ट्रेन्डीङ्ग

काठमाडौँ — बाँदरले बाली क्षति गरेमा कृषकहरूले क्षतिपूर्तिस्वरुप १० हजार रुपैयाँसम्म पाउने भएका छन् । वन तथा वातावरण मन्त्रालयले जारी गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ अनुसार पहिलो पटक बाँदरबाट हुने क्षतिलाई राहत दिने तयारी सरकारले गरेको हो ।

सरकारले यसअघि हात्ती, गैंडा, बाघ, भालु, चितुवा, हिउँ चितुवा, ध्वाँसे चितुवा, ब्वाँसो, जंगली कुकुर, जंगली, बँदेल, अर्ना, मगर गोही, गौरीगाई र अजिंगर गरेर १४ वटा वन्यजन्तुका कारण हुने क्षतिबापत राहत दिने गर्थ्यो । नयाँ निर्देशिकामा नीलगाई र बाँदरका कारण हुने मानवीय, पशु र अन्नबालीमा गर्ने क्षतिबापत पनि राहत दिने व्यवस्था गरिएको छ ।

यसअघि सरकारले २०६९ सालमा ल्याएको वन्यजन्तुबाट हुने क्षतिको राहत सहयोग निर्देशिकामा बाँदरले गर्ने क्षति सम्बन्धमा राहत उपलब्ध गराउने व्यवस्था थिएन ।

२०६९ सालको उक्त निर्देशिका खारेज गर्दै सरकारले साउन १ गतदेखि लागू गरेको ‘वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका-२०८०’ जारी गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपमहानिर्देशक अजय कार्कीले जानकारी दिए ।

बाँदरले घाइते बनाएमा, अंग भंग गरेमा वा बाँदरका कारण मृत्यु भएमा पनि सरकारले राहत दिने भएको छ । निर्देशिकामा बाँदरका कारण सामान्य घाइते भएमा २० हजार, गम्भीर घाइते भएमा २ लाख र मृत्यु भएमा १० लाख रूपैयाँ राहत स्वरुम दिइने उल्लेख छ ।

अन्य वन्यजन्तुको हकमा पनि यही प्रावधान छ । नेपालको मध्य पहाडी क्षेत्रमा बाँदर र तराई क्षेत्रमा नीलगाईले धेरै नै दुःख दिने गरेको छ ।
निर्देशिका वन्यजन्तुका कारण घाइते भएर जीवनभर अंगभंग भएर बस्नुपर्ने अवस्था भएमा त्यस्ता घाइतेहरुलाई एकमुष्ठ ५ लाख रूपैयाँ दिने व्यवस्था गरिएको छ । इकान्तिपुर दैनिकबाट साभार ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय