![](https://pyuthankhabar.com/wp-content/uploads/2025/01/inbound1088440530058831750.jpg)
- २० पौष, २०८१ शनिबार_प्यार अलि खान
लुम्बिनी प्रदेश सरकारका शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा (रोज राणा) ले प्यूठानको कांग्रेस पार्टीमा सूर्यमुखी कांग्रेस तथा रुखमुखी कांग्रेसबीच लडाई रहेको बताएका छन् ।
शनिबार होटल आयुष्मा जुम्रीमा आयोजित नेपाली कांग्रेस प्यूठान नगरपालिका स्तरीय सम्मेलनलाई सम्बोधन गर्दै मन्त्री थापाले भने ‘३१ वर्षपछि जिल्लामा कांग्रेसको साख मैले फर्काएको छु।’ पुराना नेताहरु पदको लडाइँमा फस्दा नेपाली कांग्रेस बलियो बन्न नसकेको उनको जिकिर छ ।
चुनावको बेला आफूलाई हराउन जिल्ला पार्टीका जिम्मेवार नेताहरु लागि परेको उनले स्मरण गरे। ‘मलाई मन्त्री बन्न नदिन समेत जिल्लाका नेताहरु लागे।’ उनले भने, ‘मेरा विरुद्ध सबै लाग्नुहोस् तर म सफल भएरै छाड्छु। म काम गर्न आएको हुँ।’ जिल्लाको विकास पहिलो प्राथमिकता भएको उनले दाबी गरे। पार्टी बलियो बनाउन सबै लाग्नुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले जनप्रतिनिधिले विकास गर्न नसके पार्टी बलियो बन्न नसक्ने विचार व्यक्त गरिन्। उनले भनिन्, ‘विकास र विचार बिना पार्टी बलियो हुँदैन।’
सम्मेलनमा नेपाली कांग्रेस प्यूठानका पार्टी सभापति विष्णु गिरी लगायत संस्थापन पक्षका नेताहरुको उपस्थिति रहेको थिएन ।