
प्यार अलि खाँन / प्युठान खवर ।
प्यूठानको झुलेनीमा घुमफिर गर्ने पर्यटकहरुको त्यहाँ पुग्दा मन भुल्ने गरेको बताएका छन् । सरुमारानीको बाङगेसालबाट प्रकाश आचार्य आफ्नो समुह सहित झुलेनी घुम्न पुग्दा आनन्द एवं आत्मसन्तुष्टि प्राप्त भएको बताए। ‘झुलेनी मज्जाको ठाउँ रहेछ।’ पेशाले शिक्षक समेत रहेका आचार्यले भने, ‘विभिन्न हिमश्रृंखला आँखै अगाडीबाट नियाल्न सकिँदो रहेछ।’
झुलेनी पुग्न ग्रामीण मोटरबाटो स्तरवृद्धि भए पर्यटकलाई त्यहाँ पुग्न धेरै सहज हुने उनि बताउँछन्। त्यहाँको मनमोहक प्राकृतिक सौन्दर्य एवं वातावरणले पर्यटकको मन भुलाउने आचार्यको अनुभव छ । बाग्दुलाबाट दुईपटक झुलेनी पुगेका जाहुल अलि भन्छन् ‘पहिलो पटक साथीभाई मिलि पिक्निक खान गएका थियौं।’ अलिले भने, ‘दोस्रो पटक पारिवारिक घुमफिर गर्यौ।’ झुलेनी पुग्दा त्यहाँको मन्त्रमुग्ध बनाउने सौन्दर्यताले हरकोही पर्यटकको मन जित्ने गरेको उनले प्रतिकृया दिए ।
जिल्लाको प्यूठान नगरपालिका र नौबहिनि गाउँपालिकाको सिमानामा पर्ने झुलेनी आन्तरिक पर्यटन प्रवर्धनमा प्यूठानकै नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास भएको छ। यहाँ भौतिक पूर्वाधार निर्माण भएसँगै आन्तरिक पर्यटकहरूको संख्या दिनानुदिन बाक्लिँदै गएको झुलेनी संरक्षण तथा पर्यटन पूर्वाधार विकास समिति अध्यक्ष माधवराज भण्डारीले बताए। ‘हामी झुलेनीलाई नयाँ पर्यटकिय गन्तव्यको रुपमा विकास गर्न लागी परेका छौं।’ भण्डारीले भने, ‘तिन वर्ष देखि झुलेनीको संरक्षण तथा सम्वर्द्धनमा सरोकारवाला निकायसंग सहकार्य गरिरहेका छौं।’
झुलेनीमा पर्यटन प्रवर्धनका लागि नेपाल पर्यटन बोर्ड, डिभिजन वन कार्यालय प्यूठान, प्यूठान नगरपालिका, नौबहिनि गाउँपालिकाले सहयोग गरिरहेको भण्डारीको भनाई छ। झुलेनी सम्म सहज रूपले पुग्न सडक स्तरोन्नती प्रमुख चुनौती रहेको भण्डारीले बताए। ‘हामीले वडा हुँदै नगरपालिकाको गम्भिर ध्यानाकर्षण गराएका छौं। भण्डारीले भने, ‘नगरपालिकाले पर्यटन प्रवर्धन गुरुयोजना भित्र झुलेनीलाई समेट्ने आश्वासन दिएको छ।’
बिजुवार-बाग्दुला-खप्रेङखोला हुँदै धनन्जय गोत्रीय भण्डारीहरुको उद्गम स्थल झुलेनी करिब एक घण्टाको सवारी यात्रा पछि पुग्न सकिन्छ। समुद्री सतहदेखि करिब १ हजार ९ सय ९१ मिटरको उचाईमा रहेको झुलेनीबाट प्यूठान उपत्यकासंगै विभिन्न हिमश्रृंखलाहरुको दृष्यावलोकन समेत गर्न सकिन्छ।