ट्रेन्डीङ्ग

नेपालका पहाडी गाउँहरूमा कुनै समय चारपाखे घर ग्रामीण जीवनको सामान्य आवासीय संरचना थिए । ढुंगा, माटो, काठ, निगाली, झिँगटी वा खरजस्ता स्थानीय सामग्रीबाट बनेका यस्ता घरहरू केवल मानिस बस्ने ठाउँ मात्र थिएनन्। तिनको बनोट प्रयोग र घरभित्र राखिने सामग्रीले त्यस समयको उत्पादन प्रणाली, श्रम विभाजन, खाद्य व्यवस्था, कृषि, पशुपालन, घरेलु प्रविधि, सामाजिक सम्बन्ध र जीवनशैलीलाई समेत प्रतिबिम्बित गर्दर्थ्यो । जुन यस समयमा बिरलै देख्न पाईन्छ ।

त्यसैले चारपाखे घरको इतिहासलाई केवल वास्तुकलाको इतिहासका रूपमा बुझ्नु पर्याप्त हुँदैन । चारपाखे घरसँगै एउटा विशिष्ट ग्रामीण जीवनपद्धति जोडिएको थियो । आज ती घरहरूको संख्या घट्दै जाँदा घरको संरचनासँगै त्यस जीवनपद्धतिका धेरै सामग्री, सीप, काम गर्ने तरिका र शब्दहरू पनि प्रयोगबाट बाहिरिँदै गएका छन् ।

जसको इतिहास समेत लोप हुँदै गएको छ, भोलिका पुस्तालाई दस्ताबेज समेत नरहने चिन्ता छ । यस अर्थमा चारपाखे घरको परिवर्तन नेपालको ग्रामीण समाजमा आएको व्यापक आर्थिक, सामाजिक, प्राविधिक र जनसांख्यिक परिवर्तनको एउटा दृश्य प्रमाण हो ।

चारपाखे घरभित्रको जीवन

पुरानो पहाडी घरको संरचना घरको आवश्यकता र स्थानीय वातावरणसँग जोडिएको हुन्थ्यो । घरमा बस्ने मानिस मात्र होइन अन्न, पशु, कृषि सामग्री, घरेलु औजार, दाउरा, पानी तथा दैनिक जीवनका अन्य सामग्रीका लागि पनि निश्चित स्थान हुन्थे ।

दलिन, निदाल, धुरी, थाम, खाँबो, झ्याल, ढोका, लिस्नु, दलान, आँगन आदि घरका संरचनात्मक वा प्रयोगात्मक पक्षसँग सम्बन्धित थिए । कतिपय स्थानमा यिनका नाम, बनोट र प्रयोगमा स्थानीय भिन्नता पनि पाइन्थ्यो ।

घरभित्रका सामग्री पनि त्यही जीवनपद्धतिको आवश्यकताअनुसार बनेका थिए । ढिकी, जाँतो, ओखल–मुसल, सिलौटो–लोहोरो, भकारी, नाङ्लो, सुपो, डोको, डालो, थुन्से, नाम्लो, ठेकी, मदानी, गाग्री, घैँटो, करुवा, चुलो, अँगेनो, ताउलो, हाँडी, टुकी, लालटिन, गुन्द्री, सुकुल, पिरा, मुढा, काठे खाट, सन्दुक, तकुवा, चरखा, तान, हलो, जुवा, फाली, कोदालो, कुटो, हँसिया, खुर्पा, बञ्चरो र दाम्लो आदि त्यही जीवनका विभिन्न आवश्यकतासँग सम्बन्धित थिए । यीमध्ये प्रत्येक वस्तुको आफ्नै काम थियो र धेरै वस्तुहरू स्थानीय स्रोत, सीपकला र श्रमबाट तयार हुन्थे ।

घरेलु उत्पादन र आत्मनिर्भर जीवन

परम्परागत ग्रामीण अर्थतन्त्रमा घर उत्पादन र उपभोगको महत्वपूर्ण एकाइ थियो । परिवारले खेतीबाट अन्न उत्पादन गर्थे, पशुपालनबाट दूध तथा अन्य उत्पादन प्राप्त गर्थे र धेरै खाद्य सामग्री घरमै प्रशोधन गरिन्थ्यो ।

धान कुट्न ढिकी प्रयोग हुन्थ्यो । मकै, कोदो तथा अन्य अन्न पिस्न जाँतो प्रयोग हुन्थ्यो। ओखल–मुसल विभिन्न कुटानीका काममा प्रयोग हुन्थे । भकारी तथा अन्य भण्डारण सामग्रीमा अन्न सुरक्षित राखिन्थ्यो ।

दूधबाट दही र मोही बनाउने प्रक्रियामा ठेकी र मदानी प्रयोग हुन्थे। पानी बोक्न गाग्री, घैँटो तथा अन्य भाँडा प्रयोग हुन्थे। घरको खाना पकाउने काम चुलो, अँगेनो, ताउलो र हाँडीसँग सम्बन्धित थियो। यसरी हेर्दा पुरानो घर आफैँमा एउटा सानो उत्पादन, प्रशोधन र भण्डारण केन्द्रजस्तो थियो।

श्रम, स्थानीय प्रविधि र घरेलु सीप

यी सामग्रीको अर्को महत्वपूर्ण पक्ष स्थानीय प्रविधि र श्रमसँग सम्बन्धित थियो । ढिकी, जाँतो, हलो, जुवा, डोको, नाम्लो, ठेकी, मदानी, तकुवा वा तान आधुनिक औद्योगिक उत्पादनबाट आएका सामग्री थिएनन् । तिनको निर्माणमा स्थानीय काठ, ढुंगा, बाँस, निगालो, धातु, छाला, डोरी तथा अन्य उपलब्ध सामग्री प्रयोग हुन्थे ।त्यसैले एउटा वस्तुको इतिहासभित्र त्यसलाई बनाउने मानिसको सीप र श्रमको इतिहास पनि समावेश हुन्छ ।

जाँतो बनाउन ढुंगाको छनोट र आकार मिलाउने सीप आवश्यक हुन्थ्यो । काठका सामग्री बनाउन काठको प्रकार, आकार र टिकाउपन बुझ्नुपर्थ्यो । डोको, डालो, थुन्से, सुपो तथा अन्य सामग्री बनाउन बाँस वा निगालोसम्बन्धी स्थानीय ज्ञान आवश्यक हुन्थ्यो । कृषि औजार बनाउन धातुको काम र काठको काम दुवैसँग सम्बन्धित सीप आवश्यक पर्थ्यो ।

विशेषगरी चोया, बाँस वा निगालोबाट बनाइने डोको, डालो, थुन्से, मान्द्रो, ओरा, सुपो, नाङ्लो लगायतका सामग्री धेरै गाउँमा घरायसी आवश्यकताका वस्तु मात्र थिएनन् । कतिपय परिवारका लागि यस्ता सामग्री बनाउने सीप आम्दानीको महत्वपूर्ण स्रोतसमेत बनेको थियो । पुर्खाहरूले स्थानीय वनस्पति र उपलब्ध स्रोत प्रयोग गरी सामग्री निर्माण गर्थे गाउँघरमै बिक्री वा आदानप्रदान गर्थे र त्यसबाट परिवारको अर्थतन्त्रमा योगदान पुग्थ्यो ।

यसले परम्परागत ग्रामीण समाज पूर्णतः उपभोगमा आधारित थिएन भन्ने देखाउँछ। घरमै उत्पादन, सीप र श्रमलाई उपयोग गरेर आम्दानी तथा जीविकोपार्जन गर्ने अभ्यास पनि त्यस जीवनपद्धतिको एउटा महत्वपूर्ण पक्ष थियो । तर पछिल्लो पुस्तामा आएर यस्ता परम्परागत सीप र पेसाको निरन्तरता कमजोर हुँदै गएको देखिन्छ । बजारमा औद्योगिक रूपमा उत्पादित सस्ता र सहज सामग्री उपलब्ध हुनु बाँस तथा निगालोको प्रयोग घट्नु श्रमको मूल्य र अवसर परिवर्तन हुनु  युवापुस्ता अन्य रोजगारीतर्फ जानु तथा गाउँको जीवनशैली बदलिनु यसका विभिन्न कारण हुन सक्छन् ।

यस कारण यी वस्तुहरूको संरक्षणसँगै तिनको निर्माण सीप, श्रम र त्यसबाट जोडिएको स्थानीय अर्थतन्त्रको इतिहास पनि अभिलेख गर्नु आवश्यक छ।

परिवर्तनको सुरुवात

ग्रामीण जीवन एकैपटक परिवर्तन भएको होइन । सडक विस्तार, बजारको पहुँच, शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार, आधुनिक कृषि प्रविधि, औद्योगिक उत्पादन र रोजगारीका नयाँ अवसरसँगै गाउँको जीवन क्रमशः परिवर्तन हुँदै गयो ।

मिल र बजारको पहुँच बढेपछि घरमै अन्न कुट्ने र पिस्ने आवश्यकता घट्दै गयो । बिजुली विस्तार भएपछि टुकी र लालटिनको प्रयोग कम भयो । पाइप वा धाराको विस्तारसँगै टाढाबाट गाग्रीमा पानी बोक्ने आवश्यकता धेरै ठाउँमा घट्यो ।

आधुनिक भान्साका सामग्री आएपछि परम्परागत चुलो, अँगेनो र केही पुराना भाँडाको प्रयोग पनि घट्दै गयो । कृषिमा पनि परम्परागत औजारको स्थान विभिन्न आधुनिक उपकरणले लिन थाले ।

यसरी प्रविधिले एउटा–एउटा वस्तुलाई मात्र विस्थापित गरेन । वस्तु प्रयोग हुने सम्पूर्ण जीवनपद्धति नै परिवर्तन हुँदै गयो । अहिले तिनै प्रविधिको प्रयोगले मानिसको जीवन वलासिता तिर ढकेलिदै गएको छ ।

बसाइँसराइ र वैदेशिक रोजगारी

पहाडी गाउँको परिवर्तनमा बसाइँसराइ अर्को महत्वपूर्ण पक्ष हो । शिक्षा, रोजगारी, स्वास्थ्य, सुविधा र भविष्यको खोजीमा मानिसहरू गाउँबाट सहर, तराई तथा विदेशतर्फ जान थाले । वैदेशिक रोजगारीले धेरै परिवारको आम्दानी र आर्थिक अवस्थामा नयाँ सम्भावना सिर्जना गर्‍यो । घर निर्माण, शिक्षा, स्वास्थ्य, उपभोग र जीवनस्तरमा पनि यसको प्रभाव देखियो । तर गाउँमा स्थायी रूपमा बस्ने र दैनिक कृषि तथा घरेलु श्रम गर्ने जनसंख्या घट्दै गयो ।

परिवारको आकार पनि परिवर्तन भयो । पहिले ठूलो परिवारले मिलेर गर्ने धेरै काम अहिले कम सदस्य भएको परिवारले धान्नुपर्ने अवस्था आयो । कतिपय घरमा वृद्ध सदस्य मात्र बाँकी रहे, कतिपय घर बन्द भए र कतिपय परिवार स्थायी रूपमा अन्यत्र बसाइँ सरे ।

यससँगै खेतबारीको उपयोग घट्यो, कतिपय जमिन बाँझिए, पशुपालन घट्यो । घरमै अन्न प्रशोधन र भण्डारण गर्ने आवश्यकता पनि कम हुँदै गयो । त्यसैले गाउँमा पुराना सामग्री हराउनु केवल नयाँ सामग्रीको आगमनको परिणाम होइन । यसको पछाडि जनसंख्या, रोजगारी, परिवार, उत्पादन र बसोबासको संरचनामा आएको परिवर्तन पनि जोडिएको छ ।

