ट्रेन्डीङ्ग

गाउँपालिका वडा नम्बर ५ खुङको उपल्लो फुर्सेधारामा शुक्रबार बिहान एक वृद्धको शव भेटियो । टाउको, अनुहार, नाक र मुखमा गहिरो चोट र रगताम्बे अवस्थामा फेला परेका व्यक्ति सोही ठाउँका ६९ वर्षीय चिन्तामणी उपाध्याय थिए । जसको मुख्य कारण भने अवैध सम्बन्ध र मदिरा सेवन भएको प्रहरीले जनाएको छ ।

घटना भएको स्थानीयले लिवासे प्रहरी चौकीलाई खबर गरे लगत्तै प्रहरी घटना स्थल पुगेर अनुसन्धान अघि बढायो । प्रहरी निरीक्षक केशव केसी सहितको टोलीले घटनामा प्रयोग भएको भरुवा बन्दुकको पछाडीको भाग फेला पारेको थियो । मृतकको सिडिआर (कल डिटेल रेकर्ड) समेत प्रहरीले अध्ययन गर्न थाल्यो । जसले मृतक र पक्राउ परेकी बुहारी नाता पर्ने ५० वर्षीया जेदु कुमारी न्यापाने बीचको कनेक्सन भेटियो । जसले प्रहरीलाई अनुसन्धान अगाडी बढाउन सहज बनायो ।

प्रहरीले घटना हुनुको पछाडी ३ वटा कारण औल्याएको छ :

१) पक्राउ परेका ५१ वर्षीय लोक बहादुर गिरी र जेदु कुमारी न्यौपानेबीच विगतदेखी अवैध शारिरीक सम्बन्ध रहेको र उक्त कुरा मृतक उपाध्यायलाई समेत जानकारी भएको ।
२) करीव १ वर्ष अगाडी दुवै जना जेदुकुमारी न्यौपानेको घर कोठामा सुतेको अवस्थामा उपाध्यायले कोठाको चुक्कल लगाई दिएको र उक्त घटना छरछिमेकीले थाहा पाएको साथै दुवै जनाले उपाध्यायलाई मार्ने गरि रिइसिबी लिएको ।
३) मृतक उपाध्याय र जेदु कुमारी बीच लामो समयदेखी निरन्तर फोन सम्पर्क हुने गरेको ।

अनुसन्धानमा प्रहरीको सक्रियता :

घटनामा प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक दिपेश बस्याल सहित प्रहरी निरीक्षक केशव केसी लगायत करीव ५० जना प्रहरी परिचालन भएको थियो । “जेदु कुमारी र लोक बहादुर गिरीले बेलुका ६ बजेतिर भेटेर उपाध्यायलाई मार्ने योजना बनाएका रहेछन,” प्रहरी निरीक्षक केसीका अनुसार “करीब ८ बजेतिर मृतक उपाध्यायलाई जेदुकुमारीले फोन गरेर घटनास्थलमा भेट्न बोलाई ढुंगा र भरुवा बन्दुकले हानेर मारेका रहेछन् ।” जेदुकुमारीले उपाध्यायलाई राती ८ बजे भेट्न बोलाएर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले सक्रियतापूर्वक अनुसन्धान गरेर जेदु कुमारीलाई आफ्‌नै घरबाट र लोक बहादुर गिरीलाई भागेको अवस्थामा जंगलबाट नियन्त्रणमा लिएको प्रहरी निरीक्षक केसीले जानकारी दिनुभयो । “गिरी घरदेखी करीब ४ किलोमिटर टाढा जंगलमा लुकेर बसेका थिए,” उहाँले भन्नुभयो, “प्रहरीले घेरावन्दी गरेर नियन्त्रणमा लिएको हो ।” उनीहरुले मृतकले प्रयोग गर्ने मोबाईल फुटाएर जंगलमा फालेका थिए । नगद सात हजार रुपियाँ जेदु कुमारीले राखेको प्रहरीले जनाएको छ । पक्राउ परेका न्यौपाने र गिरीको नाता सम्बन्ध ज्वाई र दिदिसासुको रहेको प्रहरीले जनाएको छ । जेदु कुमारीको श्रीमान भारतमा बस्दै आएको र गिरीको घरमा श्रीमति सहित छोरा छोरी र बुहारी रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनास्थलबाट भरुबा बन्दुकको भाचिएको बटको ३ थान टुक्रा र घटनास्थलको खुट्टाको छापको नमुना शंकलन गरेको थियो ।
प्रहरीले अनुसन्धानका क्रममा उनीहरुबाट एक थान भरुवा बन्दुक, मुवाइल र नगद ७० हजार रुपैया बरामद गरेको प्रहरी निरिक्षक केसीले बताए ।

मदिरा र अवैध शारिरीक सम्बन्ध :

अनुसन्धानले दुवै जना पक्राउ परेका व्यक्तिले दैनिक मदिरा सेवन गर्ने गरेको देखिएको प्रहरीको भनाई छ । मदिरा सेवन गरि गिरीले घरमा श्रीमतिसँग समेत झगडा गर्ने गरेका थिए । हत्या भएको ठाउँमा जाँदा समेत दुवै जनाले कोदोको रोटी र मदिरा लगेर खाएका थिए । अवैध शारिरीक सम्वन्धका कारण नै घटना भएको प्रहरीको भनाई छ । यस्ता गतिविधि समाजमा बढ्दै गएको समेत प्रहरीले जनाएको छ । प्रहरीले आईतबार पत्रकार भेटघाटन गरि घटनाको बारेमा जानकारी गराएको हो । आरोपित दुवै जनालाई प्रहरीले अदालतबाट म्याद थप गरि थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय