ट्रेन्डीङ्ग

प्युठानको नौबहिनी गाउँपालिका–५ डाम्री काँटे निवासी दुई जना बालकलाई बर्खे खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना अझै बेपत्ता रहेका छन् ।

स्थानीय याम बहादुर खत्रीका छोरा कक्षा १ मा अध्ययनरत करिब ७ वर्षीय बिमल खत्री र कक्षा ३ मा अध्ययनरत ११ वर्षीय मिलन खत्री विद्यालयबाट घर फर्किने क्रममा बाढीमा परेका हुन् । उनीहरू श्री जनता प्राथमिक विद्यालय नौबहिनी गाउँपालिका ५ काँटेबाट विद्यालय छुट्टी भएपछि घरतर्फ जाँदै गर्दा अचानक परेको अविरल वर्षासँगै घर नजिकै रहेको जोगीपँधेरा बर्खे भलमा आएको ठूलो भेलले बगाएको बताइएको छ ।

बाढीले बगाएका दुईमध्ये बिमल खत्रीको शव फेला परेको छ भने दाइ मिलन खत्रीको अवस्था अझै अज्ञात रहेको छ । उनको खोजीका लागि स्थानीयवासी तथा सरोकारवालाहरूले खोज तथा उद्धार कार्य जारी राखेका छन् ।

घटनापछि परिवार शोकमा डुबेको छ । बालकहरूका बुबा याम बहादुर खत्री रोजगारीका लागि विदेशमा रहेका छन् । घरमा आमा, ६ महिनाकी बहिनी तथा बिरामी हजुरबुबा र हजुरआमा रहेका छन् । घटनापछि परिवारका सदस्यहरू विक्षिप्त बनेका छन् ।

घटनाबारे जानकारी दिँदै नौबहिनी गाउँपालिका–५ का वडा सदस्य कुल बहादुर के.सी. ले एक बालकको शव फेला परेको र अर्काको खोजी कार्य तीव्र रूपमा भइरहेको बताउनुभएको छ ।

यस दुःखद घटनाले सम्पूर्ण गाउँ नै शोकाकुल बनेको छ । स्थानीयवासीले वर्षायाममा बाढी तथा पहिरोबाट हुने जोखिम न्यूनीकरणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय