
प्युठान (सारी) । स्वर्गद्वारी नगरपालिका वडा नं ५ सारी स्यानीलेखका आगलागी पिडितलाइ राहत रकम हस्तान्तरण गरीएको छ । भारतका बिभिन्न स्थानमा रहेका स्थानीय युवाहरुले राहत स्वरुप संकलन गरेको रकम सोमबार बुझाइएको हो । यहाँ पौष महिनामा आगलागी हुँदा स्थानीय थमन बहादुर घर्ती मगर, निम बहादुर घर्ती मगर, नन्द बहादुर घर्ती मगर र कर्ण बहादुर घर्ती मगरको घरगोठ जलेर नष्ट भएको थियो । आगलागीबाट छुट्टाछुट्टै परिवारको ३ घर ३ गोठ जलेर नष्ट भएको थियो ।
आगलागी पिडीतलाई भारतमा रहनुभएका भक्त बहादुर घर्ती मगर, पुनाराम घर्ती मगर, पुर्ख बहादुर घर्ती मगर, चित्र बहादुर रोका मगर, शालिकराम घर्ती मगर लगायतको सहयोगमा ३७ हजार २ सय ८० रुपैयाँ सहयोग रकम हस्तान्तरण भएको हो । घरगोठ जल्दा पिडित बनेका र लगातारको लकडाउनले समस्यामा गुज्रिरहेका उनीहरुलाइ राहत स्वरुप सहयोग रकम स्थानीय युवा समाजसेवी गिर बहादुर घर्तिमगरको पहलमा संकलन भइ पिडितहरुकै घरदैलोमा पुगेर हस्तान्तरण गरीएको थियो ।
यसैबिच यसअँघि पनि यहाँका आगलागी पिडितलाइ १ लाख २२ हजार ६ सय चौरासी रुपैयाँ हस्तान्तरण गरीसकिएको उहाँले बताउनुभयो । सो रकम कृष्ण बहादुर घर्ती मगरको पहलमा २८ हजार ५ सय ४५ राप्ती समाज जापानका अध्यक्ष युबराज रेग्मीको पहलमा १५ हजार दोमही निवासी हाल भारत बस्ने केशब घर्तीको पहलमा १३ हजार ६ सय नेपाली कांग्रेसका क्रियाशील सदस्य नारायण कालाथोकीको तर्फबाट ५ हजार ७ सय ३३ समाजसेवी बिष्णु भण्डारीको तर्फबाट ५ हजार रुपैया सहयोगी शशीराम गिरीको तर्फबाट २ हजार ११ रुपैया समाजसेवी शिबराज खड्काको तर्फबाट २ हजार ५ रुपैयाँ रकम संकलन भएको थियो । आगलागी पिडितहरुको १ घर गोठ तयार भइसकेको छ भने लकडाउनका कारण निर्माणमा ढिलाइ भएको बताइएको छ ।