ट्रेन्डीङ्ग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष शुवास नेम्वाङले नेपाली कांग्रेससँग टासिएर गठबन्धन गरीरहेका कम्युनिष्ट नामधारी दलहरुलाई कम्युनिष्ट बिचारधाराबाट बिचलित भएको बताउनुभएको छ ।

आफ्नै पार्टीको बहुमत सरकार ढालेर विपक्षी दलको काँध थाप्नुले उनीहरु नैतिकताको कम्युनिष्ट राजनितीबाट पराजित भएको उल्लेख गर्नु भएको हो । कांग्रेस नेताको भनाई उदृत गर्दै उपाध्यक्ष नेम्वाङले भन्नुभयो, ‘कम्युनिष्ट नामका केहिँ दलहरु लमक लमक हिडिरहेको हात्तिको कानमा बसेका चमेराहरु हुन् ।’

नेपाली कांग्रेसका एक नेतासँग भएको छलफलको प्रसङ्ग निकाल्दै उहाँले प्यूठानमा आयोजित जिल्ला स्तरीय कार्यकर्ता प्रशिक्षण भेलामा उहाँले यस्तो बताउनुभएको हो ।

अर्को फरक प्रसङ्गमा उपाध्यक्ष नेम्वाङले नेकपा एमालेबाट अलग्गिएर नेकपा एस पार्टी बनाएका माधव नेपालले पार्टी फुटको औचित्य पुष्टि गर्न नसकेको जिकिर गर्नुभयो । ‘पार्टीमा बिचारको झगडा हुन्छ, बिचारमा विवाद हुन्छ’, उहाँले भन्नुभयो, ‘पार्टीमा रहँदा बखत र चोइटिएर गएपनि एमालेकै सत्तो सराप गर्नु शिवाय माधव कमरेडले अरु जान्नुभएको छैन ।’

बिपक्षीसँग गठबन्धन गरी २० प्रतिशत लिएर पार्टी फुटाएका कमरेडले स्थानीय तहको निर्वाचनमा ४ प्रतिशत ल्याउँदा पनि कमजोरी महसुस नगरेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, ‘एक्लै भिडेको भए त्यो ४ प्रतिशत त कहाँ आउँथ्यो र अरुसँग गासिएर त्यहि पनि ल्याउनु भएछ ।’

नेपाली कांग्रेससँग गठबन्धन गरी धारिलो बञ्चरोको बिँड बनेका उनीहरु आगामी मंसिर ४ को निर्वाचनबाट जनताले पाखा लगाउने जिकिर गर्नुभयो । ‘हामिलाई जनताले अति विश्वास सहित आसिर्वाद दिएका छन्’, उहाँले भन्नुभयो, ‘आगामी निर्वाचनमा बहुमत सहितको सरकार एमालेको एजेण्डा हो ।’

जिल्ला स्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष नेम्वाङले निरङ्कुसताका विरुद्ध लडौ भन्दा नमान्ने कांग्रेससँग कम्युनिष्ट नामका केहिँ दल आफै गाँसिएर नेकपा एमाले बिरुद्ध लाग्दा विश्व चकित बनेको बताउनुभयो । ‘एमालेसँग कांग्रेस आँखामा आँखा जुधाउन सक्दैन’, उहाँले भन्नुभयो, ‘तर आफ्नै विराधलाई काट्ने बञ्चरोको बिँडलाई कठैवरा भन्ने शिवाय अरु के भनौं र ।’

आगामी निर्वाचनमा एमालेले जनतासामु सत्तारुढ दलका बिरुद्ध लैजाने मुद्धाका अनगिन्ति चाङ भएको उल्लेख गर्दै उहाँले एमालेमा पनि पार्टी पंक्ति र पद्धति बलियो हुनुपर्ने बताउनुभयो ।

स्थानीय तहको निर्वाचनमा हामी आफ्नै खुट्टामा अल्झेर केहिँ ठाउँमा लडेपनि खिया लागेका नटबोल्ट सफा गर्नुपर्ने बेला आएको बताउनुभयो ।
‘हामी विरुद्ध अरु दलहरु सबै एक छन् भने हामी एकजुट हुनुपर्ने होइन ?’, उहाँले भन्नुभयो, ‘२/३ सय पार्टीको सदस्य सहित भोट भने २४ किन आउँछ, हामी आफ्नै खुट्टामा अल्झेका होइनौ ?’

अँझैपनि समय नघर्केको प्रशिक्षण कार्यक्रममा कार्यकर्तालाई आश्वस्त पार्दै नेम्वाङले आफ्नो थैलीको मुख बलियो बनाउनुपर्ने बताउनुभयो ।
नेकपा एमाले जिल्ला कमिटि प्यूठानले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रममा नेम्वाङ सहित पोलिटव्युरो सदस्य तथा लुम्बिनी प्रदेश सह इन्चार्ज बिमला घिमिरे, पोलिटव्युरो सदस्य तथा प्यूठान इन्चार्ज सूर्य थापा, अनुशासन आयोग सदस्य झपेन्द्र जिसी लगायतले प्रशिक्षण दिनुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय