ट्रेन्डीङ्ग

प्युठान । अहिले कोरोना संक्रमणको जोखिमले सवै जना सजग र सचेत बनिरहेका छन् । दैनिक संक्रमणको संख्या बढीरहेका बेला जिल्लामा पनि यसबारे चासो र चिन्ता थपिदै गएको छ । जसले गर्दा सूचना थाहा पाउन हामी एक कदम अगाडी बढिरहेका छौं । प्यूठानमा हालसम्म कुनै व्यक्तिमा संक्रमण देखिएको छैन । तर जिल्लामा १३ जना व्यक्तिमा ¥यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) जाँचमा पोजेटिभ देखिएपछि जिल्लावासीको चिन्ता र चासोको विषय थप बढेको छ । आरडीटी पोजेटिभ आएका २ जनाको पीसीआरमा कोरोना नभएको पुष्टि भइसकेको छ । तर केहिदिन पहिले ११ जनाको रिपोर्ट प्रति सवैको चासो बढ्यो ।

 

घटना के थियो

प्यूठान नगरपालिकाको मरन्ठाना स्थित विभिन्न क्वारेन्टाइनमा बसेका ११ जनामा आरडीटी पोजेटिभ देखिएपछि उनीहरुसँगै रहेका १७ सहित २८ जनाको स्वाव नमुना संकलन गरि राप्ती विज्ञान स्वास्थ्य प्रतिष्ठान दाङमा पठाइएको थियो । त्यसको नतिजा विहीबार दिउँसोसम्म आइपुग्ने भन्दै सवैले चासो राखिरहेका थिए । मैले पनि बेला बेलामा पीसीआर रिपोर्ट आयो कि आएन भनेर साथीहरु र स्वास्थ्य कार्यालयका कर्मचारीसँग सोधिरहेको हुन्थे । तर चार बजेसम्म स्वास्थ्य कार्यालयमा रिपोर्टको जानकारी प्राप्त भइसकेको थिएन ।

 

बिहिवार पहिलो पटक रक्तदान गर्नका लागि ब्लड बैंक पुगेको थियौ हामी । जिल्ला अस्पतालमा उपचाररत एक सुत्केरी महिलालाई वी पोजेटिभ रगत आवश्यक परेकाले रक्तदान मैले पनि गरे । सँगै साथीहरु विजयसिंह भारती,  प्रज्वल पहाडी र हरि बस्नेत लगायतका साथीहरु हुनुहुन्थ्यो । रक्तदान गरेपछि पीसीआर रिपोर्ट आयो होला कि भनेर नजिकैको स्वास्थ्य कार्यालय गयौँ । कार्यालयमा पुगेर स्वास्थ्य कार्यालय प्रमुख विशाल सुवेदी, कौशल वैद्य, पुष्कल श्रेष्ठसँग भेट गर्यौ । त्यतिन्जेलसम्म नजिता आइसकेको थिएन । कार्यालय प्रमुख सुवेदीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुनः फोन गर्नुभयो । यसअघि पनि फोन गरिरहनुभएको थियो । तर रिपोर्ट नआएको जानकारी आयो ।

 

प्रमुख सुवेदीलाई तारान्तार फोन आइरह्यो । पत्रकार साथी र अन्य व्यक्तिहरुले सुवेदीलाई फोन गरेर नतिजाको बारेमा सोधिरहेका थिए । सवैको रिपोर्ट नेगेटिभ आयो रे…… पीसीआर रिपोर्ट नेगेटिभ आएको हो ? यस्तै यस्तै प्रश्न निरन्तर आइरहेको थियो । हामी त्यही बसेर यी सवै अवस्था बारे कुराकानी गरिरहेका थियौं । एकैछिनमा फेसबुक वालभरी देखिन थाल्यो, आरडिटी पोजेटिभ आएका ११ जनाकै पिसिआर रिपोर्ट पनि नेगेटिभ, प्यूठानको रिपोर्ट सबै नेगेटिभ यस्तै यस्तै । यस्तो आयो रे भन्दै हामी छलफल गर्दा सुवेदीले भन्नुहुन्थ्यो स्रोत कस्को राखेका छन् ? हामीलाई यहाँ रिर्पोट आइसकेको छैन कसरी जानकारी आयो । त्यसबीचमा पटक पटक प्रतिष्ठानको ल्याव,  प्रशासन शाखामा सम्पर्क गर्दै आधिकारीक पुष्टि गर्ने काम सुवेदीले गरिरहनुभयो ।

 

एकैछिनमा प्रतिष्ठानको विज्ञप्ती आयो । जसमा १०५ मध्ये ९४ को रिर्पोट आएको र ११ जनाको रिर्पोट आउन बाँकी जाँच भैरहेको छ भनेर । त्यतिवेलासम्म कार्यालयमा मौखिम रुपमा २८ मध्ये प्यूठानका १७ जनाको रिर्पोट नेगेटिभ आयो । ११ जनाको रिपोर्ट आएको छैन भन्नेसम्म थाहा भयो । त्यसमा पनि ११ जना को हुन भन्ने कौतुहलता रहिरह्यो । त्यसपछि कार्यालयको ईमेलमा रिपोर्ट आयो जम्मा ८ जनाको मात्र । यसबीचमा जिल्लाका ११ जनाको रिर्पोट नेगेटिभ भनेर सूचना फेसबुक र फोनका माध्यमबाट जिल्लाभर फैलिसकेको थियो । तर कार्यालयमा फोन गरेर सोध्ने सवैलाई सुवेदीले होइन हामीलाई आधिकारीक जानकारी आएको छैन भनेर भनिरहनुपरेको थियो । क्वारेन्टाइनमा बसेका व्यक्तिसम्म अनाधिकृत रुपमा नेगेटिभ रिपोर्ट आएको खवर पुगिसकेको थियो ।

 

प्रहरी प्रशासनबाट समेत आधिकारिक जानकारी सोधिरहेका थिए । तर कार्यालयमा आधिकारिक जानकारी आईपुगेको थिएन । तर फेसवुकमा आफूखुशी स्रोत प्रयोग गर्दै सूचना प्रवाह भइरहेको थियो । करिव १ घण्टापछि सवै परिक्षण गरिएका व्यक्तिको रिर्पोट आयो । त्यसलाई एक÷एक गरेर रुजु गरियो । अनि स्पष्ट भयो कि जसको आरडीटी पोजेटिभ आएको थियो उनीहरुकै परीक्षण रिपोर्ट आएको थिएन । अनि हामी त्यहाँ रहेका व्यक्तिले समाचार, सूचना प्रवाह गर्न थाल्यौं । त्यतिन्जेलसम्म गलत सूचनाले फेसबुक भरिएका थिए । त्यसैले गर्दा हामीले पोष्ट गरेका सूचना आधिकारीक हो कि होइन भनेर समेत प्रश्न गर्न थालियो ।

 

सूचना प्रवाहका लागि पछिल्लो समय फेसबुक सजिलो माध्यम भएका छन् । सूचना प्रविधिको विकासले विभिन्न स्रोतसँगको पहुँच समेत बढाएको छ । तर अहिलेको संक्रमणको अवस्थामा आधिकारीक सूचना प्रवाह गर्नु आवश्यक छ । सूचना थाहा पाउँदा स्रोतको खोजी गर्नु जरुरी छ । सूचना कत्तिको आधिकारीक छ भनेर क्रस चेक गर्नुपर्छ । यसबीचमा करिव १ घण्टाको सूचनाको सकसमा स्थानीय तह, प्रहरी प्रशासन र स्वास्थ्य कार्यालय बीचको समन्वयलाई थप प्रभावकारी बनाउन जरुरी देखिएको छ ।

 

के गर्ने ?

कोरोना भाईरसको परीक्षण दर बढेसँगै यसका संक्रमितहरुको संख्या समेत बढ्दै गएको छ । यद्यपी परीक्षणको दर भने दु्रत गतिमा बढाउनु पर्ने आवश्यकता छ । लक डाउनका कारण मानिसहरु घरमै छन् । छिन छिनको सूचनाको अपडेट लिन चाहिरहेका छन् ।

त्यसैले,

  • सूचना प्रवाह गर्ने शैलीलाई एकद्धार, नियमित र तत्काल बनाउन,
  • आधिकारिक निकायबाटै सूचना जारी गर्ने,
  • जिम्मेवार व्यक्ति र निकायहरुले जिम्मेवार ढङ्गले सूचना लिने, प्रशोधन गर्ने र जानकारी गराउने,
  • सूचना लिनेले त्यसको आधिकारिकता पुष्टि गर्ने, गर्नुपर्दछ ।

होइन भने यसले आगामी दिनमा सम्भावित जोखिम निम्त्याउन सक्छ । कार्यालयबाट निस्कदै गर्दा मैले पनि महशुस गरे कि हतारमा प्रवाह गर्ने सूचनाले कसरी समाजमा गलत सन्देश जान सक्छ । विहिवारको घटना गतिलो उदाहरण बनेकोछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय