
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमकि शिक्षा परीक्षा (एसईई) को नतिजा आज सार्वजनिक गरेको छ । प्यूठान जिल्लाबाट परीक्षामा सहभागी भएका ३ हजार ९ सय ७६ जना मध्ये स्वर्गद्वारी नगरपालिका अन्तर्गत लोकचेतना एकेडेमि जलुके भिंगृ प्यूठानबाट सहभागि विद्यार्थी अच्युत पुडासैनीले प्यूठान जिल्लाभरमा सर्वोत्कृष्ठ अंक प्राप्त गरेको विद्यालयले दाबि गरेको छ । विद्यालयका अनुसार पुडासैनीले ३.९५ जिपिए ल्याउनुभएको छ ।
त्यसैगरी जिल्लाभरमा दोस्रो अंक ल्याउनेमा स्वर्गद्वारी एकेडेमि भिंगृबाट परीक्षामा सम्मिलित विद्यार्थी अभिसेक कालाथोकीले ३.९३ जिपिए लिएर जिल्लाभरमा दोस्रो नतिजा प्राप्त गरेको विद्यालय प्रशाशनले जानकारी दिएको छ ।
प्यूठान नगरपालिका ४, विजुवार टारी स्थित कालिका आवासिय बोर्डिङ स्कुलबाट सम्मिलित विद्यार्थी प्यूठान भरमा जिल्ला तेस्रो र चौथो स्थान हासिल गरेका छन् । जिल्ला तेस्रो हुने हिरा जैसीले ३.८६ जिपिए लिएको विद्यालय स्रोतले जानकारी दिएको छ भने यसै विद्यालयका शुसाङ्क रिजाल र सञ्जिता गिरिले ३.८३ जिपिए लिएर टप फोर बनेका छन् ।
प्यूठान जिल्ला भरमा साधारण धार तर्फका ३० जना र प्राविधिक धारतर्फका ४ जना गरी ३४ जना विद्यार्थीले ए पलस जिपिए प्राप्त गरेका छन् ।
जिल्लाभरका विद्यालयको स्थानीय तह अनुसार नजिताको विश्लेष्ण गर्ने काम भइरहेको र डाटा रुजु गरिसकेपछि भोलि विस्तृत नतिजा सार्वजनिक हुने शिक्षा विकास तथा समन्वय इकाई प्यूठानका प्रमुख दुर्गा खड्काले बताउनुभयो ।
यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षामा प्युठानबाट २ हजार १ सय ३९ जना छात्रा र १ हजार ८ सय ३७ जना छात्र गरी ३ हजार ९ सय ७६ जना विद्यार्थीहरुले एसईई परिक्षा दिएका थिए ।
यो वर्षको एसइई परीक्षामा जिल्लाका ७२ सामूदायिक विद्यालय, ७ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु परिक्षामा सम्मिलित भएका थिए । कुल परीक्षार्थी मध्ये ८ वटा विद्यालयबाट २ सय ५ जना प्राविधिकधार तर्फका थिए भने परीक्षा सञ्चालनका लागि १६ वटा परीक्षा केन्द्र तोकिएको थियो ।