नौबहिनी गाउँपालिकाले बालबालिकाको शारीरिक तथा मानसिक विकास तथा समग्र स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले गत महिनाबाट सुरु गरेको नियमित स्वर्णबिन्दु प्राशन कार्यक्रममा बालबालिकाको सहभागिता उल्लेख्य रूपमा बढेको छ ।

आयुर्वेदिक पद्धतिअनुसार सञ्चालन भइरहेको कार्यक्रममा यस महिनामा ६२१ जना बालक र ६४३ जना बालिका गरी कुल १ हजार २ सय ६४ जना बालबालिकाले स्वर्णबिन्दु प्राशन सेवा लिएका छन् । गत महिनाबाट सुरु भएको कार्यक्रमको पहिलो महिनाको तुलनामा यसपटक सेवा लिने बालबालिकाको संख्या दोब्बरभन्दा बढी पुगेको हो ।

नौबहिनी गाउँपालिका–६, लुङ–बहानेस्थित बहाने आयुर्वेद औषधालयमा नियमित रूपमा सञ्चालन भइरहेको स्वर्णप्राशन कार्यक्रममा १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई लक्षित गरिएको छ । गाउँपालिकाले बालबालिकालाई स्वर्णप्राशनका लागि प्रत्येक महिना खलंगा जानुपर्ने अवस्था र त्यसबाट अभिभावक तथा बालबालिकाले व्यहोर्नुपर्ने झन्झटलाई मध्यनजर गर्दै गाउँपालिकामै नियमित सेवा उपलब्ध गराउने व्यवस्था गरेको जनाएको छ ।

स्वर्णबिन्दु प्राशन कार्यक्रमले आयुर्वेदिक पद्धतिअनुसार बालबालिकाको शारीरिक तथा मानसिक विकास, रोग प्रतिरोधात्मक क्षमता अभिवृद्धि तथा समग्र स्वास्थ्य प्रवर्द्धनमा सहयोग पुग्ने उद्देश्य राखेको गाउँपालिकाले जनाएको छ । कार्यक्रमअन्तर्गत बालबालिकालाई निश्चित तालिकाअनुसार नियमित रूपमा स्वर्णप्राशन गराइने व्यवस्था गरिएको छ । सेवा बिहान ७ बजेदेखि सञ्चालन हुने जनाइएको छ ।

बालबालिकाको सहभागिता पहिलो महिनाको तुलनामा उल्लेख्य रूपमा बढ्दै गएपछि गाउँपालिकाले कार्यक्रमप्रति अभिभावकको चासो बढेको जनाएको छ । गाउँपालिकाका अनुसार स्वर्णप्राशन कार्यक्रमको अर्को चरण आगामी कात्तिक १६ गते सञ्चालन हुनेछ । बालबालिकाको स्वास्थ्य प्रवर्द्धन तथा स्वस्थ, सक्षम र उज्ज्वल भविष्य निर्माणका लागि कार्यक्रमलाई निरन्तरता दिइने गाउँपालिकाले जनाएको छ ।









