
प्रताप वली,
बझाङ । जिल्ला विपद् व्यवस्थापन समिति बझाङको बैठकले कोराना भाइरसको भरपर्दो चेकचाँच विधि पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको छ । जिल्ला समन्वय समितिका प्रमुख खडकबहादुर खड्काको अध्यक्षतामा बसेको बैठकले कोरोना संक्रमणपछि जिल्लामा भएका १ सय ९० वटा क्वारेन्टाइन र क्वारेन्टाइनमा बसेकाहरूको अवस्थाका विषयमा समीक्षा गर्दै पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेको हो ।
बझाङका क्वारेन्टाइन भारतबाट फर्किएकाले भरिन थालेपछि पीसीआर मेसिन खरिद गर्ने तयारी भएको जनप्रतिनिधिले बताएका छन् । सोमबार जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा स्थानीय तहका जनप्रतिनिधिले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका हुन् । हालसम्म स्वाब परीक्षण गर्ने मेसिन सुदूरपश्चिम प्रदेशको प्रादेशिक प्रयोगशाला कैलालीमा रहेको छ । सुदूरपश्चिममा १ मात्र मेसिन हुँदा रिपोर्ट ढीला आउने समस्याले ग्रामीण क्षेत्रमा कोरोनाको जोखिम बढेको छ ।
क्वारेन्टाइनमा बसेकालाई तीव्र गतिको स्वास्थ्य परीक्षणको भरमा घर पठाउँदा झनै जोखिम बढेकोले पीसीआर मेसिन खरिद गर्नुपर्ने अवस्था आएको जनप्रतिनिधिले बताएका छन् । मेसिन खरिदका लागि नगरपालिकाले १५ लाख र गाँउपालिकाले १० तथा जिल्ला समन्वय समितिले १५ लाख दिने निर्णय गरिएको छ ।
प्रदेश र केन्द्र सरकारको भरपर्दा कोरोना जोखिमको बढेको भन्दै यस्तो निर्णय गरिएको जयपृथ्वी नगरपालिकाका प्रमुख विरेन्द्र खड्काले जानकारी दिए । त्यस्तै, प्रत्येक स्थानीय तहले २० देखि १ सय वेडका आइसोलेसन वार्ड पनि तयार गर्ने भएका छन् । अहिले आरडीटी परिक्षण गर्दा रिपोर्ट पोजिटिभ देखिए संक्रमितलाई जिल्ला अस्पताल बझाङको आइसोलेसनमा राख्ने गरिएको छ । शिलापत्रबाट साभार ।