पहाडका उकाली–ओराली, घना जंगल, पाखापखेरा र साना–साना बस्ती । कतै घरको आँगनमा मादलको ताल सुनिन्छ, कतै चाडपर्वमा मगर पोशाकमा सजिएका महिला–पुरुष देखिन्छन् । गाउँका मेलापर्व, नाचगान र सामाजिक संस्कारमा मगर समुदायको मौलिकता अझै जीवित छ । तर यही मौलिकताको एउटा महत्वपूर्ण आधार भने विस्तारै कमजोर हुँदै गएको छ-मगर भाषा ।
प्यूठानका विभिन्न क्षेत्रमा मगर समुदायको उल्लेख्य बसोबास छ । पुस्तौँदेखि यहाँ बस्दै आएका मगर समुदायले आफ्नो छुट्टै सामाजिक, सांस्कृतिक र धार्मिक परम्परा विकास गरेका छन् । मगर संस्कृतिको झल्को दिने भेषभूषा, बाजागाजा, नाचगान, चाडपर्व र संस्कार अझै देखिन्छन् । तर नयाँ पुस्ताले आफ्नै मातृभाषा बोल्न छाड्दै जाँदा भाषा पुस्तान्तरणको क्रम हराउदै गएको छ ।
मगर समुदायका अगुवाहरूका अनुसार भाषा हराउँदै जानु केवल एउटा भाषाको अन्त्य हुनु होइन, समुदायको इतिहास, मौलिक ज्ञान, लोकसाहित्य, संस्कार र पहिचानको एउटा महत्वपूर्ण पाटो हराउनु पनि हो ।
प्यूठानका बस्तीमा मगर इतिहास
मगर समुदायको प्यूठान आगमनलाई लामो ऐतिहासिक यात्रासँग जोडेर हेर्ने गरिन्छ । स्थानीय मगर अगुवाहरूका अनुसार करिब १२ सय वर्षअघि रुकुमको हुकाम–मैकुट क्षेत्रबाट मगरहरू प्यूठानतर्फ बसाइँ सरेका थिए ।
समयसँगै उनीहरूले जिल्लाका विभिन्न भूभागमा आफ्नो बस्ती विस्तार गरे । पहाडी भूगोलमा समुदायको बसोबास, खेतीपाती, पशुपालन र सामाजिक जीवनसँगै उनीहरूले प्रयोग गरेका थुप्रै स्थानका नाम समेत मगर भाषासँग जोडिएको स्थानीय बुझाइ छ ।
प्यूठानका कतिपय स्थानका नामको उत्पत्ति र अर्थ मगर भाषासँग जोडेर व्याख्या गरिन्छ । यसले पनि यहाँको भूगोलसँग मगर समुदायको पुरानो सम्बन्ध रहेको देखाउँछ ।
आज जिल्लाका धेरै ठाउँमा मगर समुदायको बाक्लो बसोबास छ । नौबहिनी गाउँपालिकाको स्याउलीवाङ, लिघा, डामृ, खबाङ, गौमुखी गाउँपालिकाको अर्खा, रजवारा र लिवाङलगायतका क्षेत्रमा मगर समुदायको उल्लेख्य उपस्थिति छ । तर विडम्बना के छ भने, समुदायको संख्या उल्लेख्य रहे पनि धेरै ठाउँमा मगर भाषा बोलिँदैन ।
भेषभूषा बाँकी छ, भाषा हराउँदैछ
मगर समुदायको पहिचानसँग जोडिएको मौलिक भेषभूषा अझै धेरै ठाउँमा प्रयोगमा छ । विशेषगरी माघे सकराती, मगर दिवस, विवाह, पूजाआजा, सांस्कृतिक कार्यक्रम तथा विभिन्न सामाजिक अवसरमा महिला–पुरुषले परम्परागत मगर पोशाक लगाउने गर्छन् । मगर महिलाको पहिरन, पुरुषको परम्परागत पोशाक, गहना तथा अन्य सांस्कृतिक सामग्रीले समुदायको मौलिकता झल्काउँछन् । तर पहिरनसँगै जोडिएको भाषा भने संकटमा छ।
प्यूठानका साविक हंसपुर क्षेत्रको सुजिनपूर, चावा तथा दाङबाङको मान्द्रेलगायत केही स्थानमा अझै मगर भाषा बोल्ने समुदाय भेटिन्छन् । तर जिल्लाका धेरै मगर बस्तीमा दैनिक व्यवहारको भाषा नेपाली भइसकेको छ ।
घरमा आमाबुबाले नेपाली बोल्ने, विद्यालयमा नेपाली माध्यममा पढाइ हुने, रोजगारी र बजारमा नेपाली भाषाकै प्रयोग हुने तथा अन्य समुदायसँगको निरन्तर सम्पर्क बढ्दै जाँदा नयाँ पुस्ताले मगर भाषा सिक्ने वातावरण कमजोर भएको मगर अगुवाहरू बताउँछन् । भाषा बोल्ने पुस्ता घट्दै जानु र भाषा नबोल्ने पुस्ता बढ्दै जानु नै अहिलेको मुख्य चुनौती हो ।
भाषा किन हराउँदैछ ?
भाषा हराउनुका पछाडि एउटा मात्र कारण छैन ।
बसाइँसराइ, अन्तरजातीय सामाजिक सम्बन्ध, विद्यालयमा नेपाली भाषाको प्रभुत्व, रोजगारीका लागि गाउँबाहिर जाने क्रम, सञ्चारमाध्यममा नेपाली भाषाको व्यापक प्रयोग तथा घरपरिवारमै मातृभाषा प्रयोग कम हुनुजस्ता कारणले मगर भाषाको पुस्तान्तरण कमजोर हुँदै गएको देखिन्छ ।
पहिले हजुरबा–हजुरआमा, आमाबुबा र नातिनातिनाबीच मातृभाषामै कुराकानी हुने अवस्था भएको पाईन्छ । अहिले कतिपय परिवारमा तीन पुस्ताबीचको संवादसमेत नेपालीमै हुन थालेको छ । भाषा सिकाउने औपचारिक संरचना कमजोर हुँदा बच्चाले समुदायको भाषा स्वाभाविक रूपमा सिक्ने वातावरण पनि हराउँदै गएको छ ।
मगर समुदायका अगुवाहरूको चिन्ता यही हो-भाषा बोल्ने मानिस बाँकी रहँदा पनि भाषा बोल्ने नयाँ पुस्ता तयार भएन भने केही दशकपछि भाषा आफैँ इतिहास बन्न सक्छ । तसर्थ सम्बिन्धत संघसंस्था तथा अगुवाहरुले भाषाको प्रयोगलाई कायम राख्न र इतिहास जोगाउन प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने जरुरी देखिन्छ ।
धर्म, संस्कार र चाडपर्वमा मौलिकता
मगर समुदायको सामाजिक जीवन विभिन्न संस्कार र सांस्कृतिक परम्परासँग जोडिएको छ । जन्मदेखि मृत्यु संस्कारसम्म समुदायमा आफ्नै सामाजिक मान्यता, परम्परा र अभ्यासहरू छन् ।
माघे सकराती मगर समुदायको महत्वपूर्ण पर्व हो । यस अवसरमा आफन्त तथा समुदायबीच भेटघाट, खानपान, नाचगान तथा सांस्कृतिक कार्यक्रम गरिन्छ ।
त्यस्तै फागुन १५ लाई मगर समुदायले मगर दिवसका रूपमा मनाउँदै आएको छ । यस्ता अवसरले समुदायलाई एक ठाउँमा जोड्नुका साथै आफ्नो भाषा, भेषभूषा, कला र संस्कृतिको प्रदर्शन गर्ने अवसर पनि प्रदान गर्ने गर्छन् ।
मादल लगायतका परम्परागत बाजा, नाचगान, लोकगीत र सामूहिक सांस्कृतिक गतिविधि मगर समुदायको पहिचानका महत्वपूर्ण पक्ष हुन् । तर संस्कृति प्रदर्शन गर्ने कार्यक्रम बढ्दै जाँदा त्यसको मूल आधार-भाषा, मौलिक ज्ञान र परम्परागत सामाजिक अभ्यास—पनि जोगाउनुपर्ने आवाज उठिरहेको छ ।
मादलको ताल छ, मौलिक शब्द हराउँदैछन्
गाउँमा सांस्कृतिक कार्यक्रम हुँदा मादल बज्छ । मगर पोशाकमा युवायुवती नाच्छन् । परम्परागत साइला भाका, सालि ज्यू, निरमाया, जस्ता गीत गाइन्छन् र ति गितमा प्राय हा…, हे…, बरै… , धोवि… , मोया…, साइला… जस्ता शब्दहरुबाट सुरु गरेको पाईन्छ । यो संगै कौराह, सोरथि, मारुनी, तपाली नाचगान गरिन्छ । तर ती गीतका शब्दको अर्थ बुझ्ने पुस्ता भने घट्दै गएको छ ।
यही अवस्थाले एउटा गम्भीर प्रश्न जन्माएको छ-भाषा नबोली संस्कृति कति पुस्तासम्म जोगाउन सकिएला ?
भाषा केवल सञ्चारको माध्यम होइन । यसमा समुदायको इतिहास, लोककथा, उखान-टुक्का, गीत, धार्मिक विश्वास, कृषि ज्ञान, प्रकृतिसँगको सम्बन्ध र पुर्खाको अनुभवसमेत सुरक्षित हुन्छ । तव मात्र आदिवासीहरुको जल, जमिन र जंगलसंगको सम्बन्ध जोगाउन सकिन्छ । त्यसैले मगर भाषा संरक्षणलाई केवल भाषा संरक्षणको विषय नभई सांस्कृतिक सम्पदा संरक्षणको विषयका रूपमा लिनुपर्ने देखिन्छ।
परम्परागत जीविकाबाट बदलिँदो जीवनशैलीसम्म
प्यूठानका मगर समुदायको परम्परागत जीवन खेतीपाती, पशुपालन, वनजंगलमा आधारित स्रोत तथा स्थानीय श्रमसँग जोडिएको थियो । पहाडी भूगोलमा मकै, कोदो, गहुँ, धानलगायतका कृषि उत्पादन, पशुपालन र घरेलु श्रम ग्रामीण मगर परिवारको जीवनयापनका आधार थिए ।
तर अहिले जीवनशैली परिवर्तन भएको छ । वैदेशिक रोजगारी, आन्तरिक बसाइँसराइ, सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारी, व्यापार, शिक्षा र अन्य पेशा–व्यवसायमा मगर समुदायको सहभागिता बढेको छ ।
आर्थिक अवसर खोज्दै युवा पुस्ता गाउँबाहिर जाने क्रम बढ्दा गाउँमा वृद्ध पुस्ता र बालबालिका मात्र रहने अवस्था कतिपय बस्तीमा देखिन्छ । यसले आर्थिक अवसर विस्तार गरे पनि परम्परागत ज्ञान र भाषा पुस्तान्तरणमा भने चुनौती थपेको छ ।
पर्यटनसँग जोडिँदै मगर संस्कृति
मगर संस्कृति संरक्षणसँगै यसलाई पर्यटनसँग जोड्ने प्रयास पनि भएका छन् । स्वर्गद्वारी नगरपालिकाको धनबाङमा पर्यटन मन्त्रालय, लुम्बिनी प्रदेश तथा स्थानीय बासिन्दाको सक्रियतामा मगर सामुदायिक होमस्टे सञ्चालन गरिएको छ ।
होमस्टेमा मगर समुदायका परम्परागत बाजा, महिला तथा पुरुषका भेषभूषा र समुदायको संस्कृति झल्काउने लोपोन्मुख सामग्री राखिनुका साथै संस्कृतिसंग जोडिएर नाचगान गरि आगन्तुक पाहुनालाई रमाईलो प्रदान गरिन्छ । यस्ता प्रयासले संस्कृति संरक्षणलाई आयआर्जनसँग जोड्न सक्ने सम्भावना देखाउँछन्।
पर्यटकलाई गाउँमा ल्याउने, स्थानीय खाना खुवाउने, परम्परागत नाच–गान देखाउने, मौलिक पोशाक तथा संस्कृतिको परिचय गराउने र स्थानीय उत्पादन बिक्री गर्ने हो भने संस्कृति आफैँ पनि आर्थिक स्रोत बन्न सक्छ । तर पर्यटनका नाममा संस्कृति प्रदर्शन मात्र गर्नेभन्दा यसको मौलिकता र समुदायको स्वामित्व जोगाउनु उत्तिकै आवश्यक छ ।
विद्यालयमा पुग्दै मगर भाषा
भाषा संरक्षणको सबैभन्दा प्रभावकारी माध्यममध्ये एउटा विद्यालय हुन सक्छ । सरुमारानी गाउँपालिका ४ नम्बर वडाको श्री जनता माध्यमिक विद्यालय, श्री श्रमरानी प्रावि र ३ नम्बर वडाको श्री सत्य प्रावि सुजिनपुरमा आधारभूत तहसम्म २०७५ सालदेखि मगर भाषाको कक्षा सञ्चालन हँदै आएको छ । गाउँपालिकाले त्यसका लागि आर्थिक सहयोग गर्दै आएको र खासगरि मगर समुदायको भेषभुषासंगै भाषा जोगाउने उद्देश्ले कक्षा सञ्चालन गरेको सरुमारानी गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता चसन्ता सोमै मगरले बताउँनुभएको छ ।
स्थानीय तहले माघे सकराती र मगर दिवसजस्ता कार्यक्रमका साथै विद्यालयमा मगर भाषा पठनपाठनका लागि बजेट विनियोजन गर्न थालेका छन् । “भेषभूषा र भाषा संरक्षणमा जोड दियौँ भने मात्र हाम्रो जातीय अस्तित्व जोगिन्छ,” अध्यक्ष मगरको भनाइ छ ।
विद्यालयमा भाषा पढाउन सुरु गर्नु सकारात्मक सुरुआत भएता पनि त्यसलाई प्रभावकारी बनाउन पाठ्यक्रम, पाठ्यपुस्तक, दक्ष शिक्षक, नियमित कक्षा र घरपरिवारमा प्रयोग हुने वातावरण आवश्यक हुन्छ । यस्तै नौबहिनी गाउँपालिकाले पनि पछिल्लो चालु आ.व.मा मगर भाषा कक्षा सञ्चालनका लागि बजेट विनियोजन गरि कार्यक्रम अघि सारेको गाउँपिलका अध्यक्ष दिल बहादुर थापाले जानकारी दिनुभएको छ । मगर समुदायको बाहुल्यता भएको गाउँमा मातृभाषा लोप हुनु पहिचान लोप हुनु हो भन्ने उद्देश्यले विद्यालयमा भाषा कक्षा सञ्चालन गर्ने योजना बनाएको उहाँको भनाई छ ।
नेपाल मगर संघका अध्यक्ष भिमेश कुमार घर्ती मगरले मगर समुदायको मातृभाषा संरक्षण र पुस्तान्तरणका लागि संघले स्थानीय तहहरूसँग समन्वय गरी भाषा विज्ञहरूको सहभागितामा भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउनुभएको छ।
उहाँका अनुसार भाषा प्रशिक्षणलाई सिकाइमा मात्र सीमित नराखी दैनिक बोलीचाली र व्यवहारमा प्रयोग हुने वातावरण सिर्जना गर्न नियमित अन्तरक्रिया, छलफल तथा अभ्यासलाई निरन्तरता दिइनेछ। नयाँ पुस्तालाई मातृभाषासँग जोड्दै घरपरिवार, समुदाय र सार्वजनिक जीवनमा भाषाको प्रयोग बढाउन आवश्यक रहेको उहाँको भनाइ छ।
“मगर समुदायको पहिचान केवल भेषभूषा र संस्कृतिले मात्र पूर्ण हुँदैन, मातृभाषा पनि हाम्रो पहिचानको महत्वपूर्ण आधार हो। त्यसैले भेषभूषा, संस्कार र संस्कृतिसँगै मातृभाषा संरक्षण र पुस्तान्तरणका लागि नेपाल मगर संघ निरन्तर सक्रिय रहनेछ,” अध्यक्ष घर्ती मगरले भन्नुभयो।
बजेट छ, कार्यान्वयनको प्रश्न छ
प्यूठान नगरपालिका, स्वर्गद्वारी नगरपालिका, गौमुखी गाउँपालि, झिमरुक गाउँपालिका, मल्लरानी गाउँपालिका, माण्डवी गाउँपालिका र ऐरावती गाउँपालिकाले पनि मगर समुदायलाई लक्षित गर्दै भाषा तथा भेषभूषा संरक्षणका लागि बजेट विनियोजन बजेट विनियोजन गरे भाषा लोप हुने अवस्था सिर्जना हुने थिएन ।
मुलुकको सामाजिक तथा राजनीतिक परिवर्तनमा मगर समुदायको योगदान महत्वपूर्ण छ । अब राजनीतिक परिवर्तनसँगै समुदायको मौलिक पहिचान संरक्षणमा पनि ध्यान दिनुपर्ने आवश्यकता छ ।
“आफ्नो भाषा, कला, भेषभूषा, संस्कार र संस्कृतिलाई लोप हुन नदिन हाम्रो चेतना स्तर बढाउनुपर्छ,” तबमात्र संस्कृति संरक्षणको जिम्मेवारी सरकारको मात्र होइन, समुदाय स्वयंको पनि हो भन्ने कुरा महसुस हुन्छ ।
“मगर संस्कृति रक्षा अरू कुनै जाति र समुदायले गर्दैनन्, समुदाय आफैँले गर्ने हो,” यसर्थ जातीय पहिचान जोगाउन मगर समुदायले आफ्नै कार्यक्रमहरु अग्रणि भूमिकामा राख्नुपर्दछ ।
नयाँ पुस्ता फर्किएला ?
प्यूठानका मगर गाउँमा ? अहिले सबैभन्दा ठूलो प्रश्न यही हो, नयाँ पुस्ताले आफ्नो भाषा र संस्कृति कति अपनाउँछ ?
शहरमा पढ्ने, सामाजिक सञ्जालमा रमाउने र रोजगारीका लागि देश–विदेश पुग्ने नयाँ पुस्ताको जीवनशैली पुरानो पुस्ताभन्दा फरक छ । तर आधुनिकता अपनाउनु र आफ्नो पहिचान त्याग्नु एउटै कुरा होइन ।
मगर समुदायका अगुवाहरू नयाँ पुस्ताले शिक्षा, प्रविधि र आधुनिक जीवनशैलीसँगै आफ्नो भाषा, इतिहास, संस्कार र संस्कृति पनि बोक्नुपर्ने बताउँछन् ।
नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर पनि आयातित संस्कृतिको अन्धानुकरणभन्दा आफ्नो जातजातिको मौलिक भेषभूषा र संस्कृतिको प्रयोगलाई प्राथमिकता दिनुपर्ने धारणा राख्छन् ।
संरक्षण अब दस्तावेजीकरणबाट पनि
मगर भाषा र संस्कृतिको संरक्षणका लागि अब केवल सांस्कृतिक कार्यक्रम आयोजना गरेर पुग्ने अवस्था छैन। प्यूठानमा बोलिने मगर भाषाको स्थानीय स्वरूप, शब्दकोश, लोकगीत, लोककथा, उखान-टुक्का, स्थाननाम, परम्परागत ज्ञान, संस्कार, बाजागाजा, नाच, भेषभूषा तथा ऐतिहासिक सामग्रीको दस्तावेजीकरण आवश्यक छ ।
जिल्लाका कुन–कुन ठाउँमा मगर भाषा बोलिन्छ ? कति परिवारले बोल्छन् ? कुन पुस्ताले कति प्रयोग गर्छ ? कुन शब्द वा वाक्यांश हराउँदैछन् ? कुन स्थाननाम मगर भाषासँग सम्बन्धित छन् ? यी प्रश्नको तथ्यगत अध्ययन हुन सके भविष्यका पुस्ताका लागि महत्वपूर्ण अभिलेख बन्न सक्छ ।
स्थानीय तह, विद्यालय, नेपाल मगर संघ, भाषा विज्ञ, अनुसन्धानकर्ता र समुदायबीच सहकार्य गरेर स्थानीयस्तरमै भाषा संरक्षणको योजना बनाउन सकिन्छ ।
पहिचानको अन्तिम आधार
प्यूठानका मगर गाउँमा अझै मादल बज्छ । चाडपर्वमा मगर पोशाक लगाइन्छ। माघे सकराती मनाइन्छ । मगर दिवसमा समुदाय भेला हुन्छ । होमस्टेमा मगर संस्कृति देखाइन्छ ।
तर यी सबैसँगै एउटा आवाज हराउँदैछ-मातृभाषाको आवाज ।
भेषभूषाले बाहिरी पहिचान देखाउँछ । संस्कृति र संस्कारले सामूहिक स्मृति जोगाउँछन् । तर भाषा भने समुदायको आत्मासँग जोडिएको हुन्छ । प्यूठानका मगर समुदायका लागि अब चुनौती संस्कृति मनाउने मात्र होइन, संस्कृतिको भाषा बचाउने पनि हो ।
घरमा छोराछोरीसँग मातृभाषामा बोल्ने, विद्यालयमा भाषा पढाउने, गाउँमा भाषा प्रयोग गर्ने, पुराना पुस्ताबाट शब्द र लोककथा संकलन गर्ने तथा स्थानीय तहले संरक्षणका कार्यक्रमलाई निरन्तरता दिने हो भने हराउँदै गएको भाषा फेरि सुनिन सक्छ ।
नत्र केही वर्षपछि प्यूठानका मगर गाउँमा मगर पोशाक त देखिएला, मगर संस्कृति झल्काउने कार्यक्रम पनि होलान्, तर त्यो संस्कृतिको मौलिक भाषा बोल्ने मानिस खोज्नुपर्ने अवस्था आउन सक्छ।
मगर समुदायको पहिचान जोगाउने अभियान त्यसैले भेषभूषाबाट मात्र होइन, भाषाबाट सुरु हुनुपर्ने देखिन्छ ।




