ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिकाको २०औँ गाउँसभा तथा अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले आर्थिक वर्ष २०८३/०८४ का लागि ५६ करोड ९० लाख ४० हजार ८ सय ८ रुपैयाँ बराबरको बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

गाउँपालिका अध्यक्षले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम सभामा प्रस्तुत गर्नुभएको थियो भने गाउँपालिका उपाध्यक्ष विष्णा थापाले बजेट वक्तव्य तथा न्यायिक समितिको वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो । त्यसैगरी, विषयगत समितिका संयोजकहरूले आ-आफ्ना समितिका प्रतिवेदन प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत आर्थिक विधेयक, विनियोजन विधेयक तथा विषयगत समितिका प्रतिवेदनहरू सर्वसम्मत रूपमा पारित भएका छन् ।

समृद्ध, सक्षम र सुखी नौबहिनी” निर्माणको दीर्घकालीन लक्ष्यलाई आत्मसात गर्दै गाउँपालिकाले शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, भाषा-संस्कृति, वातावरण तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।

शिक्षा क्षेत्रतर्फ शैक्षिक गुणस्तर सुधारका लागि ‘सचेत अभिभावक, सफल विद्यार्थी’ अभियान, ‘ब्याक टु बेसिक’ उपचारात्मक कक्षा, तथा ‘कमाउँदै पढ्दै’ अवधारणाअन्तर्गत उद्यमी विद्यार्थी कार्यक्रम सञ्चालन गरिने भएको छ। साथै स्थानीय तथा मगर भाषाको पाठ्यक्रम निर्माण गरी विद्यालयस्तरबाटै पठनपाठन सुरु गर्ने नीति लिइएको छ ।

कृषि क्षेत्रलाई आत्मनिर्भर र व्यावसायिक बनाउन रैथाने बाली प्रवर्द्धन, एक वडा-एक कृषि पकेट क्षेत्र, माछा उत्पादनमा आत्मनिर्भर कार्यक्रम, जैविक मल तथा विषादी उत्पादनमार्फत अर्गानिक कृषि प्रणाली प्रवर्द्धन, एक वडा–एक रिचार्ज पोखरी निर्माण, तथा पशुपालन र दुग्ध उत्पादनमा अनुदान कार्यक्रम सञ्चालन गरिने जनाइएको छ ।

स्वास्थ्य क्षेत्रतर्फ ‘गोठमुक्त मातृत्व अपनाऔँ, आमा–शिशुको स्वास्थ्य जोगाऔँ’ अभियान सञ्चालन गरिनेछ । त्यस्तै, बालबालिकाको रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई सुवर्णबिन्दु प्राशन कार्यक्रम लागू गरिने नीति लिइएको छ ।

गाउँपालिकाले औषधीय जडीबुटीको सम्भाव्यता अध्ययन गरी त्यसको व्यावसायिक उपयोग तथा आयुर्वेदिक औषधि उत्पादनमा जोड दिने भएको छ। यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार गरिनेछ ।

पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनका लागि नौबहिनी क्षेत्रभित्र रहेका सम्भावित पर्यटकीय गन्तव्यहरूको पहिचान तथा प्रचार-प्रसार गर्न ‘नौबहिनी मिडिया सम्मेलन’ आयोजना गरिने भएको छ ।

यसैगरी, प्राकृतिक विपद् तथा अन्य जोखिमबाट हुने क्षति न्यूनीकरणका लागि गाउँपालिका क्षेत्रभित्र रहेका निजी, सामुदायिक तथा सार्वजनिक भवनहरूको भवन विमा कार्यक्रम सञ्चालन गर्ने नीति समेत अधिवेशनले पारित गरेको छ ।

गाउँसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत बजेट, नीति तथा कार्यक्रम, आर्थिक विधेयक, विनियोजन विधेयक तथा विभिन्न समितिका प्रतिवेदनहरू पारित गर्दै विकास निर्माण, सेवा प्रवाहको प्रभावकारिता, उत्पादन वृद्धि, सामाजिक संरक्षण तथा नागरिकको जीवनस्तर सुधारलाई केन्द्रमा राखेर कार्यान्वयनमा जाने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय