ट्रेन्डीङ्ग

बिहान सबेरै उठेर खोला किनार, खेतबारी र सिमसार क्षेत्रमा उम्रिएको मौसमी तरकारी डौडे खोज्ने, बेलुका घर फर्केर त्यसलाई मुठा पार्ने र चामलको खाली बोरा तथा झोलामा प्याक गर्ने अनि भोलिपल्ट बिहानै करिब १५–१६ किलोमिटर टाढाको बहाने बजार पुगेर बेच्ने उनीहरुको दैनिकीसङ्गै जोडिएको बाध्यता हो । यतिबेला नौबहिनी गाउँपालिका–५, डाम्री काँटेका तीन नानीहरूको दैनिकी यही बनेको छ ।
विद्यालयको बिदाको समय उनीहरूका लागि केवल खेल्ने र रमाउने समय होइन । बिदाको दिनलाई उनीहरूले परिवारको आवश्यकता पूरा गर्ने अवसरका रूपमा प्रयोग गरिरहेका छन् ।

नौबहिनी गाउँपालिका–५, डाम्री काँटेकी कक्षा ६ मा अध्ययनरत सरिता के.सी., कक्षा ४ मा अध्ययनरत हुमिसरा रोका क्षेत्री र उनकी १६ वर्षीया दिदी कविता रोका क्षेत्री यतिबेला विभिन्न स्थानमा डौडे बेच्दै हिँडिरहेका देखिन्छन् ।
उनीहरूले बनाएको एउटा मुठा डौडेको तौल करिब डेढ किलो हुन्छ । तर त्यसको मूल्य भने प्रतिमुठा जम्मा ५० रुपैयाँ । मूल्य सस्तो भए पनि डौडेको माग भने राम्रै भएको देखिन्छ । कतिपय ग्राहकले बोरासहित नै किनिदिन्छन् भने कतिपयले एक वा दुई मुठा किन्छन् । कतिपयले पुनः ल्याउन आग्रह गर्छन् ।

बहाने बजारमा डौडे लिएर पुगेपछि उनीहरूको बिक्री हुन धेरै समय लागेको देखिदैन । धेरै बोल्न नसक्ने र लजालु स्वभावका यी बालिकाहरूले ग्राहक बोलाउँदै हिँड्न पनि खासै जान्दैनन् । तर उनीहरूको ताजा र प्राकृतिक डौडे भने ग्राहकसम्म पुग्न धेरै समय लाग्दैन ।
कहिलेकाहीँ उनीहरूको बोरा बजार परिक्रमा गर्न नपाउँदै रित्तिन्छ ।
डौडे बिक्री भएपछि उनीहरू फेरि अर्को दिनका लागि तयारीमा जुट्छन् ।
बिहानैदेखि खोला किनार, खेतबारी र अन्य सिमसार क्षेत्रमा डौडे खोज्ने उनीहरूको दिनभरको काम हुन्छ । बेलुका घर फर्केपछि डौडे मुठा पारिन्छ, बोरा र झोलामा प्याक गरिन्छ । अनि अर्को दिन बिहानै उठेर खाजा–नास्ता खाएपछि उनीहरू करिब १५–१६ किलोमिटरको दूरी पार गर्दै बहाने बजार झर्छन् ।

कापी–कलमका लागि डौडे

सरिता र हुमिसरासँग डौडे बेच्नुको कारण सोध्दा उनीहरूको जवाफ सरल कापी र कलम किन्न पैसा चाहिन्छ ।
सानो उमेरका उनीहरूको आवश्यकता पनि सानो देखिन्छ । विद्यालयमा पढ्न चाहिने कापी–कलम जुटाउन उनीहरू बिदाको समय डौडे खोज्छन्, बोकेर बजार आउँछन् र बिक्री गर्छन् ।
तर उनीहरूसँगै डौडे बेच्न आउने १६ वर्षीया कविता रोका क्षेत्रीको कथा भने फरक छ ।
उनको काँधमा केवल आफ्नो आवश्यकता पूरा गर्ने जिम्मेवारी छैन, उनीसँग एउटा परिवारको जिम्मेवारी जोडिएको छ ।
कविता भन्छिन्, “भाइबहिनीलाई पढाउने पैसा जम्मा गर्नुछ। सिजनअनुसारको काम खोज्छु। काम गरेर पैसा घरमा ल्याउँछु, भाइबहिनीलाई पुर्‍याउँछु र घरखर्च चलाउन सहयोग गर्छु ।”
यति भन्दै गर्दा उनको स्वरमा जिम्मेवारीको गहिराइ स्पष्ट महसुस हुन्छ ।
कविता पाँच बहिनीमध्ये जेठी छोरी हुन् । चार वर्षअघि बाबाको मृत्यु भएपछि परिवारको अवस्था झनै कठिन बनेको छ । परिवारमा एक जना अपाङ्ग भाइ पनि छन् ।
आफ्नो मनको पीडा दबाउँदै उनी भन्छिन्,
“हामी पाँच बहिनी छौं । बाबा बितेको चार वर्ष भयो । एउटा भाइ अपाङ्ग छ । म जेठी छोरी हुँ, सबै मैले हेर्नुपर्छ । म नपढे पनि भाइबहिनीलाई पढाउन काम गर्छु ।”
१६ वर्षको उमेरमा जहाँ धेरै किशोरीहरू आफ्नो पढाइ, साथीभाइ र भविष्यका सपना बुन्दै हुन्छन्, त्यही उमेरमा कविता भने भाइबहिनीको भविष्यका लागि पसिना बगाइरहेकी छन् ।
उनको सपना आफ्नै लागि मात्र छैन ।
उनको सपना भाइबहिनीको कापीमा लेखिएको छ ।
उनको भविष्य परिवारको भविष्यसँग गाँसिएको छ ।

आमाको काँधमा घर, छोरीको काँधमा जिम्मेवारी

कविताकी आमा तनमला रोका क्षेत्री खासै पढेलेखेकी छैनन् । उनी घरधन्दामै व्यस्त रहन्छिन् । परिवारको आर्थिक अवस्था कमजोर छ । त्यसैले घरको काम र परिवारको जिम्मेवारीमा जेठी छोरी कविताको भूमिका बढ्दै गएको छ ।
सिजनअनुसार पाइने काम खोज्नु, काम गरेर पैसा कमाउनु र घरमा ल्याएर भाइबहिनीको पढाइ तथा घरखर्चमा सहयोग गर्नु उनको दैनिकी बनेको छ ।
डौडे बिक्री गर्नु पनि उनका लागि त्यही संघर्षको एउटा पाटो बनेको छ ।
खोला किनार र खेतबारीमा प्राकृतिक रूपमा पाइने डौडे उनीहरूका लागि केवल मौसमी तरकारी होइन । सरिता र हुमिसराका लागि त्यो कापी–कलम किन्ने माध्यम हो भने कविताका लागि भाइबहिनीको पढाइ र परिवारको आवश्यकता पूरा गर्ने एउटा सहारा हो ।
करिब ३० देखि ४० किलोका बोरा बोकेर बहाने बजारमा डेढ किलो जतिको एउटा मुठा डौडे ५० रुपैयाँमा बेचिरहेका यी तीन बालिकाको हातमा सामान्य तरकारीको मुठा मात्र छैन ।
त्यहाँ संघर्ष छ, त्यहाँ जिम्मेवारी छ ।
त्यहाँ भाइबहिनीलाई पढाउने सपना छ ।
र, त्यहाँ एउटा १६ वर्षीया जेठी छोरीको त्याग छ ।

सायद बहाने बजारमा डौडे किन्ने धेरै ग्राहकले त्यो मुठाको तौल मात्र हेर्छन्—करिब डेढ किलो ।
तर कविता रोका क्षेत्रीको काँधमा रहेको जिम्मेवारीको तौल भने कुनै तराजुले नाप्न सक्दैन ।
डेढ किलो डौडे बोकेर बजार झर्ने ती नानीहरू वास्तवमा आफ्नो काँधमा एउटा परिवारको आशा र भविष्य बोकेर हिँडिरहेका छन् ।

जसको सपना छ, उसको त्यहाँ अठोट पनि छ ।
कविता भित्रको कविता पुर्ण पाठबाट जीवनको वास्तविक अर्थ खोजौ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय