नौबहिनी गाउँपालिका–५ डाम्री काँटे निवासी ३० वर्षीया डोल्मा के.सी.को ज्यान समयमै गरिएको उपचार, स्वास्थ्यकर्मीको सक्रियता र स्थानीयको सजगताका कारण सुरक्षित भएको छ । अत्यन्त जटिल अवस्थामा पुगेकी गर्भवती महिलालाई बहानेस्थित स्वास्थ्य संस्थाबाट प्युठान हुँदै बुटवलसम्म निरन्तर निगरानीमा राखी उपचारका लागि पुर्याईएपछि अहिले उनी खतरामुक्त अवस्थामा रहेकी छन् ।
गत बैशाख २५ गते दिउँसो करिब १:३० बजे बहानेमा कोठा भाडामा लिएर बस्दै आएकी डोल्मालाई अचानक टाउको अत्यधिक दुख्ने, मुखबाट फिँज आउने तथा श्वासप्रश्वासमा समस्या देखिएको थियो । घरबेटी मिठा जि.सी.ले उनलाई गाह्रो अवस्थामा भेटेपछि तत्काल सामुदायिक स्वास्थ्य इकाइ बहानेमा पुर्याएकी थिइन् । स्वास्थ्य परीक्षणका क्रममा उनको रक्तचाप १८०/११० पुगेको पाइयो, जुन गर्भवतीका लागि अत्यन्त जोखिमपूर्ण अवस्था हो । चेकजाँच गर्दा उनी ३२ हप्ताकी गर्भवती रहेको पुष्टि भयो । त्यसपछि स्वास्थ्यकर्मीहरुले तत्काल प्रेसर नियन्त्रणको औषधि दिएर थप उपचारका लागि तयारी थालेका थिए ।
त्यतिबेला उनका श्रीमान् वैदेशिक रोजगारीमा रहेका कारण सम्पर्क हुन सकेको थिएन । नेटवर्क समस्याले घरमा समेत कुरा हुन सकेको थिएन भने साथमा रहेका १४ वर्षीय छोरा पनि अवस्थाबारे अनभिज्ञ थिए । यस्तो कठिन परिस्थितिमा स्वास्थ्यकर्मीहरु नै परिवारको अभिभावकझैँ बनेर बिरामीको उपचार र व्यवस्थापनमा खटिएका थिए । गर्भवती महिलाको श्वासप्रश्वासमा समस्या, हातखुट्टा सुन्निने तथा बच्चाको मुटुको चाल कम हुने जस्ता गम्भीर लक्षण देखिएपछि नौबहिनी गाउँपालिकाले तत्काल एम्बुलेन्स व्यवस्थापन गरेको थियो । त्यसपछि सामुदायिक स्वास्थ्य इकाइ बहानेका नर्सिङ स्टाफ निर्मला चौधरी र अर्चना के.सी.ले प्राथमिक उपचार गर्दै बिरामीलाई प्युठान अस्पताल बिजुवार पुर्याएका थिए ।
स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि प्युठान अस्पतालमा एक्लामसियाको लोडिङ डोज दिएर प्युठान अस्पतालले थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल रिफर गर्ने सुझाव दियो । लगत्तै नौबहिनी गाउँपलिकाले अस्पताललाई एकजना नर्सिङ स्टाफ जान आग्रह गरेता पनि प्युठान अस्पतालमा नर्सिङ स्टाफको अभावका कारण उनै निर्मला चौधरी र अर्चना के.सी. बिरामीसँगै एम्बुलेन्समार्फत बुटवल पुगेका थिए, बुटवलसम्मका लागि नै गाउँपालिकाले एम्बुलेन्सको व्यवस्थापन गरेको थियो । करिब राति १० बजे अस्पताल पुगेपछि गरिएको परीक्षणमा उच्च रक्तचापसँगै सुगरको समस्या समेत देखिएको थियो । बच्चाको मुटुको चाल कमजोर भएकाले व्यथा लगाउने औषधिमार्फत प्रसूति प्रक्रिया सुरु गरिएको थियो । मृत शिशुको जन्म भए पनि समयमै उपचार भएका कारण आमाको ज्यान जोगाउन सकिन्छ भनेर थप उपचार प्रक्रिया सुरु गरिएको अस्पतालले जनाएको छ । तर जोखिम अझै टरेको थिएन । त्यसपछि उनलाई तीन दिन आइसियुमा राखेर उपचार गरिएको थियो ।
स्वास्थ्यकर्मीहरुको निरन्तर निगरानी, समयमै निर्णय र जोखिम मोलेर गरिएको सेवाका कारण अहिले डोल्मा के.सी. खतरामुक्त अवस्थामा पुगेकी छन् । मृत शिशु सामान्य प्रसूति प्रक्रियामार्फत जन्मिएको भएता पनि आमाको ज्यान भने सुरक्षित राख्न सफल भएको चिकित्सकहरुले बताएका छन् । हाल उनी सामान्य वार्डमा उपचाररत छिन् ।
स्वास्थ्यकर्मीको सक्रियता:
ग्रामीण क्षेत्रमा यस्ता घटना धेरै हुने गर्छन तर यस्तो घटना भने पहिलो हो । सीमित स्रोतसाधन र जनशक्तिका बीच पनि बहाने स्वास्थ्य इकाइका स्वास्थ्यकर्मीहरुले देखाएको सक्रियता उदाहरणीय बनेको छ । बिरामीको अवस्था जटिल हुँदा पनि नआत्तिई तत्काल निर्णय लिनु, एम्बुलेन्स व्यवस्थापन गर्नु, बाटोभरि निगरानीमा राख्नु र ठूलो अस्पतालसम्म साथ दिनु स्वास्थ्य सेवाप्रतिको जिम्मेवारीको उत्कृष्ट नमुना भएको बुझ्न सकिन्छ ।
गर्भवती महिलाका लागि सन्देश:
घरबेटी मिठा के. सि.ले स्वास्थ्य इकाइसम्म पुर्याउनु र नर्सिङ स्टाफहरु खटेर बहाने देखि बुटवलसम्म जानु सराहनीय पक्ष हो । अत: यो घटनाले गर्भवती महिलाको नियमित स्वास्थ्य परीक्षण, उच्च रक्तचाप जस्ता जोखिमको समयमै पहिचान तथा आपतकालीन अवस्थामा छिटो स्वास्थ्य सेवा पहुँचको महत्वलाई स्पष्ट देखाएको छ । ग्रामीण क्षेत्रका स्वास्थ्य संस्थामा आवश्यक जनशक्ति, एम्बुलेन्स सेवा र विशेषज्ञ उपचारमा सहज पहुँच सुनिश्चित गर्न सके यस्ता जटिल अवस्थाबाट धेरै आमाको ज्यान जोगाउन सकिन्छ । स्वास्थ्यकर्मीहरुले गर्भावस्थामा नियमित जाँच अनिवार्य गर्न आग्रह गरेका छन् । गर्भवती अवस्थामा अत्यधिक टाउको दुख्ने, हातखुट्टा सुन्निने, आँखा धमिलो देखिने, श्वासप्रश्वासमा समस्या हुने वा रक्तचाप बढ्ने जस्ता लक्षणलाई सामान्य ठानेर बेवास्ता नगर्न उनीहरुको सुझाव छ । साथै गर्भवती महिलालाई एक्लो अवस्थामा नछोड्न समेत सम्बन्धित सबैलाई आग्रह गरेका छन् । समयमै स्वास्थ्य संस्थामा पुग्न सके धेरै जटिलता र मातृ मृत्युबाट बच्न सकिने भन्दै स्वास्थ्यकर्मीहरुले परिवारका सदस्यलाई समेत गर्भवती महिलाप्रति संवेदनशील बन्न आग्रह गरेका छन् । यो घटनाले गाउँमै रहेका आधारभूत स्वास्थ्य सेवा, सचेत नागरिक र समर्पित स्वास्थ्यकर्मीको भूमिका कति महत्वपूर्ण हुन्छ भन्ने स्पष्ट सन्देश दिएको छ ।
तस्बिरमा…
गर्भवती डोल्मा के. सि.को तस्विर

निगरानीमा खटिने नर्सिङ स्टाफ द्वय निर्मला र अर्चना

गर्भवती महिलाको जाँच पुर्जा







