ट्रेन्डीङ्ग

प्यूठान जिल्लामा दलित पत्रकारको नाम लिँदा गर्भिलो इतिहास छ । सुर्य बहादुर बिश्वकर्माको नेतृत्वमा प्यूठानमा २०५८ सालमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा प्यूठानको स्थापना भएको थियो ।

केहि वर्ष पहिले संस्थापक अध्यक्ष बिश्वकर्माको दुर्घटनामा परि देहवसान भएपनि सञ्चार कर्ममा दलित पत्रकारहरु बढ्दै गएका छन् । आम सञ्चारका माध्यम स्थापना सँगै बन्द हुने क्रम चलेपनि पछिल्लो समय प्यूठान जिल्लामा सञ्चार क्षेत्रमा दलित पत्रकारहरुको बाहुल्यता बढ्दै गएको छ ।

प्यूठान समाचार साप्ताहिक पत्रिकामा कविता लेखेर पत्रकारितामा लाग्नुभएका मल्लरानी गाउँपालिकाका भुवनसिंह सामुदायिक रेडियो प्रशारक संघको हाल उपाध्यक्ष हुनुहुन्छ । पत्रिकाबाट पत्रकारितामा लाग्नुभएका भुवनसिंह लामो समयदेखि रेडियो क्षेत्रमा कार्यरत हुनुहुन्छ । पुराना पुस्ताका उहाँहरु सँगै अहिले प्यूठान जिल्लामा रेडियो, पत्र पत्रिका, अनलाइन न्युज पोर्टल र केन्द्रिय स्तरका मिडियाहरुमा समेत दलित पत्रकारहरु सक्रिय रुपमा कार्यरत छन् ।

सञ्चार क्षेत्रमा काम गर्न रहरले प्रवेश गर्नुभएका लोकेन्द्र सुनार अहिले राष्ट्रिय दलित पत्रकार संघ जिल्ला शाखा प्यूठानको अध्यक्ष हुनुहुन्छ । रहर अनुसारकै मेहनत गरि अहिले यो स्थापन प्राप्त गर्नुभएका उहाँले अवसर सँगै सञ्चार क्षेत्रमा टिक्नका लागि थुप्रै कठिनाइ झेलेको बताउनहुन्छ । रेडियो प्यूठानबाट पत्रकारितामा लाग्नुभएका उहाँले साप्ताहिक पत्रिका सञ्चालन सँगै अहिले प्यूठान जागरण डट कम न्युज पोर्टल चलाइरहनुभएको छ ।

रेडियो प्यूठानमा प्राविधिक फाँटमा काम गर्ने गरी सञ्चार कर्ममा होमिनु भएका कमल बि.क. करिब १ दशक भन्दा बढि रेडियो र पत्रिकामा कार्यरत रहेको बताउनुभयो । आफु दलित भएको र स्थानीय सञ्चारमाध्यममा काम गर्दा कैयौ ंबाधा व्यधान सहनु परेको उल्लेख गर्दै उहाँले सञ्चार क्षेत्रबाटै जहिल्यै सम्मानित भएको महसुस गर्नुहुन्छ । रेडियो प्यूठान, रेडियो कृपालु, प्यूठान समाचार साप्ताहिकमा काम गरेको अनुभवन सुनाउँदै उहाँ अहिले प्यूठान समाचार डटकममा आवद्ध रहेको बताउनुभयो ।

रेडियो पत्रकारिताबाट सञ्चार क्षेत्रमा लाग्नुभएका राम बहादुर बि.क. प्रेस चौतारी नेपाल प्यूठानको सचिव हुनुहुन्छ । साप्ताहिक पत्रिका स्वर्गद्वारी सन्देश सँगै हाल पैरवी अनलाइन पत्रिका सञ्चालन गरिरहनुभएका उहाँले सम्मान र उचित दाम नपाएपछि सञ्चार क्षेत्रबाट टाढिने कोसिस गरेपनि निस्कन नसकेको बताउनुहुन्छ । ‘‘पत्रकारितामा काम गर्न छोडेको छैन” उहाँले भन्नुभयो, ‘‘पारिवारिक दायित्वका लागि शिक्षण पेशामा आवद्ध भएपनि मुख्य पेशा पत्रकारिता जगतमै जमिरहेको छुँ ।’’

