नौबहिनी गाउँपालिका–५, डाम्री पात्ल निवासी २३ वर्षीय कुमान सुनारको गत फागुन २१ गते भारतमा निधन भएपछि उनको परिवारलाई विभिन्न व्यक्ति तथा शुभेच्छुकहरूको सहयोगबाट संकलित रकम हस्तान्तरण गरिएको छ ।
करिब चार वर्षअघि विवाह गरेका सुनारको निधनपछि उनकी श्रीमती कृष्णा सुनार र तीन वर्षीय छोरा सन्देश सुनार परिवारको सहाराविहीन अवस्थामा पुगेका छन् । यही परिस्थितिलाई मध्यनजर गर्दै नन्दलाल सुनार, कृष्ण रसाइली लगायतका व्यक्तिहरूको पहलमा भारतबाटै सहयोग अभियान सञ्चालन गरिएको थियो । अभियानमार्फत जम्मा २ लाख ४८ हजार १ सय ३५ रुपैयाँ संकलन भएको थियो ।
उक्त सहयोग रकम बुधबार नौबहिनी गाउँपालिका–४ को वडा कार्यालयमा मृतक सुनारको परिवारलाई हस्तान्तरण गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नौबहिनी गाउँपालिका–४ का वडा अध्यक्ष, वडा सचिव सुरज घर्ती मगर, नौबहिनी गाउँपालिकाका कार्यपालिका सदस्य लालबहादुर सुनार, वडा नं. ५ की दलित महिला सदस्य तोपली सुनार, समाजसेवी पूर्ण थापा मगर (पुथे), भारतीय सेनामा कार्यरत द्वय कृतिमान घर्ती मगर, भविराम थापा मगर, सञ्चारकर्मी तेजेन्द्र बुढा मगर लगायतको उपस्थितिमा गरिएको थियो ।
वैदेशिक रोजगारीका क्रममा हुने यस्ता दुःखद घटनाले परिवारमाथि ठूलो पीडा थप्ने भएकाले संकटको घडीमा समाजको साथ र सहयोग महत्वपूर्ण हुने गर्दछ । सहयोग अभियानमा योगदान पुर्याउने सम्पूर्ण सहयोगदाताप्रति परिवारले कृतज्ञता व्यक्त गरेका छन् ।
यस सहयोगले मृतक सुनारकी श्रीमती र सानो छोराको दैनिक जीवनयापन तथा भविष्यका आवश्यकतामा केही राहत पुग्ने अपेक्षा गरिएको छ ।







