सुरज पुन मगर_प्युठान
अधिवक्ता पाण्डेलाई कारबाहीको माग गर्दै नेपाल मगर संघ प्युठानले ज्ञापन पत्रबुझाएको छ । आपत्तिजनक अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्न नेपाल मगर संघ प्युठानले समेत माग गरेको छ । एक टेलिभिजन कार्यक्रममा अधिवक्ता पाण्डेले तामाङ र मगर समुदायलाई अपराधीकरण गर्नेगरी विवादास्पद अभिव्यक्ति दिएकोमा कानून बमोजिम सजाएको माग गर्दै जिल्ला प्रशासन कार्यालय प्युठानमा संघले ज्ञापनपत्र बुझाएको हो ।
सोमबार प्रमुख जिल्ला अधिकारी मदन कोइराला मार्फत गृह मन्त्रालय काठमाडौँमा पठाउने गरी ज्ञापनपत्र हस्तान्तरण गरिएको नेपाल मगर संघ प्युठानका अध्यक्ष देबिराम पुन मगरले बताउनु भएको छ । पाण्डेले सिङ्गो मगर र तामाङ्ग लगाएत आदिवासी जनजाति समुदायको प्रथाजनित अभ्यासप्रति गलत ढंगले व्याख्या गरी आनुवांशिक रुपमै समस्त समुदायलाई अपराधीकरण गर्ने र मान्छेलाई जनावरसँग तुलना गर्नेगरी दिएको कपोकल्पित र भ्रामक तथा तथ्यहिन अभिव्यक्तिले आफूहरूको आत्मसम्मान र प्रतिष्ठामा गम्भिर चोट पुगेकाले उक्त अभिव्यक्ति प्रति आन्दोलनमा उत्रिनु परेको संघले जनाएको छ ।
सोही क्रममा गत साउन १७ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा शान्तिपूर्ण आन्दोलन गरिरहेका अभियन्ताहरुलाई नियन्त्रणमा लिएर यातना दिने तथा निर्घात कुटपिट गरेकोमा समेत उनीहरुले आपत्ति जनाएका छन् । यातना दिने परिसरका प्रहरी प्रमुख लगायत संलग्न सबै प्रहरीलाई कारबाहीको माग गरिएको छ । घाइते अभियन्ताहरुलाई उपचार खर्चसहित उचित क्षतिपूर्ती दिन पनि ज्ञापनपत्रमा उल्लेख गरिएको छ । आफ्ना मागलाई सम्बोधन नगरे कडा भन्दा कडा आन्दोलनमा उत्रिने र संघ आफै पनि कारबाही गर्न पछी नहट्ने बताएका छन् ।