कवि घनश्याम अस्तित्वको भर्खरै बजारमा आएको कवितासंग्रह “चिहानमाथि महल बनाइरहेको मान्छे”माथि रोल्पामा विमर्श गरिएको छ । शनिबार रोल्पाको लिबाङमा उक्त सङ्ग्रहको वाचन र बहस कार्यक्रम गर्दै विमर्श गरिएको हो ।
डेढ दशकदेखि दाङमा रहेर साहित्य सिर्जना र सिर्जनात्मक अभियान सञ्चालन गरिरहेका कवि अस्तित्वको यो पहिलो कविता संग्रह हो । जुन सङ्ग्रह माथि साहित्यकार डिवि टुहुरो, पत्रकार खेम बुढामगर, संघीय संसद सदस्य इश्वरी घर्ति मगर, कवि घनश्याम अस्तित्वको बीचमा विमर्श गरिएको हो । विमर्श (वाचन र बहस) सहजकर्ताको भूमिकामा कवि प्रेमप्रकाश रहनुभएको थियो ।
साहित्यकार डिवि टुहुरोले पछिल्लो नेपाली कविता लेखनमा गद्य कविताको वर्चस्व रहेको र अस्तित्वको यो कवितासंग्रह नेपाली कविता लेखनलाई एक बलियो हस्तक्षेप भएको बताउनु भएको थियो । कविता लेखन शैली कविता लेखिरहेका अरु कविहरुको भन्दा पृथक रहेको बताउँदै उहाँले अस्तित्वको कवितामा जीवन, समय, र समाजको बलियो उपस्थिति रहेको उल्लेख गर्नुभएको थियो ।
वक्ताका रुपमा रहनुभएका पत्रकार खेम बुढामगरले कविताहरु गाउँ केन्द्रित भएको बताउँदै रोल्पाको बलियो उपस्थिति भएको कुरा उल्लेख गर्नुभएको थियो । दश वर्षे जनयुद्ध र आजको वर्तमान परिवेशलाई कवितामा उतार्दै सिर्जना गरिएको रोल्पा कविता अत्यन्तै शसक्त कविता हो भन्दै सबै रोल्पालीहरु र रोल्पाको नेतृत्व गर्ने सबैले पढ्नुपर्ने कविताका रुपमा व्याख्या गर्नुभएको थियो ।
त्यस्तै वक्ताकै रुपमा रहनु भएकी संघीय संसद सदस्य समेत रहेकी इश्वरी घर्ति मगरले कविताहरु पढ्दै गर्दा आफू जनप्रतिनिधीको रुपमा रहेका कारण अस्तित्वले म आफैलाई पनि खबरदारी गरेर कविता लेखिएका रहेछन् भन्ने महशुस भएको बताउनुभएको थियो । अस्तित्वका कवितामा ग्रामिण जीवन, नेताहरुप्रति आक्रोश, विविध विकृति विसंगतिहरुमाथि प्रहार गरिएको बताउनुभएको थियो ।
कवि अस्तित्वले भने हरेक कवि समयप्रति सचेत हुनुपर्ने र आफूले त्यही प्रयत्न गरिरहेको बताउदै अन्य दुई वटा कविता वाचन गर्नुभएको थियो भने कार्यक्रमको सहजीकरण चन्द्रज्योती सुवेदीले गर्नुभएको थियो भने ।