ट्रेन्डीङ्ग

प्युठानमा आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको माहोल बढ्दै गएको छ । यसैबीच नेकपा (एमाले) र नेपाली कांग्रेसका उम्मेदवारले एक अर्कालाई शुभकामना साटासाट गर्नुभएको छ । मंगलबार मुख्य निर्वाचन अधिकृतको कार्यालय खलंगामा उम्मेदवारी मनोनयन दर्ता गरेपछि उहाँहरुले एकअर्कालाई शुभकामना दिने क्रममा पार्टी कार्यकर्ताहरु समेत उत्साहित देखिएका थिए ।

नेकपा (एमाले)को तर्फबाट सूर्य बहादुर थापा क्षेत्री र नेपाली कांग्रेसको तर्फबाट प्रा. डा. गोविन्दराज पोख्रेल चुनावी मैदानमा उत्रिनुभएको छ । २०७४ को निर्वाचनमा बाम गठबन्धनका कारण पोख्रेल पराजय हुनुभयो भने २०७९ मा भएको पाँच दलको गठबन्धनका कारण पोख्रेलले उम्मेदवारी नै दिन पाउनुभएको थिएन । २०७४ को निर्वाचनमा प्यूठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी हुनुभएको थियो । २०७९ को निर्वाचनमा भने नेकपा एमालेका थापा विजयी हुनुभयो ।

फगुन २१ को निर्वाचनका लागि नेपाली कम्युनिस्ट पार्टीको प्रतिनिधित्व गर्दै कृष्णध्वज खड्काले मनोनयन दर्ता गर्नुभएको छ । पार्टीमा आवद्ध जेन-जि युवा प्रेम बहादुर विश्वकर्मा सहित ७ जनाको नाम सिफारिस भएपनी खड्का र भोज बिक्रम बुढा मगरको नाम लामो समयसम्म टुंगो लागेको थिएन । अन्तिममा केन्द्रिय समितिबाट खड्काले टिकट पाएपछि बुढा मगरले सामाजिक सञ्जाल मार्फत असन्तुष्टि व्यक्त गरेका थिए ।

यस्तै राष्ट्रिय जनमोर्चाबाट तिलक जिसि, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुसान्त वैदिक, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट धनेश्वर पण्डित, नेकपा (माओवादी)बाट सीता बि. क. (सम्झना), लोकतान्त्रिक प्रगतिशील पार्टीबाट श्याम गहतराज, नेपाली जनता दलबाट बिमल पोखरेल र श्रम संस्कृति पार्टीबाट गोबिन्द गिरी लगायत १४ दलले एकल उम्मेदवारी मनोनयन दर्ता गराए छन् ।

प्युठान जिल्लामा विगतका निर्वाचनमा गठबन्धन गरि चुनावी मैदानमा उत्रिएका दलहरु यसपालिको निर्वाचनमा भने सबै दलले छुट्टाछुट्टै उम्मेदवारी दर्ता गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय