
सरुमारानी गाउँपालिका प्यूठानले बिपन्न परिवारका लागि मिटर बक्स बितरण अभियान थालेको छ । गाउँपालिकाले सरुमानी ४ नं. वडाका विपन्न परिवारका लागि मिटर बक्स सहित कालो तार उपलब्ध गराएर अभियानको सुरुवात गरेको हो ।
आर्थिक हिसावले बिपन्न परिवारका लागि गाउँमै विद्युत पुगेर पनि मिटर बक्स जडान गर्न नसकेको परिवारलाई राहत स्वरुप गाउँपालिकाभर अभियान थालेको हो । पहिलो चरणको अभियानमा गाउँपालिकाका ७५ घरधुरीलाई मिटरबक्स तथा तार उपलब्ध गराउने कार्यक्रम रहेको गाउँपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताउनुभयो ।
उहाँका अनुसार पहिलो चरणमा वडा नं. ४ का १५ घरधुरीलाई बुधवार बितरण गरीएको छ । लामो समयदेखि घर नजिकैबाट बिजुलीको लाइन गएको भएपनि मिटरबक्स र तार किन्ने पैसाको अभावमा यहाँका बिपन्न परिवारका घरधुरीले बिजुली बत्ति बाल्न पाएका थिएनन् । वडा कार्यालयको समन्वयमा बिपन्न घरधुरी छनौट गरी गाउँपालिकाभर मिटर बक्स सहित तार खरिद गरी उपलब्ध गराउने अभियान रहेको छ ।