ट्रेन्डीङ्ग

यस वर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेबाट सुरु भएको परिक्षामा प्युठानबाट २ हजार १ सय ३९ जना छात्रा र १ हजार ८ सय ३७ जना छात्र गरी ३ हजार ९ सय ७६ जना विद्यार्थीहरुले एसईई परिक्षा दिइरहेका छन् । संख्यात्मक हिसाबले छात्र परिक्षार्थीको भन्दा ३ सय २ जना छात्रा परिक्षार्थीको संख्या बढी रहेको छ ।

यो वर्षको एसइई परीक्षामा जिल्लाका ७२ सामूदायिक विद्यालय, ७ संस्थागत विद्यालय तथा एक खुल्ला विद्यालयका विद्यार्थीहरु परिक्षामा सम्मिलित भैरहेका छन् । कुल परीक्षार्थी मध्ये ८ वटा विद्यालयबाट २ सय ५ जना प्राविधिकधार तर्फका छन् भने परीक्षा सञ्चालनका लागि १६ वटा परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय इकाई प्युठानका प्रमुख दुर्ग बहादुर खड्काले जानकारी दिनुभयो ।

Exif_JPEG_420

यसैगरी आजबाट देशभरका सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुदैछन ।

यस वर्षको एसइई परीक्षामा जापानबाट समेत २३ जना सहभागी हुने भएका छन् । जापानमा रहेको एभरेष्ट स्कूलमा एक परीक्षा केन्द्रबाट १५ छात्रा र ८ छात्र गरी २३ विद्यार्थीले परीक्षा दिने भएका छन् ।

यसवर्षको परीक्षामा भने बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ लागू गरेको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने प्रावधान रहेकोमा यस वर्ष विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनै पर्ने भएको छ ।

एक सय पूर्णाङ्क रहेको विषयमा ३५ र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनु पर्ने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ । ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनः मौका परीक्षामा सहभागी हुनुपर्ने प्रावधान रहेको छ ।

३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको छ । विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने परिक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय