प्युठानको नौबहिनी गाउँपालिका-५ डाम्री गावै निवासी अन्दाजी २२ वर्षीया दुर्गा गिरिको भिरबाट लडेर मृत्यु भएको छ ।
स्थानीयका अनुसार गिरि आइतबार भिरबिसौना नजिकै रहेको अधेरीखोला आसपासको क्षेत्रमा घाँस काट्न गएकी थिइन् । घाँस काट्ने क्रममा अचानक भिरबाट लडेर उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ ।
घटनापछि स्थानीयवासी तथा परिवारजन शोकमा डुबेका छन् । मृतकका श्रीमान वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा रहेका छन् भने उनका अन्दाजी ४ वर्षीय एक छोरा रहेका छन् ।
घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया सम्बन्धित निकायबाट भइरहेको जनाइएको छ ।
यस दुःखद घटनाले गाउँभर शोक छाएको छ भने स्थानीयवासीले भिरालो तथा जोखिमयुक्त क्षेत्रमा घाँस दाउरा संकलन गर्दा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् ।






