प्युठानको नौबहिनी गाउँपालिकामा आजदेखी राष्ट्रिय कलाकरहरुद्वारा बालविवाह न्यूनीकरण सम्बन्धि सडक नाटक गर्न थालिएको छ । गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को स्वीकृत कार्यक्रम अन्तर्गत गाउँपालिकाका १० वटै माध्यमिक विद्यालयहरु र ७ नं. वडा कार्यालयमा कार्यक्रम तय गरेको छ ।
पछिल्लो समय बालविवाहका बढ्दै गएकाले कार्यक्रमको माध्यमबाट सन्देश प्रवाह गरि गरि जनचेतनाको वृद्धि गर्ने उदेश्यले सडक नाटक गर्न थालिएको गाउँपालिका अध्यक्ष दिल बहादुर थापाले बताउनुभयो । आम बालबालिका र अभिभावकमा बालविवाहको असर, कानुनी कारबाहीको प्रक्रिया लगायतका विषयवस्तु समेटिएको सन्देश मुलक नाटकले बालविवाह न्यूनीकरणमा ठूलो भुमिका खेल्ने विश्वास लिएको समेत अध्यक्ष थापाले बताउनुभयो ।
रामचन्द्र अधिकारी (गोक्टे काजी), शुरविर पण्डित (दारी बा) लगायत राष्ट्रिय कलाकारहरुको टिमले आज आइतबार श्री लुप्लुङ्ग मावि लुप्लुङ्ग, श्री अम्बिका मावि फोप्ली, श्री गङ्गा मावि बाहाने र श्री जनजाति मावि लुङ्गमा नाटक प्रदर्शन हुदैछ । माघ ८ गते सोमबार श्री नेपाल राष्ट्रिय मावि, डम्री र श्री गावै मावि गावै र श्री अन्धनासक मावि, लिघामा नाटक प्रदर्शन हुनेछ । यस्तै श्री शिव मावि स्याउलिबाङ्ग, श्री बराह मावि झिम्प र श्री दुर्गा मावि खबङ्गमा माघ ९ गते नाटक प्रदर्शन हुनेछ ।
गाउँपालिकाले २०८०/०८१ को निति तथा कार्यक्रमबाट आगामी ४ वर्षमा बालविवाह शुन्यमा पुर्याउने लक्ष्य सहित सडक नाटक गर्न थालिएको प्रमुख प्रशासकीय अधिकृत शिवराज पौडेलले बताउनुभएको छ ।
गाउँपालिकाले उक्त कार्यक्रमका लागि “बालविवाह उन्मुलनका लागि विद्यार्थी अभिभावक सचेतनात्मक कार्यक्रम” शिर्षकमा ७ लाख रुपैयाँ बजेट बिनियोजन गरेको छ ।