्रारम्भिक बसोबाससँग जोडिएर आउँछ। तर यी परिवार नै सबैभन्दा पहिलो बसोबास गर्ने परिवार हुन् भन्ने निष्कर्षमा पुग्न पुराना नापी, जग्गा दर्ता, तिरो रसिद तथा अन्य अभिलेखको थप अध्ययन आवश्यक हुन्छ।
बस्तीको इतिहास घरहरूको संख्या बढेको इतिहास मात्र होइन। मानिसहरू कहाँबाट आए, किन आए, कसरी घर बनाए, कृषि तथा व्यापारसँग कसरी जोडिए, छिमेकी सम्बन्ध कसरी निर्माण भयो र सामाजिक संस्थाहरू कसरी विकास भए भन्ने विषयसँग यसको सम्बन्ध हुन्छ।
यस दृष्टिले हेर्दा ठुलाबेँसीको आधुनिक बस्ती निर्माणमा बसाइँसराइ, व्यापार, कृषि, सामाजिक सम्बन्ध र सार्वजनिक संस्थाहरूको विकास एकअर्कासँग जोडिएका प्रक्रिया हुन्।
५. लालुराम जैसी ‘साहुबा’ र प्रारम्भिक व्यापार
ठुलाबेँसीको आधुनिक व्यापारिक इतिहासमा लालुराम जैसी, स्थानीय रूपमा ‘साहुबा’ भनेर चिनिने व्यक्तिको नाम महत्वपूर्ण रूपमा आउँछ। स्थानीय विवरणअनुसार उहाँ पूजा अखेताङबाट करिब २०४७ सालतिर ठुलाबेँसीमा स्थायी रूपमा बसाइँ सर्नुभएको थियो। उहाँले यहाँ घर निर्माण गरी व्यापार सुरु गर्नुभयो।
उहाँको पसलमा चुरा, धागो, सिन्दुर, पोतेलगायतका सामग्री बिक्री हुने गर्थे। त्यस समय व्यापार आजको जस्तो ठूलो पूँजी, धेरै वस्तु र सहज यातायातमा आधारित थिएन। पैदल आवतजावत, सीमित सामान र स्थानीय आवश्यकताका आधारमा व्यापार चल्थ्यो। त्यस अवस्थामा एउटा परिवारले स्थायी घर बनाएर व्यापार सुरु गर्नुले बस्ती र बजार दुवैको विकासमा प्रभाव पार्थ्यो।
स्थानीय तथा प्रकाशित विवरणअनुसार लालुराम जैसीले गौमुखी माध्यमिक विद्यालयलाई करिब चार रोपनी जग्गा निःशुल्क उपलब्ध गराउनुका साथै अन्य विद्यालयलाई समेत सहयोग गरेको र दुईवटा विद्यालयका अक्षयकोषमा योगदान गरेको विवरण पाइन्छ। यस्ता विवरणलाई विद्यालयका निर्णय पुस्तिका, जग्गा हस्तान्तरणसम्बन्धी कागजात तथा अन्य अभिलेखबाट थप प्रमाणित गर्न सकिन्छ।
यस घटनालाई कुनै व्यक्तिको महिमामण्डनभन्दा पनि आधुनिक बस्ती विकासमा व्यापारसँगै शिक्षा र सार्वजनिक संस्थामा स्थानीय व्यक्तिहरूको योगदान कसरी जोडिएको थियो भन्ने सन्दर्भमा बुझ्नु उचित हुन्छ।
६. सडक आउनुअघिका बाटा र व्यापारिक सम्बन्ध
सडक र मोटर यातायात आउनुअघि गाउँको जीवन पैदल बाटोमै आधारित थियो। गाउँबाट गाउँ, गाउँबाट बजार र पहाडबाट तराईसम्म मानिसहरू पैदल हिँड्थे। दैनिक आवश्यकताका सामान टाढाका बजारबाट ल्याइन्थे र गाउँमा उत्पादन भएका वस्तुहरू बाहिर लैजाने गरिन्थ्यो।
स्थानीय स्मृतिमा बटौली, भालुबाङ, पत्थरकोट, कोइलाबास, दाङ, माडिखोला, बाग्दुला र बहानेसँग ठुलाबेँसी तथा आसपासका गाउँहरूको व्यापारिक सम्बन्ध रहेको उल्लेख पाइन्छ। भारी सामान डोकोमा बोकेर मानिसहरू लामो दूरी पार गर्थे। ती बाटाहरू केवल हिँड्ने बाटा थिएनन्, गाउँको आर्थिक जीवनका आधार थिए।
परिवार तथा पुस्तौँदेखि चलेको व्यापारिक स्मृतिमा कुन ठाउँबाट कुन सामान आउँथ्यो, स्थानीय उत्पादन कहाँ पुग्थ्यो, कुन बाटो प्रयोग हुन्थ्यो र यात्रामा कति समय लाग्थ्यो भन्ने विवरण भेटिन्छ। यस्ता मौखिक स्मृतिले पुरानो आर्थिक भूगोल बुझ्न महत्वपूर्ण आधार दिन्छ।
त्यसैले ठुलाबेँसीको बजार सडक आएपछि मात्र सुरु भएको होइन। सडकले पहिलेबाट रहेको आवतजावत र व्यापारिक सम्बन्धलाई तीव्र बनाएको हो।
७. नदीघाट, खोल्सा र काठे पुलको इतिहास
यस क्षेत्रको भौगोलिक अवस्थाले मानिसहरूको यात्रा र व्यापारमा नदी तथा खोलाको महत्वपूर्ण भूमिका निर्धारण गरेको थियो। पुल नभएका ठाउँमा नदीघाटबाट खोला पार गर्नुपर्ने, वर्षायाममा पानीको बहाव बढ्दा जोखिम लिनुपर्ने र स्थानीय श्रमबाट काठे पुल तथा फड्के निर्माण गर्नुपर्ने अवस्था थियो।
स्थानीय स्मृतिअनुसार करिब २०२५ सालतिर मसाङघाटमा ‘लट्ठावाला’ पुल निर्माण गर्दा कोइलाबासबाट काठ ल्याइएको थियो। त्यसैगरी करिब २०३२ सालतिर फड्के निर्माणका लागि पाल्पाबाट काठ ल्याइएको स्थानीय विवरण पाइन्छ। यस्ता विवरणलाई पुराना पञ्चायत वा सरकारी अभिलेखबाट थप पुष्टि गर्न सकिन्छ।
काठे पुल बनेपछि मानिसहरूको यात्रा सहज मात्र भएन। व्यापार, शिक्षा, स्वास्थ्य सेवा र सामाजिक सम्बन्ध पनि विस्तार भए। पुल एउटा भौतिक संरचना भए पनि त्यसले मानिसहरूबीचको आर्थिक तथा सामाजिक दूरी घटाउने काम गरेको थियो।
८. बाग्दुला–मच्छी–ठुलाबेँसी सडक
बाग्दुला–मच्छी–ठुलाबेँसी सडक निर्माणको प्रक्रिया करिब २०५८ सालतिर महत्वपूर्ण रूपमा अगाडि बढेको स्थानीय स्मृति पाइन्छ। फड्के तथा छहरे खोलातर्फ सडक खोल्ने क्रममा स्थानीय मानिसहरूले आफैं श्रम गरेर ढुंगा फुटाएको र बाटो निर्माणमा योगदान गरेको स्मरण अझै पाइन्छ।
सडकले यात्राको समय र ढुवानी खर्च घटायो। बाहिरी बजारसँगको सम्बन्ध विस्तार भयो। शिक्षा, स्वास्थ्य, प्रशासन तथा अन्य सेवामा पहुँच बढ्यो। कृषि उत्पादन तथा दैनिक उपभोगका वस्तुको आवतजावत पनि सहज भयो।
तर सडकले बजारको संरचना पनि परिवर्तन गर्छ। पहिले सबै सामानका लागि ठुलाबेँसी आउनुपर्ने अवस्थामा ग्रामीण भित्री सडक विस्तार भएपछि मानिसहरूले आफ्नै नजिकका पसल तथा सेवा प्रयोग गर्न थाले। त्यसैले सडक विकासलाई बजार विस्तारको माध्यम मात्र होइन, बजारको पुरानो प्रभाव क्षेत्र परिवर्तन गर्ने शक्तिका रूपमा पनि बुझ्नुपर्छ।
९. बिजुली, खानेपानी र बदलिँदो जीवन
बिजुलीको विस्तारले ठुलाबेँसीको दैनिक जीवनमा ठूलो परिवर्तन ल्यायो। घर, पसल, विद्यालय तथा सार्वजनिक संस्थाको काम गर्ने शैली परिवर्तन भयो। अध्ययन, सञ्चार, व्यापार र दैनिक जीवनमा नयाँ सम्भावना थपिए।
खानेपानीतर्फ लुम्बिनी प्रदेशसँग सम्बन्धित विवरणमा ‘खुंग्रीखोला खानेपानी आयोजना, गौमुखी–५ लिवासे, ठुलाबेँसी र रामामाटो’ उल्लेख भएको पाइन्छ। यसको प्रारम्भिक वर्ष, चरण, लगानी, लाभग्राही तथा हालको अवस्थाबारे सम्बन्धित सरकारी तथा स्थानीय अभिलेखबाट थप तथ्य निकाल्न सकिन्छ।
यसकारण बिजुली र खानेपानीलाई केवल पूर्वाधारका रूपमा होइन, मानिसहरूको जीवनशैली परिवर्तन गर्ने सामाजिक आधारका रूपमा हेर्नुपर्छ।
१०. गौमुखी माध्यमिक विद्यालय र शैक्षिक परिवर्तन
ठुलाबेँसीको आधुनिक बस्ती विकाससँग गौमुखी माध्यमिक विद्यालयको इतिहास पनि जोडिएको छ। विद्यालयको स्थापना एउटा सामान्य शैक्षिक घटना मात्र थिएन। यसले स्थानीय समाजमा शिक्षा, सामाजिक चेतना, नयाँ सम्बन्ध र भावी पुस्ताका लागि अवसर निर्माण गर्ने आधार तयार गर्यो।
गौमुखी माध्यमिक विद्यालय २०४६ सालमा स्थापना भएको र यसको विद्यालय कोड ५२००७ रहेको विवरण पाइन्छ। विद्यालय अहिले कक्षा १२ सम्म सञ्चालनमा छ।
विद्यालयको विस्तारसँगै टाढा गएर पढ्नुपर्ने बाध्यता घट्यो। स्थानीय बालबालिकामा उच्च शिक्षा तथा भविष्यप्रतिको आकांक्षा बढ्यो। विद्यालय स्वयं बस्ती विकास र सामाजिक परिवर्तनको महत्वपूर्ण केन्द्र बन्यो।
विद्यालयको पुरानो भवन, शिक्षक नियुक्ति, विद्यार्थी संख्या, कक्षा विस्तार, एसएलसी/एसईई नतिजा, कक्षा ११–१२ सञ्चालनको समय, उल्लेखनीय विद्यार्थी तथा पूर्वविद्यार्थीको सामाजिक योगदानजस्ता विषयलाई पुराना निर्णय पुस्तिका, भर्ना रजिस्टर, शिक्षक विवरण तथा विद्यालयका स्मृतिसँग जोडेर थप अभिलेख बनाउन सकिन्छ।
११. लिवासे र ठुलाबेँसीको सम्बन्ध
लिवासे र ठुलाबेँसीलाई छुट्टाछुट्टै विकास भएका क्षेत्रका रूपमा मात्र बुझ्न मिल्दैन। प्रशासन, स्वास्थ्य, शिक्षा, व्यापार र यातायातका कारण यी क्षेत्रबीच लामो समयदेखि सम्बन्ध रहँदै आएको छ।
स्थानीय विवरणअनुसार लिवासे क्षेत्रमा करिब २०३८ सालतिर स्वास्थ्य चौकी स्थापना भएको स्मृति पाइन्छ। माथिल्लो क्षेत्रका मानिसहरूका लागि स्वास्थ्य सेवा पहुँचमा यसको महत्व थियो। समयक्रममा स्वास्थ्य सेवा विस्तार हुँदै जाँदा ठुलाबेँसी पनि औषधि तथा निजी स्वास्थ्य सेवाका कारण स्थानीय केन्द्रका रूपमा विकसित भयो।
आज लिवासेमा गाउँपालिकासम्बन्धी प्रशासनिक संरचना, आधारभूत अस्पताल तथा इलाका प्रहरी कार्यालयजस्ता संस्थागत संरचनाहरू रहेका छन्। निमागा क्षेत्रमा १५ शय्याको अस्पताल तथा स्वास्थ्य सेवाको विस्तारले यस क्षेत्रको स्वास्थ्य पहुँचमा थप परिवर्तन ल्याएको छ। यसको स्थापना, सञ्चालन र सेवा विस्तारसम्बन्धी निश्चित वर्ष तथा तथ्य सम्बन्धित सरकारी अभिलेखबाट थप प्रमाणित गर्न आवश्यक छ।
१२. बैंक, सहकारी, वित्तीय सेवा र बदलिँदो बजार
बैंक, सहकारी तथा वित्तीय सेवाको विस्तारले ठुलाबेँसीको आर्थिक जीवनमा अर्को महत्वपूर्ण परिवर्तन ल्याएको छ। कृषि विकास बैंकसँग सम्बन्धित कारोबार, सहकारी संस्था तथा निजी वित्तीय गतिविधिले बचत, ऋण, रेमिट्यान्स तथा व्यापारिक लगानीलाई औपचारिक प्रणालीसँग जोड्दै लगे।
पहिले नगद, वस्तु विनिमय र आपसी विश्वासमा आधारित कारोबार हुने ठाउँमा अहिले बैंकिङ तथा डिजिटल कारोबारको विस्तार भएको छ। विदेश गएका युवाहरूबाट आउने रेमिट्यान्सले घर निर्माण, शिक्षा, स्वास्थ्य, व्यापार तथा उपभोगमा प्रभाव पारेको छ।
यद्यपि वित्तीय संस्थाको स्थापना वर्ष, पहिलो शाखा, कारोबारको स्वरूप र समयक्रममा आएको परिवर्तनलाई तथ्याङ्कसहित प्रस्तुत गर्न सम्बन्धित संस्थाका अभिलेख आवश्यक हुन्छन्। अनुमानलाई तथ्यका रूपमा प्रस्तुत गर्नु हुँदैन।
१३. पूजा–ठुलाबेँसी पक्की पुल र नयाँ सडक सम्बन्ध
काठे पुल र फड्केको लामो इतिहासपछि पूजा–ठुलाबेँसी क्षेत्रमा पक्की पुल निर्माण हुनु यातायात विकासको महत्वपूर्ण चरण बन्यो। यसले वर्षायाममा हुने जोखिम घटाउँदै वरपरका बस्तीलाई स्थायी सडक यातायातसँग जोड्न सहयोग पुर्यायो।
यसको प्रभाव पूजा क्षेत्रमा मात्र सीमित रहेन। खोलाबाङ, बाग्लिबाङ र झाक्रीढुङ्गा जोड्ने उद्देश्य राखिएको सडक सञ्जाललाई त्यहाँसम्म जोड्न सके ठुलाबेँसीको बजारलाई नौबहिनी गाउँपालिकासँग समेत जोड्न सकिने सम्भावना देखिन्छ। यसलगायतका क्षेत्रसँगको आवतजावत र बजारसम्बन्ध विस्तार हुँदै गएको छ।
पहिले मानिसको आवतजावतले बनेको सम्बन्ध अब सडक र पुलले थप स्थायी बनाउने विश्वास गर्न सकिन्छ। शिक्षा, स्वास्थ्य, कृषि उत्पादनको ढुवानी, व्यापार तथा सामाजिक सम्बन्धमा यसको प्रभाव देखिन्छ।
पुललाई केवल खोलामाथि बनाइएको संरचना मात्र होइन, लामो समयदेखि अलग–अलग रहेका बस्तीहरूलाई जोड्ने ऐतिहासिक कडीका रूपमा पनि बुझ्न सकिन्छ।
१४. ग्रामीण जीवन र बजारबीचको सम्बन्ध
पुरानो ग्रामीण जीवन कृषि, पशुपालन, स्थानीय सीप, श्रम र सीमित व्यापारमा आधारित थियो। गाउँमा उत्पादन हुने वस्तु गाउँमै प्रयोग हुन्थे र आवश्यकताअनुसार नजिकका वा टाढाका बजारमा लगिन्थे।
बजारसँगको सम्बन्ध आवश्यकताले निर्धारण गर्थ्यो। दैनिक सामानका लागि नजिकका किराना पसल पुगिन्थ्यो भने विशेष सामानका लागि टाढा जानुपर्ने अवस्था थियो। दूरी, बाटो, मौसम, खोला, पहाड र वर्षायामका जुकासम्मले यात्राको कठिनाइ निर्धारण गर्थे।
यस अर्थमा बजार गाउँबाट अलग थिएन। गाउँको आवश्यकता र उत्पादनले बजार निर्माण गर्यो र बजारको विकासले गाउँको जीवनशैली परिवर्तन गर्दै लग्यो।
१५. आजको ठुलाबेँसी बजार र बदलिँदो व्यापार
आज ठुलाबेँसीको बजार पहिलेको तुलनामा ठूलो, विविध र सेवामुखी भएको छ। ग्रामीण भित्री सडक विस्तारसँगै मानिसहरूले आफ्नो नजिकका बजार तथा सेवा केन्द्र प्रयोग गर्न थालेका छन्। मच्छी, ठुलाबेँसी र बाग्दुलातर्फ दैनिक सवारी साधन चल्ने अवस्था बनेको छ।
युवा पुस्ताको विदेश तथा अन्य बजार क्षेत्रमा बसाइँसराइले उपभोक्ता संरचनामा पनि परिवर्तन ल्याएको छ। रेमिट्यान्स, नयाँ जीवनशैली र डिजिटल प्रविधिले बजारको माग परिवर्तन गरिरहेको छ।
यसलाई केवल ‘बजार कमजोर भयो’ भनेर निष्कर्ष निकाल्नु उचित हुँदैन। सडक र सेवा विस्तार आफैंमा विकास हो। तर बजारले आफ्नो भूमिका नयाँ परिस्थितिअनुसार विस्तार गर्न सकेन भने विगतको जस्तो एकल प्रभाव घट्न सक्छ।
भविष्यको बजार स्थानीय उत्पादन, सेवा, शिक्षा, स्वास्थ्य तथा बाहिरी बजारसँगको सम्बन्धमा आधारित हुन सक्छ।
१६.बाग्दुला–मच्छी–ठुलाबेँसी–भिगिठी सडक र क्षेत्रीय सम्भावना
बाग्दुला–मच्छी–ठुलाबेँसी–à



