ट्रेन्डीङ्ग

बोम बहादुर परियार, 
प्युठान खवर ।  प्युठान अस्पतालमा शुक्रबार देखी बिस्तारित अस्पताल सेवा सुरु भएको छ। लुम्बिनी प्रदेशका जिल्लाहरुमा यो सेवा पहिलो पटक प्युठान जिल्ला अस्पतालबाट सुरु भएको प्युठान अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. नविन दर्नालले जानकारी दिनुभयो।

बिशेषज्ञ डाक्टरहरु अस्पतालबाट निजि मेडिकलहरुमा नजाउन भन्ने उद्देश्यले यो सेवा अस्पतालमै सुरु गरिएको प्युठान नगरपालिकाका मेयर अर्जुन कुमार कक्षपतिले बताउनुभयो । उहाँले भन्नुभयो ”यो शेवा सुचारु गरेपछि चर्काे शुल्क तिरेर नागरिकले स्वास्थ्य सेवा लिनु पर्ने बाध्यतामा कमी आउने देखिन्छ ।”

यो कार्यक्रम सञ्चालन भएपछि कार्यालय समय भन्दा पछि पनि नागरिकले जिल्ला अस्पतालबाट शुल्क तिरेर बिशेषज्ञ सेवा पाउने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. दर्नालले जानकारी दिनुभयो । विस्तारित अस्पताल सेवा निर्देशिका २०७७ अनुसार यो सेवा अस्पतालबाट सुचारु गरिएको उहाँले बताउनुभयो ।

यो कार्यक्रमले नेपाल सरकारले संचालन गरेको एक स्वास्थ्य संस्था,एक चिकित्सक कार्यक्रम संचालन गर्नका लागि समेत सहयोग पुग्ने अपेक्षा आफुहरुले गरेको दर्नालको भनाई छ। कार्यालय समय भन्दा बाहिर ओपिडि सेवा दिएबापत नेपाल सरकारले तोकेको ओपिडि सेवा शुल्क प्रतिब्यक्ति चार सय पचास रुपैयाँ लाग्नेछ। अन्य ल्याव, एक्सरे लगाएतका सेवा भने नेपाल सरकारले सरकारी अस्पतालमा तोकेको मापदण्ड अनुसार नै हुने उनले जानकारी दिनुभयो ।

उद्घाटन कार्यक्रममा अस्पताल विकास समितिका अध्यक्ष सिद्धिमणी सुवेदीले मेडिकलमा चर्को शुल्क तिरेर उपचार गराउनुपर्ने विरामी र मेडिकल जाने डाक्टरहरुलाई सहज भएको बताए। उनले यसले अस्पतालबाट प्रदान गरिने सेवाको गुणस्तरमा सुधार हुने समेत आशा आफुहरुले लिएको बताउनुभयो ।

 

अस्पतालबाट अहिले स्त्री तथा प्रसुति रोग , हाडजोर्नी ,बालरोग, मानसिक रोग जर्नल सर्जरी, इन्टरनल मेडिसिन तथा दन्त रोग बिशेषज्ञ सेवा लगायतका सेवाहरु प्रदान भैरहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय