प्यार अलि खाँन,
प्युठान खवर । प्यूठानको स्वर्गद्वारी नगरपालिका स्थित लामाचौरमा सर्पदंश उपचार केन्द्र स्थापना हुने भएको छ।
केन्द्र स्थापनाका लागि लामाचौरका स्थानीयहरुले ५ आना जग्गा समेत निशुल्क दान गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले जानकारी दिए।
‘केन्द्र संचालनका लागि नेपाली सेनाले भवनको लागत स्टीमेट तयार गरिरहेको छ।’ प्रजिअ भुसालले भने, ‘केन्द्रको सबै व्यवस्थापन सेनाले नै गर्नेछ।’
मंगलबार जिल्ला विपद व्यवस्थापन समितिको वैठकमा केन्द्र संचालनको आवस्यक तयारीबारे भएको छलफलमा प्यूठानका सबै स्थानीय सरकारहरु एवं सरोकारवाला निकायले उपचार केन्द्रको संचालन एवं व्यवस्थापनमा सहयोग गर्ने प्रतिबद्धता जनाएको प्रजिअ भुसालले जानकारी दिए।
सर्पदंश उपचार केन्द्र स्थापना भएमा उपचारका लागि गोरूसिंगे जाने बाध्यता हट्ने छ भने प्यूठानसंगै रोल्पा, अर्घाखाँची गुल्मीका नागरिकहरुलाई सुविधा पुग्ने स्वर्गद्वारी नगरपालिकाका नगर प्रमुख नेत्रबहादुर रोकायले विश्वास व्यक्त गरे। ‘हामी पुष ३ गते जिल्लास्तरिय अन्तरक्रिया कार्यक्रम गर्दैछौं।’
नगर प्रमुख रोकायले भने, ‘यो अत्यन्तै महत्वपूर्ण सबैको साझा सरोकारको विषय भएकाले जिल्लाकै अपनत्व हुनेगरि केन्द्रको संचालन एवं व्यवस्थापनका विषयमा आवस्यक छलफल हुनेछ।’
जलवायु परिवर्तनसंगै तराईका विषालु सर्प पहाड तर्फ आउने हुँदा जिल्लामा सतर्कता अपनाउँदै उपचार केन्द्र स्थापनाबारे सरोकारवाला पक्षले छलफल थालेका हुन्। साउन यता सर्पको टोकाईबाट प्यूठानमा ३ जनाको ज्यान गईसकेको छ।