विश्व भेटेरिनरी दिवसको अवसर पारेर नौबहिनी गाउँपालिका पशुसेवा शाखाले सामुदायिक तथा छाडा कुकुरको व्यवस्थापनका लागि एक कार्यक्रम सम्पन्न गरेको छ ।

हरेक वर्ष अप्रिल महिनाको अन्तिम शनिबार मनाइने विश्व भेटेरिनरी दिवस यस वर्ष बैशाख १२ गते परेको सन्दर्भमा गाउँपालिकाले नौबहिनी बजार क्षेत्र वरपरका कुकुरबाट उत्पन्न हुन सक्ने जोखिम न्यूनीकरण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रम अन्तर्गत भाले तथा पोथी दुवै कुकुरको बन्ध्याकरण, रेविज रोग विरुद्ध खोप लगाउने तथा आवश्यक अन्य उपचारात्मक सेवाहरू प्रदान गरेको छ । जस अन्तर्गत ८ वटा भाले र ६ वटा पोथी कुकुरको बन्ध्याकरण, २२ वटा कुकुरलाई रेविज विरुद्धको खोप, २२ वटा कुकुरलाई खैरो रोग विरुद्धको खोप लगायत अन्य उपचारात्मक सेवाहरू प्रदान गरेको छ ।

यस अभियानले कुकुरको अनियन्त्रित वृद्धि, रेविजको जोखिम तथा मानव–पशु द्वन्द्व कम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।






