नौबहिनी गाउँपालिकाको आयोजनामा लिघा स्वास्थ्य चौकी तथा सामुदायिक स्वास्थ्य इकाइ बहानेमा एआई (कृत्रिम बुद्धिमत्ता) प्रविधिमा आधारित एक्स–रे मार्फत क्षयरोग (टीबी) को सक्रिय खोजपड्ताल शिविर सम्पन्न भएको छ ।

“हो! हामी क्षयरोग अन्त्य गर्न सक्छौँ । राष्ट्रिय अभियान, हाम्रो योगदान” भन्ने नारासहित सञ्चालन गरिएको शिविरमा समुदायस्तरमै पुगेर सम्भावित क्षयरोगीहरूको पहिचान, परीक्षण तथा समयमै उपचारमा पहुँच सुनिश्चित गर्ने उद्देश्य राखिएको थियो ।

शिविर अन्तर्गत लिघा स्वास्थ्य चौकीमा १ सय ९२ जनाले क्षयरोग स्क्रिनिङ सेवा लिएका थिए । जसमध्ये अधिकांशको रिपोर्ट सामान्य देखिए पनि २५ जनाको थप परीक्षणका लागि खकार संकलन गरी प्रयोगशालामा पठाइएको छ । त्यसैगरी सामुदायिक स्वास्थ्य इकाइ बहानेमा १ सय २० जनाले स्क्रिनिङ सेवा लिएका थिए । तीमध्ये १४ जनाको खकार संकलन गरी थप परीक्षणका लागि पठाइएको स्वास्थ्यकर्मीहरूले जानकारी दिएका छन् ।
एआई प्रविधिमा आधारित डिजिटल एक्स–रेको प्रयोगबाट क्षयरोगको सम्भावित जोखिम भएका व्यक्तिहरूलाई छिटो पहिचान गर्न सहज भएको बताइएको छ । यसबाट रोगको प्रारम्भिक चरणमै पहिचान गरी उपचार सुरु गर्न सकिने भएकाले क्षयरोग नियन्त्रण तथा संक्रमण न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ ।

गाउँपालिकाले आयोजना गरेको कार्यक्रमलाई बीएनएमटी नेपाल (BNMT) को प्राविधिक सहयोगमा भएको कार्यक्रमको समन्वय भने स्वास्थ्य कार्यालय प्यूठानले समन्वय गरेको थियो । शिविरको सहजीकरणका लागि प्रदेश स्वास्थ्य निर्देशनालय देउखुरी, दाङका जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरी, यूएनडीपी (UNDP) का डा. समिर मैनाली, टीबी नेपालका डा. सत्यबहादुर शाही सहित स्वास्थ्यकर्मीहरूको टोली खटिएको थियो ।

ग्रामीण क्षेत्रका नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै क्षयरोगमुक्त समाज निर्माण गर्ने राष्ट्रिय अभियानमा सहयोग पुर्याउने उद्देश्यले शिविर सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । स्थानीयवासीको उत्साहजनक सहभागिताले समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धि हुनुका साथै सम्भावित क्षयरोगीको पहिचानमा समेत सहयोग पुगेको बताइएको छ ।







