प्युठानको नौबहिनी गाउँपालिका–१ स्याउलिबाङ स्थित नौबहिनी स्पोर्ट्स क्लबले पछिल्लो समय पर्यटकको रोजाइ बन्दै गएको कोठीभिर क्षेत्रलाई अझ सहज र व्यवस्थित बनाउँदै पर्यटन प्रवर्द्धन अभियानलाई तीव्र बनाएको छ ।
क्लबले करिब ६० हजार रुपैयाँको लगानीमा कोठीभिर पुग्ने मार्गमा विभिन्न स्थानमा नामाङ्कन तथा दिशासूचक बोर्डहरू स्थापना गरेको छ । क्लबका अध्यक्ष शिव घर्ती मगर (जोशन)का अनुसार स्थानीय युवाहरूको सक्रियतामा ठाउँ–ठाउँमा बोर्ड राखिएको हो । टाढा–टाढाबाट आउने पर्यटकहरू बाटो अलमलिने र गलत मार्ग रोज्दा कष्टकर यात्रा गर्नुपर्ने अवस्थालाई ध्यानमा राख्दै बोर्डमा स्थानको नाम, उचाइ तथा स्पष्ट दिशा संकेत गरिएको उहाँले बताउनुभयो ।
यस पहलले कोठिभिर भ्रमणलाई सहज मात्र नभई सुरक्षित समेत बनाएको छ । पछिल्लो समय प्राकृतिक सौन्दर्य, दृश्यावलोकन र पदयात्राका लागि उपयुक्त गन्तव्यका रूपमा कोठिभिरले पर्यटकको मन जित्दै आएको छ । पर्यटन प्रवर्द्धनलाई थप प्रभावकारी बनाउन क्लबले सरसफाइ अभियान, विश्राम स्थल (View point) निर्माण, सूचना केन्द्र स्थापना तथा स्थानीय संस्कृतिसँग जोडिएका कार्यक्रम सञ्चालन गर्ने योजना समेत अघि सारेको छ । यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने विश्वास गरिएको छ ।
यो सङ्गै दाङ र प्युठान जोड्ने प्रमुख क्षेत्रहरू भालुबाङ, चकचके, बाग्दुला तथा बहाने लगायतका स्थानहरूमा नक्सासहितका सूचना बोर्ड राख्ने तयारी भइरहेको अध्यक्ष मगरले जानकारी दिनुभयो । स्थानीय युवाहरूको यस्तो पहलले कोठिभिरलाई केवल घुम्ने स्थल मात्र नभई व्यवस्थित, सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।
तस्बिरहरु:








