ट्रेन्डीङ्ग

नौबहिनी गाउँपालिका-४, खबाङ स्थित दुर्गा माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना भएको छ । विद्यालयको ६५ औं वार्षिकोत्सब तथा विद्यालय भवन उद्घाटन कार्यक्रमको अवसरमा सामाजिक तथा अग्रज व्यक्तित्वहरुको स्मृति तथा उहाँहरुको नाममा अक्षयकोष स्थापना गरिएको छ ।

झिमरुक गाउँपालिका-७, तुषारा निवासी हरि जि. सी. र डा. आकाश जि. सी.ले आफ्ना बुबाहरु चुमान सिंह जि. सी. र पुर्णमान जि. सी. अक्षयकोष स्मृति पुरस्कारका लागि नगद रु. १ लाख ११ हजार १ सय पचास रुपियाँ विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ । चुमान सिंह जि. सी. र पुर्णमान जि. सी.ले लामो समय यस विद्यालयमा अध्यापन गराउनुभएकोले उहाँहरुको सम्झनामा अक्षयकोष स्थापना गरिएको छोरा हरि जि. सी.ले बताउनुभएको छ । एस.ई.ई. मा प्रथम हुने १ जना, एस.ई.ई. मा उत्कृष्ट अंक ल्याउने दलित विद्यार्थी १ जना र कक्षा ८ मा उत्कृष्ट अंक ल्याउने १ जना विद्यार्थीलाई पुरस्कृत गर्ने उद्देश्यले बुबाहरुको स्मृतिमा अक्षयकोष स्थापना गरिएकोमा उहाँले बताउनुभयो ।

यस्तै नौबहिनी गाउँपालिका-४, खबाङ निवासी पुरन सिंह थापाले आफ्नो हजुरबुबा बल बहादुर थापा स्मृति अक्षयकोष स्थापनार्थ ५ हजार, बुबा गुमान सिंह थापाको नाममा गत वर्ष नौबहिनी गाउँपालिकाबाट उत्कृष्ट कर्मचारीका रुपमा पुरस्कृत भए बापतको रकम मध्य ५ हजार अक्षयकोषका लागि विद्यालयलाई प्रदान गर्नुभएको छ । यस्तै आमा प्रेम कुमारी घर्ती मगर आफुले पाउने सामाजिक सुरक्षा भत्ता बापतको रकम समेत अक्षयकोषका लागि ७२ हजार रुपियाँ पुर्‍याएको उहाँले बताउनुभएको छ । साथै यी अक्षयकोष निरन्तर वृद्धि गर्दै जाने छोरा पुरन सिंह थापाले बताउनुभएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि रहनुभएका नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले अक्षयकोष स्थापनाले शिक्षक, विद्यार्थी र अभिभावकको सम्बन्ध र शैक्षिक गुणस्तरमा वृद्धि हुने बताउनुभएको छ । साथै शैक्षिक गुणस्तर वृद्धि गर्न भौतिक संरचना निर्माणसङ्गै विकास बजेट कटाएर दरबन्दी मिलान र मासिक परिक्षा गर्ने कार्यक्रम ल्याएको बताउनुभयो । विशेष अतिथि रहनुभएका उपाध्यक्ष विस्ना थापाले शिक्षक, बिद्यार्थी र अभिभावकको अन्तरक्रियात्मक कार्यक्रमलाई अगाडी बढाए आफुहरुले पनि समय अनिवार्य मिलाउने र शैक्षिक गुणस्तर बढाउन प्रतिबद्ध रहेको बताउनुभयो ।

वार्षिकोत्सब कार्यक्रममा उत्कृष्ट वर्ष विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय कर्मचारी, गत शैक्षिक सत्र २०८१ मा यस विद्यालयमा अध्यापन गराई अन्य विद्यालयमा सरुवा तथा पदस्थापना भएका शिक्षक/शिक्षिकाका साथै अक्षयकोष स्थापना दाताहरूलाई विद्यालयले सम्मान गरेको छ । वि.व्य.स. अध्यक्ष ईश्वर कुमार थापा मगरको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन मिनराज झाक्री मगरले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय