प्यूठानमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको छ। जिल्ला प्रहरी कार्यालय प्यूठानले प्रस्तुत गरेको आत्महत्याको त्रि-वर्षिय तथ्यांकमा २०७९/८० मा झुण्डी मरेको संख्या ७० जना, विष सेवन गरी १ जना, हामफाली आत्महत्या ३ जना गरी कुल ७४ जनाले आत्महत्या गरेका छन् ।
२०८०/०८१ मा झुण्डि मर्नेको संख्या ७८ जना, विष सेवन १ जना सहित ७९ जनाले आत्महत्या गरेका छन् भने २०८१/८२ को पुस २३ गतेसम्म झुण्डी मरेको सख्या २७ जना, विष सेवन गरी २ जना सहित २९ जनाले आत्महत्या गरेको देखिन्छ । पछिल्लो ३ वर्षमा १ सय ८२ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांकमा उल्लेख छ । जिल्लामा देखिएको आत्महत्याको भयाभह: स्थितिलाई नियन्त्रण गर्न सबै पक्षको साझा प्रयास जरुरी रहेको औँल्याइएको छ ।
मंगलवार प्यूठान नगरपालिकामा भएको अन्तर्क्रिया कार्यक्रममा बोल्दै प्यूठान नगरपालिकाका नगर प्रमुख विष्णु योगीले सबै पक्षको साझा प्रयासले मात्रै आत्महत्या न्यूनीकरण सम्भव हुने विचार व्यक्त गरे । ‘हामी सबैमा कर्तव्य बोध हुन जरुरी छ ।’ योगीले भने ‘समाजमा रहेका नकारात्मक पक्षलाई हटाउन सबै सरोकारवाला पक्षबीच आपसि समन्वय सहकार्य अपरिहार्य छ ।’
कार्यक्रममा माण्डवी गाउँपालिकाका अध्यक्ष नमराज अधिकारी (रोशन) ले आत्महत्या न्यूनीकरण गर्नका लागि सबै पक्षले आफ्नो जिम्मेवारी तथा दायित्वप्रति सचेत हुन जरुरी रहेको औँल्याए। उनले भने ‘समाजमा रहेका सबै पक्षले आ-आफ्नो जिम्मेवारी सहित आत्मबोध गरौं ।’ प्रमुख जिल्ला अधिकारी रमा आचार्य सुवेदीले समुदायस्तरबाटै प्रभावकारी प्रयास भएमा आत्महत्या न्यूनीकरणमा आशातित सफलता हासिल गर्न सकिने विश्वास व्यक्त गरिन् ।
नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष श्रीराम भण्डारीले सरोकारवाला निकायले गर्ने हरेक कार्यक्रममा सबै पक्षको अपनत्व गराउनुपर्नेमा जोड दिए । नेपाल सरकार गृह मन्त्रालय र काठमाण्डौ विश्वविद्यालय मानसिक स्वास्थ्य केन्द्रको संयोजनमा कार्यक्रम गरिएको जिल्ला प्रशासन कार्यालय प्यूठानले जानकारी गराएको छ ।
कार्यक्रममा स्वास्थ्य केन्द्रका चिकित्सकहरु डाक्टर टीका रिजाल र डाक्टर जया शिल्पकारले मानसिक रोगका कारण, निदान र उपचारबारे आफ्नो प्रस्तुति राखेका थिए ।