ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-७ अन्तर्गत पर्ने मैरेमारे-खाम्रिबास सडक औपचारिक रूपमा सञ्चालनमा आएको छ । दशकौंको देखिको स्थानीयको सपना अब साकार भएको छ । २०६८ साल अगावै उक्त गाउँलाई सडक सञ्जालसङ्ग जोड्न मेहनत गरिए पनि २०८२ जेठ ९ गते शुक्रबार देखि औपचारिक रुपमा सडक सञ्चालनमा आएको छ । नागनगेनीभिरको पहरो छेड्न नसकेर अड्केको सडक ब्रेकर लगाएर १ महिना पछि पहरो फोरेपछि सडक खुलेको हो ।

यस ठाउँबाट प्युठान नगरपालिका-५ जुम्रीकाडा जोडिएको छ । जहाँबाट प्युठानकै व्यापारिक केन्द्रबिन्दुका क्षेत्रहरु बिजुवार, बाग्दुला, जुम्री लगायतका स्थानहरुमा आवतजावत गर्न समेत सहज हुने भएको हुनेछ । यो सङ्गै सडक निर्माणपछि मैरामारे, खाम्रीबास क्षेत्रका स्थानीयलाई जिल्ला अस्पताल बिजुवार पुग्न र उपभोग्य बस्तु ओसार-पसारमा सहजता हुने भएको छ । सडकबाट रोल्पाको सिर्प, सिमेगिठा र जुतुङखोलाका स्थानीयले समेत लाभ लिन पाउने भएका छन् ।

सडकको शुक्रवार एक कार्यक्रम गरी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले उद्घाटन गर्नुभएको छ । सडक खुलेपछि यस क्षेत्रका स्थानीय हर्षित भएर नाचगान गरि खुसी मनाएको उहाँले बताउनुभयो । ‘पालिकाको दुर्गम बस्तीमा पुग्ने सडकको ट्र्याक ओपन भएको छ,’ थापाले भन्नुभयो, ‘नियमित सवारी चल्ने सडकको लागि पहल गरिने छ ।’ अध्यक्ष थापाले नागनगेइ भिरको काम भैरहदा आफ्नो मनमा समेत डर पैदा भएपनी सफलता पुर्वक पहरो छेड्न सफल भएकोमा अपरेटरलाई धन्यवाद दिनुभएको थियो । यहाँका कृषकहरूलाई उत्पादनसङ्ग जोडेर आत्मनिर्भर बनाउन उचित कार्यक्रम लिइने थापाले बथाउनुभएको छ ।

मैरामारे देखि खाम्रीबाससम्म सडक खोल्न गाउँपालिकाले यस अघिनै विभिन्न आ. व.मा गरी झन्डै १ करोड ५० लाख रुपैयाँ खर्च गरिसकेको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । पालिकाको यस आ.व. मा १९ लाख रुपैयाँ विनियोजन गरेर प्याकेजमा ठेक्का मार्फत सडकको काम गरेको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभयो । प्याकेजको करिब १२ लाखमा ठेक्का पारेर हरियाली निर्माण सेवाले सडक निर्माण कार्य सम्झौता गरि अमिलिया र स्याउलेका सडक निर्माण कार्य भैरहेको छ भने खाम्रीबास-मैरामारे सडक आजबाट औपचारिक रुपमा सुचारु भएको छ ।

स्थानीयले पैदल हिडेर नुन बोक्ने सडक मोटर गुड्ने बनाउने सपना बुन्दै आफ्नो क्षमता अनुसार ५ हजार देखि २५ हजारसम्म चन्दा सङ्कलन गरेर बाटो निर्माण थालेका थिए । तर करिब १ करोड ५० हजार स्थानीयको रकम सकिदासम्म कुनै निर्माण कम्पनीले पहरो छेड्न भने नसकेको स्थानीय बताउँछन् । १२/१५ वर्षको सपना पूरा हुँदा स्थानीयबासी हर्षित बनेका छन् । स्थानीय खुसी हुँदा झिमरुक-७ तुषारा निवासी मेसिन अपरेटर्स सुदर्शन जि. सी. र गौमुखी गाउँपालिका-४ पुँजा निवासी बिक्रम के. सी. दुवैजनालाई ४ हजार ८ सय १० नगद रकम, नगद पैसाको माला र फुलमाला सहित सम्मान गरिएको थियो । थुप्रै असफल प्रयास पछि अथक मेहनतले सम्भव भएको यो कार्यप्रति स्थानीयले प्रसंशा गर्नुका साथै खुशी व्यक्त गरेका छन् । यो बाटोले अब गाउँको मुहार फेरिएको समेत स्थानीय बताउँछन् ।

२०२३ सालदेखि बस्ती बसेको यस ठाउँमा अहिले करिब ४५ घरधुरीको बसोबास रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय