प्युठान जिल्लाको निजी क्षेत्रको सबैभन्दा ठूलो छाता संगठन प्युठान उद्योग वाणिज्य संघ अन्तर्गत नौबहिनी बजार क्षेत्रको १८ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । नौबहिनी गाउँपालिका अन्तर्गत रहेको गंगा माध्यमिक विद्यालय मा आयोजित साधारण सभामा व्यवसायी, समाजसेवी तथा विभिन्न सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य संघ प्युठानका बरिस्ठ उपाध्यक्ष कृष्ण भक्त गिरिले संघको सचिवालय भवन निर्माणका लागि २५ हजार पाँच सय, अधेरीखोला निवासी व्यवसायी रमेश के. सी.ले २५ हजार पाँच सय पच्चीस रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको थियो । त्यस्तै, पुराना व्यवसायी तथा समाजसेवी खिम बहादुर के.सी. (शंकर)ले पहिले भवन निर्माणका लागि ४ आना जग्गा प्रदान गरेर भवन निर्माणको अन्तिम चरणमा पुगेपनि नापी सम्बन्धी समस्या आएमा थप ४ आना जग्गा उपलब्ध गराउने घोषणा गर्नुभएको थियो ।
साधारण सभामा संघले निर्माणाधीन सचिवालय भवन सम्पन्न गर्न अझै थप सहयोग आवश्यक रहेको भन्दै व्यवसायी तथा सहयोगी मनहरुलाई सहयोगका लागि आग्रह गरेको थियो । कार्यक्रममा संघका सचिव कृष्ण के.सी. ले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो भने कोषाध्यक्ष मनिषा पुन मगर ले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।
सभामा सहभागी व्यवसायीहरुले बजार क्षेत्रका व्यवसायीले भोग्दै आएका विभिन्न समस्या, चुनौती तथा समाधानका उपायबारे सुझाव राख्दै व्यवसायिक वातावरण सुधारका लागि सरोकारवालाको ध्यानाकर्षण गराएका थिए ।







