
नेकपा मसालको संगठन प्यूठानमा मसाल निभेझै भएको छ । कुनै बेला यस्तो भनिन्थ्यो प्यूठानमा त ढुङ्गो माटो पनि मसाल पार्टीमा छन् । तर, हिजो आज त्यो बेलाको बल्दो मसालको दियो तेजीलो छैन, निभ्न लागे झै धिपधिप भएको छ ।
जिल्लामा मसालको संगठन भताभुङ्ग छ । यसको परिणाम भर्खरै सकिएका स्थानीय, प्रदेश र संघिय निर्वाचनमा नेकपा मसालको चुनावी मोर्चा राजमोले नेपाली कांग्रेस र नेकपा माओबादी केन्द्रको बैशाखी टेकेर समेत सर्बनास हार व्यहोर्न प¥यो । यद्यपी नेकपा मसालमा बसेर पार्टीको काँध थापेका पूराना नेता कार्यकर्ता धेरै जसो नेकपा मसालमा छैनन् । पार्टीले विभिन्न आरोप लगाउदै कारबाहिको डण्डि बर्साइरहेको छ ।
मोहन बिक्रम सिंह र दुर्गा पौडेलको (एस म्यान) हुन नसक्ने, थोरै आलोचना गर्नेहरुलाई पार्टीबाट पाखा लगाउने क्रम रोखिएको छैन । नेकपा मसाल भित्रको एक स्रोतका अनुसार केहि दिन पहिले मात्रै वर्षौ देखि नेकपा मसालमा बसेर दुःख गरेका पूर्वी प्यूठानका पूराना मसालका नेता बोमबहादुर खत्रीलाई जिल्ला सक्रेटरीबाट हटाइएको छ ।
त्यो ठाउमा बसाइ सरेर दाङ घोराही गएका शुरेश थापालाई प्यूठानको सेक्रेटरीको जिम्मेवारी दिइएको छ । खत्रीलाई दुर्गा पौडेल संघिय सांसद उठेको निर्वाचनको समयमा राम्रो भुमिका निर्वाह नगरेको आरोप लगाएको स्रोतको दावी छ । अर्को रहस्यमय कुरा त के छ भने प्यूठानमा बसेर मसालको सेक्रेटरी सम्मालेका धेरै नेता हाल मसाल पार्टीमा छैनन् ।
भोजविक्रम जि.सी., चोपलाल आचार्य, बिमल शर्मा लगायत मसालको सेक्रेटरी सम्मालेका नेताहरुले मसाल पार्टी छाडिसकेका छन् । तत्कालिन समयमा नेकपा मसाल र नेकपा एकता केन्द्रबीच पार्टी एकिरण हुँदा नेकपा मसाल बाट १६ जना केन्द्रीय कमिटिमा बसेका मध्ये अहिले मोहन बिक्रम सिंह र चित्रबहादुर केसी बाहेक अरु नेताले मसाल पार्टी छोडीसकेका छन् । स्रोतका अनुसार मोहन विक्रम सिंहका (एसम्यान) दुर्गा पौडेल, शिव पौडेल, चन्द्र बहादुर केसी, सुरेश थापा, आनन्द शर्मा लगायतले पार्टी कब्जा गरेका छन् ।