ट्रेन्डीङ्ग
मानिसको शरीरमा कोरोनाभाइरस प्रवेश गर्ने आँखा पनि एक ‘मुख्य बाटो’ बाटो भएको हङकङ विश्वविद्यालयमा गरिएको एक अध्ययनले देखाएको छ । अध्ययनमा कोरोनाभाइरसको स्ट्रेन सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) र बर्ड फ्लू (एचफाइभएन१) भन्दा १०० गुणा बढी संक्रामक रहेको जनस्वास्थ्य विज्ञहरुको अध्ययनबाट देखिएको हो ।

प्रयोगशालामा गरिएको परीक्षणमा कोभिड–१९ गराउने कोरोनाभाइरसको स्ट्रेन सार्स–कोभ–२ (SARS-Cov-2) को ‘भाइरस लेभल’ हाम्रो माथिल्लो श्वासनली र कन्जङ्कटिभा (हाम्रो आँखाको सतह) मा सार्सभन्दा बढी रहेको पाइएको हो ।

हङकङ विश्वविद्यालयको स्कूल अफ पब्लिक हेल्थका डा. माइकल चान ची–वाईले नेतृत्व गरेको टोली कोरोनाभाइरसले शरीरको दुई प्रवेश विन्दुबाट संक्रमण गर्न सक्छ भन्ने प्रमाण प्रस्तुत गर्ने पहिलो शोधकर्तामध्ये एक हो । उनीहरुको खोजलाई द लान्सेट रेस्पिरेटरी मेडिसिनको नयाँ अंकमा प्रकाशित गरिएको छ ।

‘हामीले मानिसको श्वालीनली र आँखाको कोषिकाहरुलाई लिएर प्रयोगशालामा सार्स–कोभ–२ (SARS-Cov-2) को अध्ययन गर्दा त्यसलाई सार्स र एचफाइफएनवान (H5N1) सँग तुलना गरेका थियौँ । हामीले सार्सको तुलनामा कोरोनाभाइरसले आँखा र माथिल्लो श्वासनलीबाट मानिसलाई संक्रमण गर्न सक्ने क्षमता ८० देखि १०० गुणा बढी पायौँ,’ डा. चानले भने ।

‘यसले कोभिड–१९ सार्सभन्दा किन यति चाँडो फैलियो भन्ने प्रश्नको उत्तर पनि दिन्छ । यो अध्ययनले कोरोनाभाइरसको संक्रमण फैलिनुमा आँखामा पनि प्रमुख माध्यम रहेको देखाउँछ,’ डा. चानले भने ।

यसअघि, विश्वविद्यालयका शोधकर्ताहरुले प्लास्टिक र स्टेनलेस स्टिलमा कोरोनाभाइरस ७ दिनसम्म बाँच्न सक्ने देखाएको थियो । यो अध्ययनले कोरानाभाइरसको संक्रमणबाट बच्न आँखा नछुने र बारम्बार हात धुनुपर्ने कुरालाई पुनः स्थापित गर्दछ ।

‘हङकङमा महामारी नियन्त्रणमा रहे पनि विश्वका अन्य भागमा यो फैलिने क्रममा रहेको छ । हामीले अहिले नै नियन्त्रणका उपायहरुलाई खुकुलो पार्न हुँदैन,’ डा. चानको भनाइ छ ।

स्वास्थ्य अधिकारीहरुले चस्माबिना एन९५ मास्क र पीपीई मात्र लगाएर कोरोनाभाइरसको संक्रमणबाट बच्न सक्छन् भन्ने मान्यतालाई पनि यो अध्ययनले चुनौति दिएको छ ।

यसअघि, गत जनवरीमा पेकिङ विश्वविद्यालयका श्वासप्रश्वास सम्बन्धी रोगबारेका विज्ञ वाङ गुआङ फालाई ऊहानबाट बेइजिङ फर्किएपछि कन्जङ्क्टिभाइटिस भएको ३ घण्टामा ज्वरो आएको थियो । पछि परीक्षणमा उनलाई कोरोनाभाइरसको संक्रमण देखिपछि आँखाबाट यो सरेको हुन सक्ने आशंका गरिएको थियो ।

गत डिसेम्बरको अन्त्यमा चिनियाँ सहर ऊहानमा पहिलो पटक कोरोनाभाइरसको संक्रमण देखिएको थियो । बिहीबारसम्म यो महामारीबाट विश्वभर ३७ लाखभन्दा बढी संक्रमित बनिसकेका छन् भने २ लाख ६४ हजारभन्दा बढीले ज्यान गुमाइसकेको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकमा उल्लेख छ ।

स्रोत : साउथ चाइना मोर्निङ पोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय