ट्रेन्डीङ्ग

प्यूठान — जिल्ला प्रशासन कार्यालय प्यूठानले कोरोना संक्रमणको जोखिम बढेको निष्कर्ष निकाल्दै भोलि (शुक्रबार) १२ गते बिहान ६ बजेदेखि भदौ १८ गते राति १२ बजेसम्मको लागि जिल्लाभर नै निषेधाज्ञा जारी गर्ने भएको छ । बिहीबार बिहान जिल्ला प्रशासन कार्यालय प्यूठानमा बसेको जिल्ला स्तरीय कोभिड–१९ संकट व्यवस्थापन समितिको बैठकले ७ दिन निषेधाज्ञा गर्ने निर्याण गरेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।

 

निषेधाज्ञाको समयमा अत्यावश्यक बाहेकका सबै सेवा बन्द हुनेछन् । तरकारी, खाद्य पसल, दूध डेरी बिहान ७ बजेदेखि ९ बजे र बेलुका ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुनेगरि निषेधाज्ञा जारी हुने भुसालले बताए । पछिल्लो समय जिल्लामा एक जना स्वास्थ्यकर्मी, ४ जना प्रहरी, २ जना समुदायका व्यक्तिसहित २६ जनामा कोरोना संक्रमण देखिएको छ ।

 

स्वास्थ्यकर्मीलाई कोरोना देखिएपछि प्यूठान अस्पतालमा आकस्मिक र प्रसूति सेवाबाहेक अरु सबै बन्द गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्ने जोकोहीलाई पनि कानुन अनुसार कारबाही गरिने भुसालले बताए । अनुगमनलाई कडाइ गर्न बजार क्षेत्रमा व्यापक सुरक्षाकर्मी परिचालन गरिने जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए ।

 

जिल्लामा ४४३ जना कोरोना संक्रमित पुष्टि भएका छन् । त्यसमध्ये सक्रिय संक्रमित ६६ जना रहेको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । जिल्लामा एक जना कोरोना संक्रमितको बुटवल कोरोना अस्पतालमा मृत्यु भएको र ३७६ संक्रमित निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय