नौबहिनी गाउँपालिका, प्युठानमा दोस्रो अध्यक्ष-२०८१ सुरु भएको छ । नौबहिनी गाउँपालिकाको आर्थिक सहयोग तथा नौबहिनी खेलकुद विकास समितिको आयोजनामा दोस्रो अध्यक्ष कप-२०८१ अन्तर्गत नौबहिनी पालिका अन्तर वडा स्तरीय पुरुष तथा महिला भलिबल प्रतियोगिताको सञ्चालन भएको हो ।
बिहिवार नौबहिनी गाउँपालिकाको खेल मैदानमा कार्यक्रमको समुद्घाटन नौबहिनी गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले गर्नुभएको हो । उद्घाटन पश्चात् मैत्रीपुर्ण खेल भने गाउँपालिकाका कर्मचारी र खेलकुद विकास समिति बिच भएको थियो । खेलमा गाउँपालिकाका कर्मचारी विजेता बनेका थिए ।
प्रतियोगितामा भने पालिकाका ८ वटै वडाबाट पुरुष ८ र महिला ८ गरि १६ टिम सहभागी छन् । सहभागी विजेता तिमहरूलाई पुरुषतर्फ क्रमश ६१, ४१, २१ र ११ हजार १ सय ११ र महिला तर्फ ३१, २१, ११ र ७ हजार १ सय ११ नगद पुरस्कार सहित ट्रफी, मेडल र प्रमाणपत्रको व्यवस्था गरिएको छ भने प्रत्येक सहभागी टिममलाई नगद रु. ५ हजार प्रोत्साहन पुरस्कारको व्यवस्था गरिएको छ ।
नौबहिनी गाउँपालिकाका अध्यक्ष दिल बहादुर थापाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा, नौबहिनी गाउँपालिकाका निवर्तमान अध्यक्ष शिवराज रिजाल, निवर्तमान उपाध्यक्ष घन बहादुर बुढा मगर समेतले शुभकामना मन्तव्य राख्दै खेल मैदान र खेलाडीहरुको उचित व्यवस्थापन गर्न सुझाउनुभएको थियो ।
प्रमुख अतिथि समेत रहनुभएका थापाले हालसम्म सबैको सहयोग र समर्थन भएकाले यस्ता कार्यक्रमहरु गर्न प्रेरणा मिलेको साथै अन्य विकासका काममा समेत निरन्तर सहयोग र सहकार्यमा काम गरिरहेका बताउनुभएको छ ।
समितिका अध्यक्ष जनक बुढा मगरले अध्यक्षता गरेको कार्यक्रमको सञ्चालन समितिका सदस्य कृष्ण के. सी.ले गर्नुभएको थियो ।