
प्यूठान खबर । ‘हाम्रा सन्तान हाम्रो भविष्य’ कार्यक्रमबाट प्यूठान नगरपालिकामा ८५ शिशु लाभान्वित भएका छन् । जन्मदर्ता गराउन प्रोत्साहन गर्न नगरपालिकाले संचालन गरेको अभियान अन्तर्गत आ.व. २०७६/०७७ मा ८५ शिशुको खातामा नगरपालिकाले रकम जम्मा गरेको नगरपालिकाका सूचना अधिकारी आशिष पोख्रेलले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्वन्धीत वडामा गरिएको जन्मदर्ताका आधारमा नेपाल बैक लिमिटेड विजुवार शाखामा बाल बचत खाता संचालन गरी नगरपालिकाले १ हजार रुपैंया जम्मा गरिएको छ । उक्त खातामा नेपाल बैंक लिमिटेडले ५ हजार रुपैयाँ बरावरको स्वास्थ्य उपचार विमा समेत गरिदिएको छ ।
विमा मार्फत बालबालिकाले १८ वर्षसम्म विरामी भएमा उपचार खर्च पाउनेछन् । पञ्जिकरणकोे महत्वलाई दर्शाउन नगरपालिकाले बच्चा जन्मिएपछि ३५ दिन भित्र जन्मदर्ता गराउने बालबालिकाहरुको प्रोत्साहनका लागि यो अभियान लिएको प्यूठान नगरपालिकाकाका नगर प्रमुख अर्जुन कुमार कक्षपतीले बताउनुभयो । गत आर्थिक वर्षबाट सुरुवात भएको उक्त कार्यक्रम चालु आ.व.मा पनि निरन्तरता दिने उहाँले बताउनुभयो ।