चारपाखे घरको परिवर्तन

चारपाखे घरको संरचनामा आएको परिवर्तनलाई पनि यही व्यापक परिवर्तनसँग जोडेर हेर्न सकिन्छ । पुराना घरहरू मर्मत गर्न कठिन हुनु नयाँ निर्माण सामग्रीको उपलब्धता, आधुनिक वास्तुशैली, सडकको पहुँच, आर्थिक अवस्था र बदलिएको जीवनशैलीका कारण नयाँ प्रकारका घर बन्न थाले ।

काठ, माटो र ढुंगामा आधारित परम्परागत संरचनाको स्थान क्रमशः सिमेन्ट, इँटा, फलाम, जस्ता तथा अन्य आधुनिक निर्माण सामग्रीले लिन थाले । यससँगै घरको आन्तरिक संरचना पनि बदलियो। पहिले घरको निश्चित भागमा अन्न, औजार, पशु, दाउरा, पानी तथा घरेलु सामग्रीका लागि स्थान हुन्थ्यो । आधुनिक घरमा त्यही आवश्यकता र प्रयोगको स्वरूप फरक भएको छ ।

आज गाउँमा पक्की घरहरू निर्माण हुनु विकास र जीवनस्तरमा आएको सकारात्मक परिवर्तनका रूपमा पनि बुझ्न सकिन्छ । तर नयाँ घर निर्माण हुँदै गर्दा पुरानो घरसँग जोडिएको ज्ञान, वास्तुशैली, सामग्री र जीवनपद्धतिको अभिलेख हराउनु आवश्यक छैन ।यसैले चारपाखे घर हराउनु एउटा वास्तु परिवर्तन मात्र होइन, घरभित्रको जीवनपद्धतिमा आएको परिवर्तन पनि हो ।

वस्तु हराउँदा शब्द पनि हराउँदै जानु

यस परिवर्तनको एउटा कम चर्चा गरिएको पक्ष भाषासँग सम्बन्धित छ । पहाडका हाम्रा चारपाखे घरहरू लोप हुँदै जाँदा लोकजीवनमा प्रयोग हुने नेपालीका धेरै शब्दहरू पनि विस्तारै दैनिक प्रयोगबाट बाहिरिँदै छन् ।कुनै शब्द केवल शब्दकोशमा रहेर जीवित हुँदैन । त्यसको प्रयोगसँग सम्बन्धित वस्तु, काम र सामाजिक परिवेश पनि आवश्यक हुन्छ ।

जब ढिकी चल्न छोड्छ, ढिकीसँग सम्बन्धित दैनिक प्रयोगका शब्दहरू पनि कम हुँदै जान्छन् । जाँतो घरबाट हटेपछि जाँतोसँग सम्बन्धित शब्द र त्यसको प्रयोगात्मक ज्ञान नयाँ पुस्ताले प्रत्यक्ष रूपमा सिक्ने अवसर पाउँदैन । भकारी, ठेकी, मदानी, तकुवा, तान, सुकुल, पिरा, नाम्लो वा अन्य सामग्रीको प्रयोग घट्दै जाँदा तिनका स्थानीय नाम र प्रयोगसँग जोडिएका शब्दहरू पनि क्रमशः कमजोर हुन सक्छन् । यसरी हेर्दा वस्तुको क्षयसँगै लोकशब्दको क्षय पनि हुन सक्छ।

यो कुरा अझ महत्वपूर्ण हुन्छ किनकि एउटै वस्तुको नाम विभिन्न क्षेत्र र समुदायमा फरक हुन सक्छ। त्यसैले स्थानीय शब्दावलीलाई “गलत” वा “अमानक” भनेर हटाउनुको सट्टा त्यसलाई स्थानीय भाषिक सम्पदाका रूपमा अभिलेख गर्नु आवश्यक हुन्छ ।

पुराना वस्तुहरू इतिहासका स्रोत

पुरानो ढिकी केवल काठको एउटा संरचना होइन । यसले एउटा समयको खाद्य प्रशोधन र श्रम प्रणालीबारे जानकारी दिन सक्छ ।जाँतो केवल दुईवटा ढुंगा होइन। यसले घरमै अन्न पिस्ने प्रविधि र घरेलु उत्पादन प्रणाली देखाउँछ । भकारी केवल अन्न राख्ने साधन होइन । यसले अन्न भण्डारण, खाद्य सुरक्षा र कृषि अर्थतन्त्रको एउटा पक्ष देखाउँछ ।

डोको र नाम्लो केवल बोक्ने सामग्री होइनन् । तिनले पहाडी भूगोलमा मानिसले अपनाएको श्रम र यातायातको परम्परागत प्रणाली देखाउँछन् । चोयाबाट बनाइने डोको, डालो, थुन्से, मान्द्रो, ओरा, सुपो, नाङ्लो लगायतका सामग्रीले घरेलु उपयोगसँगै स्थानीय सीप र सानो स्तरको ग्रामीण अर्थतन्त्रको इतिहास पनि देखाउँछन् । कुनै परिवार वा समुदायले यस्ता सामग्री निर्माण गरेर आम्दानी गर्ने गरेको भए त्यसलाई पनि स्थानीय आर्थिक इतिहासकै एउटा हिस्सा मानेर अभिलेख गर्नुपर्छ ।

ठेकी र मदानीले पशुपालन, दूध प्रशोधन र खाद्य संस्कृतिको इतिहास बोकेका छन् । तकुवा, चरखा र तानले घरेलु कपडा उत्पादन र सीपको इतिहाससँग सम्बन्ध राख्छन् । हलो, जुवा, फाली, कोदालो, कुटो, हँसिया, खुर्पा र बञ्चरोले कृषि तथा श्रम संस्कृतिको इतिहास देखाउँछन् । त्यसैले यस्ता वस्तुहरूलाई “पुराना सामान” भनेर मात्र हेर्नु तिनको ऐतिहासिक महत्वलाई सीमित गर्नु हो ।

संरक्षण भनेको वस्तु मात्र जोगाउनु होइन

अब प्रश्न पुराना सामान फेरि दैनिक जीवनमा फर्काउने हो कि होइन भन्ने मात्र होइन । महत्वपूर्ण कुरा तिनको ज्ञान र इतिहास हराउन नदिनु हो ।

कुन वस्तुको स्थानीय नाम के थियो ? त्यो कसरी बनाइन्थ्यो ? कुन-कुन सामग्री प्रयोग हुन्थ्यो ? कसले बनाउँथ्यो ? कसले प्रयोग गर्थ्यो ? कुन काममा प्रयोग हुन्थ्यो ? कुन समयमा वा अवसरमा प्रयोग हुन्थ्यो ? त्यससँग कुन उखान, लोककथा, गीत, भनाइ वा पारिवारिक सम्झना जोडिएको थियो ?

यस्ता विवरण अभिलेख गर्नु आवश्यक छ । स्थानीय वृद्ध पुस्तासँग रहेको मौखिक ज्ञान र अनुभव अहिलेको महत्वपूर्ण स्रोत हो । धेरै कुरा लिखित अभिलेखमा नआएका हुन सक्छन् । त्यसैले वस्तुको फोटो, स्थानीय नाम, प्रयोग विधि, बनाउने सीप, प्रयोगकर्ताको अनुभव र मौखिक इतिहासलाई सँगसँगै अभिलेख गर्न सकेमा भविष्यमा गाउँको सामाजिक तथा सांस्कृतिक इतिहास बुझ्न महत्वपूर्ण सामग्री बन्न सक्छ ।

परिवर्तन र संरक्षणबीचको सम्बन्ध

आधुनिक जीवनलाई अस्वीकार गर्नु यस लेखको उद्देश्य होइन । आधुनिक शिक्षा, स्वास्थ्य, सडक, सञ्चार, विद्युत्, प्रविधि र रोजगारीका अवसरले ग्रामीण जीवनमा महत्वपूर्ण परिवर्तन ल्याएका छन् । मानिसले सुविधा खोज्नु स्वाभाविक हो । नयाँ प्रविधिले श्रम घटाएको छ र धेरै कामलाई सहज बनाएको छ । तर आधुनिकता स्वीकार गर्नु भनेको विगतको ज्ञान मेटाउनु होइन ।

पुरानो जाँतोको ठाउँ आधुनिक मिलले लिन सक्छ । गाग्रीको ठाउँ धाराले लिन सक्छ । टुकीको ठाउँ बिजुलीले लिन सक्छ । परम्परागत घरको ठाउँ आधुनिक घरले लिन सक्छ । डोकोको ठाउँ आधुनिक बोरा वा अन्य साधनले लिन सक्छ । तर ती परिवर्तनसँगै पुरानो वस्तु, त्यसको प्रयोग, निर्माण सीप, श्रम र शब्दको इतिहास पनि हराउन आवश्यक छैन ।

हामीले विकासलाई अगाडि बढाउँदै गर्दा आफ्नै परम्परा, संस्कृति र इतिहाससँग जोडिएका वस्तु तथा सीपलाई अभिलेख गर्न सक्यौँ भने परिवर्तन र संरक्षणबीच सन्तुलन कायम गर्न सकिन्छ।

अन्त्यमा

चारपाखे घरहरूको इतिहास वास्तवमा एउटा गाउँको जीवनको इतिहास हो । घरको बनोटमा स्थानीय भूगोल देखिन्छ । घरभित्रका सामग्रीमा उत्पादन र श्रम देखिन्छ । कृषि औजारमा प्रविधि देखिन्छ । भण्डारणका साधनमा खाद्य व्यवस्था देखिन्छ । घरेलु सामग्रीमा परिवारको जीवन देखिन्छ । चोयाका सामग्रीमा स्थानीय सीप र आम्दानीको इतिहास देखिन्छ । र ती सबै वस्तुका नाममा एउटा पुस्ताले अर्को पुस्तालाई हस्तान्तरण गरेको भाषा र स्मृति देखिन्छ ।

त्यसैले चारपाखे घरहरू हराउँदै जाँदा हामी केवल पुराना घर गुमाइरहेका छैनौँ । तिनसँग जोडिएको एउटा जीवनपद्धति, श्रम संस्कृति, स्थानीय सीप, घरेलु प्रविधि, सामाजिक स्मृति र लोकजीवनका धेरै शब्दहरू पनि प्रयोगबाट हराउँदै जाने अवस्थामा छन् ।

मानिसहरू गाउँबाट सहर र विदेश पुगेका छन् । गाउँ बदलिएको छ । घर बदलिएका छन्। खेतबारीको स्वरूप बदलिएको छ, काम गर्ने तरिका बदलिएको छ, भाषा पनि परिवर्तन हुँदैछ ।

परिवर्तन स्वाभाविक हो । तर परिवर्तनसँगै इतिहास हराउनु आवश्यक छैन । चारपाखे घरहरू भोलि गाउँमा नरहन सक्छन् । ढिकीको आवाज सुनिन छोड्न सक्छ, जाँतो नघुम्न सक्छ । भकारी प्रयोगमा नआउन सक्छ। डोको र नाम्लोको दैनिक आवश्यकता घट्न सक्छ। चोया र निगालोबाट सामग्री बनाउने पुरानो सीप नयाँ पुस्तामा हस्तान्तरण नहुन सक्छ ।

तर ती घर, ती वस्तु, ती सीप, ती श्रम र ती शब्दहरूले बोकेको मौलिक इतिहास भने अभिलेखमा बाँकी रहनुपर्छ । गाउँ बदलिनु स्वाभाविक हो, तर गाउँको मौलिक इतिहास हराउनु आवश्यक छैन ।

लेखक :

हुमराज सनार

गौमुखी-४,  बाग्पुलिबाङ्ग पुजा, प्युठान (हाल युएई)

प्रतिक्रिया

सम्बन्धित खवर