एसएलसि परीक्षा दिएसँगै रेडियो लिस्नेबाट पत्रकारिता क्षेत्रमा लाग्नुभएका बोम बहादुर परियारले सञ्चार क्षेत्रमा अझै जातिगत ‘फ्याक्टर’ हाबी रहेको बताउनुहुन्छ । ‘जातिगत ‘फ्याक्टर’ नेपालभरका अधिकांश सञ्चारमाध्यममा हाबि छ’, उहाँले भन्नुभयो, ‘जातिगत ‘फ्याक्टर’ र श्रम शोषणले गर्दा दलित र विपन्नलाई सञ्चार क्षेत्रमा टिक्न गाह्रो भइरहेको छ ।’

 

अहिले दलित पत्रकार संघ प्यूठानको सचिव रहनुभएका उहाँले स्वास्थ्यकर्मीको रुपमा काम गरेको अनुभव भएपनि सञ्चार क्षेत्रबाट आफू टाढिन नसक्ने बताउनुहुन्छ । रेडियो झुलेनीमा आफू स्टेशन म्यानेजरको रुपमा काम गरिरहँदा पछिल्लो समय दलित पत्रकारहरु बृद्धि भएको देख्दा खुसि ब्यक्त गर्नुहुन्छ । ‘रेडियो, अनलाइन, पत्रिका सबै ठाउँमा दलित पत्रकारहरुले धानेका छन्’, उहाँले भन्नुभयो, ‘समावेशीकरण, विभेद अन्त्य र सम्मानजनक सहभागिताका लागि सञ्चार क्षेत्रमा दलित पत्रकारहरुको बाहुल्यता बढ्न जरुरी छ ।’

रेडियोबाट उदायका रोल्पाका गन बहादुर बि.क. (पेस्तोल) लामो समयदेखि प्यूठानमा पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्छ । नाम चलेका रेडियोका बिज्ञापनमा भ्वाइस राख्नेदेखि प्राविधिक क्षेत्रमा दक्षता हासिल गर्नुभएका उहाँ पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएको छ ।

स्वर्गद्वारी नगरपालिका क्षेत्रमा साप्ताहिक पत्रिका स्थापना गर्नेदेखि हाल फरक पोष्ट डट कम अनलाईन न्युज पोर्टल सञ्चालन गरिरहनुभएका गोबिन्द बि.कले सञ्चार क्षेत्रमा दलित पत्रकारहरुको सहभागिता र सवालको ‘कभरेज’ बढाउन जोड दिनुपर्ने बताउनुभयो । उहाँका अनुसार सरकारी तथा निजी मिडियाहरूमा दलित पत्रकारको सहभागिता बृद्धि गराउनुपर्ने बताउनुभयो ।

पत्रकारितामा आर्थिक समस्याले उदाउँदै हराउँदै गर्ने प्रचलनमा दलित सवालका मुद्धा ओझेल पर्ने गरेको बताउँदै सञ्चारकर्मी बिन्दु परियारले आफू पत्रकार भएकै कारण प्राणघातक रोगबाट छुटकारा पाएर नव जिवन प्राप्त गरेको बताउनुहुन्छ । उहाँका अनुसार रेडियो माण्डवीमा कार्यरत रहँदा ब्लड क्यान्सरबाट ग्रसित उहाँले नव जिवन प्राप्त गर्नुभएको थियो ।

पछिल्लो समय प्यूठानमा जिल्लामा स्थापित पत्रकारसँगै सिता बि.क. (पैरवि डटकम), सन्तोष बि.क. (स्वर्गद्वारी अपडेट), केशर सुनार (रासस÷जनखोजि डटकम), तेजेन्द्र परियार (गामवेसी अपडेट), भुवन बिश्वकर्मा (रेडियो झुलेनी), शुसान्त श्रीपाली (रेडियो माण्डवी), रबिन बि.क., केन्द्र प्रकाश पिवि, कुलचन्द्र बि.क., सुरेन्द्र नेपाली, ज्योति बि.क., सबिता बि.क., पुनम सुनार लगायत प्यूठान जिल्लामा अन्य दर्जनौ दलित पत्रकार पत्रकारिता क्षेत्रमा आवद्ध हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय