बुटवल । गुल्मीका कोरोना भाइरस (कोभिड-१९) का संक्रमित रुपन्देहीको मणिग्रामस्थित क्रिमसन अस्पतालको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार गुल्मीका ४१ वर्षिय पुरुषमा कारोना संक्रमण पुष्टि भएको बताएको थियो । उनी मदेने गाउँपालिका- ६ पुर्कोट दहका हुन् ।
जेठ १ गते क्रिमसन अस्पताल भर्ना भएका उनलाई दुई दिन आईसीयूमा राखिएको थियो । तर स्वास्थ्यमा सुधार नभएपछि -कृतिम श्वासप्रस्वास) भेल्टिलेटरमा राखिएको छ । उनको अवस्था गम्भीर छ ।
एक चिकित्सकका अनुसार उनलाई एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम, निमोनिया र मुटुको समस्या देखिएको छ ।
अर्घाखाँची हुँदै बुटवल ल्याइएको थियो
स्थानीय निमावी स्कुलमा शिक्षक समेत रहेका उनलाई एक हप्ता अघि ज्वरो आएको थियो । पुर्कोटदहस्थित मदाने मेडिकलमा चेकजाँच गराउँदा स्वास्थ्यकर्मी विष्णु भुसालले टाइफाइडको औषधि दिएका थिए । औषधि खाएपछि उनलाई सन्चो पनि भयो ।
तर १ गते वान्ता भएपछि फेरि क्लिनिकमा पुगे । म्यालपोखरी स्वास्थ्य चौकी मदानेका स्वास्थ्यकर्मी समेत रहेका भुसालले जण्डिस भएको बताए । लगतै स्थानीय व्यवसायी भोजराज भट्टराईले मोटरसाइकलमा राखेर अर्घाखाँचीको सन्धिखर्कस्थित छायाँ पोलिक्लिनिकमा पुर्याए ।
त्यहाँका स्वास्थ्यकर्मीले विरामीको अवस्था जटिल रहेको भन्दै मणिग्रामको क्रिमसन अस्पताल रिफर गरे । र, बुटवलबाट गएको एम्बुलेन्समा राखेर अस्पताल ल्याइएको थियो ।
सन्धिखर्कबाट विरामी शिक्षकसँगै उनका साला मात्र मणिग्राम आएका थिए । दुई दिनसम्म आईसीयूमा राख्दा पनि भिनाजुको स्वास्थ्य अवस्थामा सुधार नभएपछि अस्पतालको जोडबलमा भेन्टिलेटरमा सारिएको विरामीका सालाले बताए ।
उपचारकै क्रममा जेठ २ गते थ्रोट स्वाब संकलन गरेर प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाइएको थियो । र, सोमबार आएको रिपोर्टमा उनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
आफन्त तथा स्थानीयले भने लकडाउनका कारण विद्यालय बन्द भएकाले गाउँमै बसिरहेका उनलाई कसरी कोरोना संक्रमण भयो भनेर अनौठो मानिरहेबा छन् । ‘आफ्नो टोलबाट बाहिर जानुभएको थिएन, भारततिरबाट आएकासँग भेटघाट-सम्पर्क भएको पनि थाहा छैन’ संक्रमितका सालालेे जानकारि दिनुभयो।