
प्यूठान खबर । सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत प्यूठानका १७ सय ६ घरमा जस्तापाता लगाइने भएको छ । सुरक्षित नागरिक आवास समन्वय समिति प्यूठानको बिहीबार बसेको बैठकले जिल्लाका ९ वटै स्थानीय तहका विपन्न, दलित, हालसम्म जस्तापाताले घर छाउन नसकेका गरिबहरुको घरमा जस्तापाता लगाउन सहयोग गर्ने निर्णय गरेको हो ।
यसको लागि सहरी विकास तथा भवन निर्माण विभाग काठमाडौंमार्फत बजेट विनियोजन भएको छ । समितिले प्यूठान नगरपालिकामा २ सय, स्वर्गद्वारी नगरपालिकामा २ सय ५०, गौमुखी गाउँपालिकामा ५०, माण्डवी गाउँपालिकामा १ सय, सरुमारानी गाउँपालिकामा २ सय, मल्लरानी गाउँपालिकामा १ सय ६६, नौबसहनी गाउँपालिकामा २ सय ६०, झिमरुक गाउँपालिकामा २ सय, ऐरावती गाउँपालिकामा ३ सय २० घरमा जस्तापाता लगाउने निर्णय गरेको सघन सहरी तथा भवन निर्माण आयोजना दाङका प्रमुख महेशबहादुर सिंहले जानकारी दिए ।
घर जस्तापाताले छाउन निर्णय भएअनुसार स्थानीय तहरुलाई प्रतिघर बराबर ५० हजारका दरले बजेट उपलब्ध गराइने कार्यालयले जनाएको छ । ‘हामीले बजेट स्थानीय तहहरुमा पठाउने छौं,’ सिंहले भने, ‘स्थानीय तहरुले नै जस्तापाता किन्नका लागि स्थानीयलाई रकम दिने छन् ।’ कार्यालय मार्फत समय समयमा अनुगमन हुने सिंहले बताए । यो कार्यक्रम अन्तर्गत प्यूठानमा ८ करोड ५३ लाख रुपैयाँ छुट्याइएको छ । गिरुप्रसाद भण्डारी/इकान्तिपुर