
प्यूठान — सोमबार साँझ रुपन्देहीमा हुँदै नेपाल प्रवेश गरेको सलहको झुन्ड टुक्रिँदै बुधबार प्युठान पुगेको छ । भैरहवाबाट टुक्रिएर झुन्ड दाङ र अर्घाखाँची हुँदै बुधबार प्युठानभर फैलिएको छ ।

नौबहीनी गाउँपालिका स्याउलीवाङको फोटो
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना प्यूठानका निमित्त प्रमुख सुमन खनालले जिल्लाको पूर्वी र पश्चिमी क्षेत्रबाट मंलबार भित्रिएको सलह बुधबार जिल्लाका धेरै स्थानहरुमा फैलिएको बताए ।
जिल्लाको मल्लरानी, ऐरावती सरुमारानी,झिमरुक,गौंमुखी,नौंबहिनी गाउँपालिका र प्यूठान नगरपालिकामा फैलिएको छ । मंगलबार दिउँसो मल्लरानीमा प्रवेश गरेको झुन्ड सबै भन्दा ठूलो झुन्ड रहेको खनालले बताए । सलह प्यूठानमै बास बसेर बुधबार बिहानैबाट किसानहरुले लगाएको मकैबालीमा क्षति पुर्याउन थालेको खनालले जानकारी दिए ।
बुधबार बिहानैबाट सलहको झुन्डले मकै बालीमा नोक्सानी गर्न थालेको गौंमुखी गाउँपालिकाका अध्यक्ष विष्णुकुमार गिरीले जानकारी दिए । सलह मकैबालीमा पुगेपछि किसानहरुले झ्याली, बाजा,थाल, टिन ठटाएर भगाउने प्रयास थालेको गिरीले बताए । स्थानीयले बारीमा आगो बालेर धुँवा निकालेर भगाउने प्रयास गर्दा समेत सलहले नोक्सानी गर्न छाडेको छैन ।
मल्लरानी ३,प्यूठान नगरपालिका ९ र १०, झिमरुक १, ३, ४, सरुमारानी ३, गौंमुखी ३ नम्बर वडामा लाखौंको संख्यामा रहेको सलहले मकैबालीमा क्षति पुर्याएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद पन्थले बताए । नोक्सानीको विवरण लिने कार्य भइरहेको जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ । सलह नियन्त्रणका लागि स्थानीय तहहरुसँग समन्वय भइरहेको प्रजिअ पन्थले बताए । गिरुप्रसाद भण्डारी/कान्तिपुर