ने.रा.मावि डामृमा स्थापना गरिएको कमानसिंह घर्ती मगर स्मृति पुरस्कारद्वारा रमिता बुढा मगरलाई पुरस्कृत गरिएको छ । श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय नौबहिनी गाउँपालिका-५, डामृको सामाजिक परिक्षण तथा पुरस्कार वितरण कार्यक्रमको अवसर पारेर नौबहिनी गाउँपालिका- ५, डाम्री, सानोडामृकी कक्षा ९ मा अध्ययनरत उनलाई पुरस्कृत गरिएको हो ।विद्यालयको सामाजिक परिक्षण कार्यक्रममा आ. व. २०७९/०८० को शैक्षिक प्रतिवेदन प्रस्तुत गर्दै विद्यालयका प्रधानाध्यापक नर बहादुर घर्ती मगरले विद्यालय स्थापना भएको ५८ औं पूरा भैसकेको अवस्थामा डाम्री लगायत आसपासका छिमेकी गाउँका वार्षिक ७ सय भन्दा माथी विद्यार्थीहरुलाई अनवरत रुपमा शिक्षा प्रदान गर्दै आइरहे पनि भौतिक संरचना र विद्यार्थी निरन्तर विद्यालय उपस्थिति नहुदा समस्या हुने गरेको समेत बताउनुभयो ।
२०७९/०८० को आर्थिक प्रतिवेदन सह-प्रधानाध्यापक तथा सामाजिक परिक्षण सदस्य सचिव श्यामा के. सी. ले १ करोड ६ लाख तेह्र हजार ५ सय सत्र रुपैया ७१ पैसा आम्दानी र यस वर्षको जम्मा मौज्दात (बचत) ४ लाख ३८ हजार ६ सय ६९ रुपैयाँ ८६ पैसाको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहनुभएका नौबहिनी गाउँपालिका-५, नं. वडा अध्यक्ष दलराज पुन मगरले विद्यालयको शैक्षिक सुधार गर्नको निमित्त उल्लेख्य भुमिका खेल्न पछि नपर्ने बताउनुभएको थियो ।
कार्यक्रममा स्वर्गीय श्रीमान कमानसिंह घर्ती मगर स्मृतिमा श्रीमती कला देवी घर्ति मगरले स्थापना गरेको स्मृती पुरस्कारको कदर गर्दै छोरा गङ्गा घर्ति मगरलाई पनि विद्यालयले सम्मान पत्र प्रदान गरेको थियो । २०७५ सालदेखि स्थापना भएको कमान सिंह घर्ती मगर स्मृति पुरस्कार गत वर्ष कक्षा ९ की छात्रा बन्सी थापा मगरले प्राप्त गरेकी थिइन् ।