
जिल्लाको स्वर्गद्वारीको नगरपालिकामा रातो टिन वितरणमा चरम लापवाहि भएको स्थानीयले गुनासो गरेका छन् । गत आ.व. २०७९/०८० मा नगरपालिकाको वडा नं. २ र ४ टिन वितरणमा लापरवाहि गरिएको पाइएको हो । वडाबाट निर्वाचित वडा अध्यक्षले आस्थाका आधारमा आफू निकटका व्यक्तिलाई रातो टिन वितरण गरेका हुन् ।
बिपन्न र खरका छाना बिस्थापित गर्ने कार्यक्रम अन्तर्गत टिनका छाना लगाउने कार्यक्रम रहेपनि टिन पाउनेहरुले गोठ, पाली, बरन्डा र टहरो छाएका छन् । फरक पार्टीमा आस्था राखेकै आधारमा वडाले घर निर्माण सम्पन्न गरेका घरधुरीले रातो टिन पाएका छैनन् ।
स्वर्गद्वारी नगरपालिकाले बिगत कार्यकाल देखि नै खरको छाना बिस्थापित कार्यक्रम राखि सुरुको आ.व. मा वडा नं. ४, ८, ७ र ९ मा रातो टिन बितरण गरेको थियो ।
त्यसैगरी दोस्रो आ.व.मा वडा नं. ५, ६ र ३ मा वितरण गरिएको हो । नगरपालिकाले गत आ.व. मा वडा नं. १ र २ लाई बितरण गर्ने कार्यक्रम रहेपनि खरका छाना बिस्थापित भएको वडा नं. ४ मा पहुँचको आधारमा पुनः वितरण कार्यक्रम राखेको समेत पाइएको छ ।
वडा नं. ४ मा ढलान भएका घरको खोर, गोठ, पालि र बरन्डा छाउन समेत प्रयोग गरेको स्थानीयको गुनासो छ । उनिहरुको अनुसार कुखुराको खोर छाउन समेत रातो टिनको प्रयोग गरिएको छ ।
रातो टिन वितरणमा विवाद आएपछि खोर, गोठ छाएकाहरुले निलो रङ लगाउन थालेका छन् । गत आ.व. २०७९/०८० कार्यक्रम अन्तर्गत वितरण गरिएको टिनको प्रतिवेदन वडा कार्यालयले टिन वितरणमा विवाद आएपछि नगरपालिकालाई बुझाउन सकेको छैन ।
तस्बिर आफै बोल्छ । जस्ता पाता वितरणमा लापरवाहिका केहि नमुना दृश्यहरु हेर्नुहोस ।